अपडेट 
२०८१ कार्तिक २२, बिहीबार ०६:४९

खासगरी यस पर्वलाई हिन्दुहरूले मनाउने गर्छन् । यस पर्वमा ब्रह्माण्डको नेतृत्व गर्ने सुर्यको पूजा हुन्छ । हिन्दु धर्मावलम्बीहरू बडो आस्थासाथ छठपर्व मनाउँछन् । यसमा अस्ताउँदो र उदाउँदो सुर्यको पूजा गरिन्छ ।

यस पर्वको अर्को विशेषता के छ भने यसले जिउँदो देवता सुर्यको पुजा गर्छ । हामी जहाँ बसेका छौं । त्यस धरतीको उत्पति पनि सुर्यबाट नै भएको मानिन्छ । मानिस र छठ पर्वको सम्बन्ध पृथ्वीमा मानिसको उत्पति कालदेखि नै रहेको भन्नसकिन्छ । यस पर्वलाई खासगरी भारतको उत्तरप्रदेश, बिहार, झारखण्ड, पश्चिमबंगाल लगायत नेपालको तराईमधेशमा प्राचीन समयदेखि नै मनाउँदै आएको कुरो विभिन्न धार्मिक प्रमाणबाट प्रष्टिन्छ ।

अहिले काठमाण्डू लगायत केही पहाडी जिल्लाहरूमा समेत यसको क्षेत्र वृद्धि भएको देखिन्छ । यो पर्व चार दिनसम्म मनाउने गरिन्छ । तेस्रो दिनको बेलुका साँझमा पोखरी, ताल, कुण्ड, नदी जस्ता पानीको स्रोत भएका ठाउँहरूमा मनाउने गरिन्छ । साँझमा अस्ताउँदो सुर्य र भोलिपल्ट विहान उदाउँदो सुर्यलाई पुज्ने गर्छन् । ब्रतालु बडो निष्ठासाथ पानीमा उभिएर सुर्यको प्रार्थनासाथ पुजा शुरू गर्छन् ।

तेस्रो दिनलाई सौझकारक भन्छन् । पहिलो दिनमा नुृवाइधुवाइ गरी अरबा चामलले बनेका अन्नको प्रकारलाई खानामा प्रयोग गरेको हुन्छ । दोस्रो दिन दिनभर केही नखाई साँझमा पवित्रतासंग स्नानगरी खीर खाने गर्छन् । तेस्रो दिन पुरैदिन उपवास रहेर साँझमा अस्ताउँदो सुर्यलाई अघ्र्य दिन्छन् र रातमा पनि उपवासै बस्ने गर्छन् ।

अन्तमा चौथो दिन अर्थात पारनको दिनमा उदाउँदो सुर्यलाई अघ्र्य दिई पर्वलाई समापन गर्ने काम हुन्छ । यस पर्वमा चावलको पीठोबाट बनेका ठोकुवा, भुृसवाका साथै केला, पुरी, खाजा, मिठाइ, अरवाचामल, अदुवा, ऊखु, निंवु (ज्यामिरी), माटोको हाती, केराउ, सुथनी, फलफूल, कलश, सुपारी, नरिवल, मूला, जौ, चन्दन, अवीर, सिन्दुर, ल्वाङ्ग, इलाइची, धूप, दीप, सुप(नाग्लो) वाँसको कोनिया (डगरी) पानको पात, अदुवाको झार, माटोको ढकना, सरबा आदी महत्वपूर्ण सामग्रीसाथ पूजा गर्छन ।

यसमा प्रयोग हुने सामाग्री शुद्ध, चोखो र ताजा हुनुपर्छ । यस पर्वका लागि तयार गरिएका कुनै पनि बस्तु विधिविधान अनुसार नभएमा उसको परिवारमा विभिन्न किसिमका अनिष्ट हुने सम्भावना हुन्छ । यस पर्वको क्षेत्र दिनप्रतिदिन फैलिँदै गएको देखिन्छ । अहिले के तराई, के मधेश, के पहाड, के हिमाल सबै ठाउँमा विस्तार भएको पाइन्छ ।

काठमाण्डुमा धेरै धूमधामसाथ मनाउँछन् । बागमती, विष्णुमति लगायत विभिन्न नदी, पोखरी, तालतलैया आदि ठाउँहरूमा मनाएको हेर्न पाइन्छ । यस पर्वमा पुरूषभन्दा बढी महिलाहरू ब्रतालुको रूपमा अगाडि आएको हेर्न सकिन्छ । पूजापाठको दिनभन्दा ३/४ दिन अगाबैदेखि पूजा गर्ने ठाउँलाई सरसफाइ गरी चिटिक्क पार्ने काम गर्छन् । षष्ठीको रातमा पुरै रात घाटमै बिताएर भोलीपल्ट उदाउँदा सूर्यलाई पूजागरी घर लग्ने गर्छन् । खास गरी यस पर्वमा पूजाका सामाग्रीहरू जुठो नहोस् भने घरका बच्चाहरूलाई सम्भाल्न धौं धौं परिरहेको हुन्छ । यस पर्वको अवसरमा घर बाहिर रहेको परिवारका सदस्यहरू अनिवार्य रूपमा घर आउने गर्छन् ।

