अपडेट 
२०८१ कार्तिक २०, मंगलवार १३:०६

लागुऔषध दुव्र्यसन तथा ओसारपसार एवम् जुवातासविरुद्ध दुई फरक अभियान सफलतापूर्वक सम्पन्न गरेकोमा जिल्ला प्रहरी कार्यालय धनुषाका अधिकारीहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सम्मान गरेका छन् ।

जकपुरधामको मधेश भवनस्थित मुख्यमन्त्रीको सरकारी निवासमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिँहले धनुषा प्रहरीका प्रमुख एवम् उपरीक्षक भुवनेश्वर तिवारी र सोही कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक बरुणकुमार सिँहलाई खाँदा ओढाएर सम्मान गरेका हुन् ।
धनुषा प्रहरीले सोमबार जुवाको खालबाट ९ लाखभन्दा बढी रकमसहित ३९ जनालाई पक्राउ गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवा बजारको सार्वजनिक दलानमा जुवा खेलिरहेको अवस्थामा ३९ जनालाई प्रहरीले पक्राउ गरेको हो । जुवातास खेलाउने व्यक्ति पेसेवर रहेको बताइएको छ ।

यसैगरी धनुषा प्रहरीले गत कात्तिक ११ गते मिनिट्रकबाट ओसारिँदै गरेको अवस्थामा दुई सय २१ किलो ३८ ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको थियो ।

मुख्यमन्त्री सिँहले लागुऔषधको कुलतका कारण सिङ्गो पुस्ता नै जोखिममा रहेको बताउँदै लागुऔषध दुव्र्यसन र ओसारपसार नियन्त्रण अत्यन्त आवश्यक भइसकेको बताए । उनले लागुऔषधसँगै जुवातासजस्ता सामाजिक विकृति रोक्न धनुषा प्रहरीले देखाएको तदारुकता सराहनीय रहेको उल्लेख गरे ।

लागुऔषधको प्रयोग र कारोबार, सीमापार तस्करी, जुवातास, धनमालको चोरी आदि नियन्त्रण राज्यसंयन्त्रको नियमित काम भए पनि यसमा थप चनाखो एवम् तीव्रता जरुरी रहेको उल्लेख गर्दै धनुषा प्रहरीले यस्ता कार्यमा संलग्न गिरोह पहिचान गरेर कानुनको दायरामा ल्याइरहेको कार्य उपलब्धिमूलक भएको बताउँदै मुख्यमन्त्री सिँहले अपराध नियन्त्रण, न्यूनीकरण तथा निमूल गर्ने कार्यमा सुरक्षा निकायलाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको प्रस्ट पारे ।

उनले लागुऔषध दुव्र्यसन तथा ओसारपसार रोक्न सीमावर्ती भारतीय राज्यका सुरक्षा अधिकारीहरूसँग गम्भीर छलफल गरी ठोस रणनीति तथा कार्यनीति तय गरिने पनि बताए ।

मुख्यमन्त्री सिँहले प्रहरीलाई सम्मान गर्नुको पछाडि असल काम गर्नेलाई राज्यको प्रोत्साहन भएको पनि स्पस्ट पारे ।

सम्मानित भएका धनुषाका प्रहरी प्रमुख एवम् उपरीक्षक भुवनेश्वर तिवारीले अपराध नियन्त्रण गर्ने प्रहरीको कार्यप्रति प्रदेश सरकारले दिएको सम्मानले आफूहरूलाई उत्साहित तुल्याएको र यसले अपराधविरुद्ध थप क्रियाशील रहन प्रेरित गरेको बताए ।

Comment


Related News