यस पर्वका दिन घर/घरका प्रायः सबै व्यक्तिहरू उपस्थित हुने हुनाले यसलाई निकै महत्वपूर्ण पर्वको रूपमा लिने गरिन्छ । यस अवसरमा पोखरी/नदीका डीलहरूमा मेला लागे जस्तो हुन्छ । खासगरी सहरी क्षेत्रहरूमा यसका रौनकता अझ बढी रहेको हेर्न पाइन्छ । यस पर्वमा नयाँ/नयाँ बस्त्र लगाइ सज्जिएर छठको घाटमा भेला भई उमंगपूर्ण वातावरणमा खुशी साटासाट गरेका हुन्छन् । तराई क्षेत्रमा मेचीदेखी महाकालीसम्म खासगरी यस पर्वमा बढी उमंग देखिन्छ । तराईका विभिन्न सहरहरूमा यसपर्वको रौनकता बेग्लै हुन्छ । सहरमा रहेका पोखरी, कुण्ड, तलाउलाई दुल्ही जस्तै सजाइएको देखिन्छ । यस समयमा लोकगीतका विभिन्न धुनहरू सुन पाइन्छ ।

आजकल यस पर्वमा समेत आधुनिक गीतहरू ठाउँ लिँदै गएको देखिन्छ । बिस्तारै ठाउँ/ठाउँमा रहेका स्थानीय लोकगीतहरू लोप हुन लागेका छन् । यसरी हाम्रो परम्परागत लोकगीतहरू लोप हुँदै गए भने हाम्रो संस्कृति बिस्तारै हराउँदै जाने छ जसबाट हाम्रो पहिचानमा समेत संकट उत्पन्न हुनेमा कुनै शंका छैन । खासगरी मधेश प्रदेशको जनकपुरधाममा अवस्थित गंगासागर, धनुषसागर, महाराजसागर, रत्नसागर लगायत विभिन्न पोखरी, तलाउ, कुण्डहरू निकै आकर्षक रूपले सजाएका हुन्छन् ।

यस्तै बीरगञ्जका घरियरवा पोखरीलाई आधुनिक तरिकाले बनाइएका घाट तथा पोखरीको बीचमा बनाइएको भगवानको मूर्ति हेर्न लायक छ । यस्तै बाराको कलैया,रौतहटको गौर, सर्लाहीको मलङ्बा, महोत्तरीको जलेश्वर, सिरहाको कमला, सप्तरीको राजविराज, सुनसरीको सुनसरीनदी र कोसी, मोरङ्गको विराटनगरमा भएका पोखरी, तलाउ तथा नदीहरू निकै आकर्षक ढंगले सजाइएका हुन्छन् । यी सबै ठाउँलाई दुलही जस्तै सजाइ गीतसंगीत, नाच, तथा रामायणका सिरियल देखाइ छठ पूजालाई निकै आकर्षक बनाएको हुन्छ ।

यसरी जनकपुरधामको छठ नेपालभरि मै प्रशंसनीय छ र यस अवसरमा जनकपुरधाममा बिभिन्न स्थानबाट श्रद्धालुहरू छठ पर्वको आनन्द लिन आएका हुन्छन् । यस्तै आजकाल चैत्र महिनाको शुक्ल षष्ठीका दिन पनि छठ मनाउन शुरू गरेका छन् । यसलाई चैती छठ भनिन्छ । यस छठमा पनि ब्रतालुहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

हिन्दुहरूका निकै धेरै पर्व त्योहार रहेका छन् । हिन्दुहरू एउटा प्रकृति पुजारी हुन्छन् । छठ पर्व पनि त्यसै प्रकृति पूजाको एउटा अंश हो । यस्ता कुनै पर्वमा मासु, माछा, रक्सी तथा अन्य लागु पदार्थ खाने अनुमति दिँदैन, तर कतिले कतिपयं हाम्रो पर्वमा माछा, मासु तथा रक्सीको प्रयोग गरेका हुन्छन् । यस्ता प्रयोग शतप्रतिशत निषेधित भएपनि किन प्रयोग गर्छन त्यसलाई रोक्न सामाजिक संधसंस्थाहरूले चनाखो हुनु जरुरी छ । प्राचीन ग्रन्थ ऋग्वेदमा उल्लेख भए अनुसार आकाशपुत्री उषा (सूर्यको किरण) संग ब्रतालुहरू मांग गर्छन कि हामीलाई अन्न, धन, छोराछोरी दिनुहोस् ।

यस्तो बरदान दिनुस् कि हामी सदैव विहान विछाउनवाट उठ्ने वितिकै बलियो सन्तानहरूलाई हेर्न सकौं । (ऋग्वेदः ४—११) सूर्यबाहेक कुनै यस्तो प्राकृतिक कुरा भेटेन, त्यसैले मानिसहरू त्यसैबेलादेखि सूर्यलाई पूज्न थाले । वास्तवमा सूर्यले नै घाम, प्रकास, गर्मी दिइ विभिन्न रोगब्याधिदेखि बचाउने काम ग¥यो । स्वभावतः मानिसहरू आकर्षित भएर सूर्यको आराधना शुरु गरेका थिए । एकातिर छठ सूर्यको पूजाको रूपमा लिन्छन् भने अर्कोतिर यसलाई छठिमाई भनेर पूजन गर्ने गर्छन् ।

यस पर्वलाई षष्ठी तिथिमा गर्ने भएकोले छठीमाईको पूजासमेत भने गरिन्छ । अर्केतिर कतिपय ठाउँमा ‘छठ परमेश्वरी’ को रूपमा पुज्ने गरिन्छ । जे जस्तो भएपनि एउटा कुरामा कुनै विवाद छैन कि छठ भनेको आदिशक्तिको पूजा हो । अब प्रसंग बढलौं । हाम्रो धार्मिक ग्रन्थहरूमा यस्ता विभिन्न पर्वत्योहारहरु उल्लेख छन् । यी सबै पर्वहरू हामीलाई जीवन खुशी बनाउन विभिन्न प्रकारका उपदेश दिएका हुन्छन् तर हामी यस्ता उपदेशलाई बिर्सिदँै गएका छौं ।

यस्ता उपदेशलाई बिर्सनु या जानिजानि छोड्नु भनेको हाम्रो जीवनलाई नराम्रो अवस्थातिर धकेल्नु हो भने बुझ्नुपर्छ । अहिले गाउँदेखि सहरसम्म यस्ता प्राकृतिक नदीनाला, पोखरीतलाउ, जस्ता पानीका स्रोतलाई हामी सखाप पार्दे गएका छौं । व्यक्तिमात्र कहाँ हो र ! हाम्रै पूर्वजले खनाएका पोखरी, इनार, कुवा आदि उनकै सन्तान भर्दै, के देखाउन खोजेका छन् भने सोचनीय कुरो रहेछ । अर्कोतिर पूजा गर्छौ र त्यस्ता पूजामा प्रयोग हुने साधनबाट पोखरी, तलाउ, नदी फोहर हुँदा त्यसलाई सफाइ गर्दैनांै, जसले पछि विस्तारै त्यही फोहर बस्तुले पुरै पोखरी र नदीलाई फोहर फाल्ने ठाउँको रूपमा प्रयोग भएको देखिन्छ ।

यस्ता कार्यगर्न हामीलाई छठ पर्वले कुनै उपदेश दिएका छैनन् । हामी जानिजानि आफ्ना बस्ने ठाउँलाई फोहर गरी सही वातावरणलाई बिगार्ने काम गरिरहेका छौं । अर्कोतिर छठ पर्वले हामीलाई शुद्धतामा जोड दिन सिकाउँछ । सरसफाइमा जोर दिन उपदेश दिन्छ । ताजा तथा शुद्ध अन्नखान उपदेश दिन्छ ।

आजकल हाम्रा जनस्वास्थ्यसंग सम्बन्धित संघसंस्थाले पनि यस्तै शिक्षा बाँटिरहेका छन् । यसलाई नमान्दा नै हामी विभिन्न रोगबाट ग्रसित हुन्छौं र भन्छौं कि हामीलाई छठीमाईले हेरेनन् । यदि हामी छठीमाईको उपदेशलाई मान्दैनौं भने यस्ता अनेक बिघ्नबाधा आइरहन्छन् । अब अन्तमा निष्कर्षतिर लागौं । निष्कर्षमा हामी के विचार गरौं भने जे जति पर्व, त्योहार, उत्सव, पूजापाठ, होमयज्ञ गर्छौं यी सबै हाम्रा जीवनलाई सुखमय बनाउनलाई नै हुन् तर यसका उपदेशलाई यदि हामी अवहेलना गर्छौं भने उल्टो असर पर्ने पक्का नै हो ।

प्रकृतिले हामीलाई हाम्रो जीवन दिएको छ । खानलाई अन्न दिएको छ । लुगा दिएको छ । घर बनाउन सामाग्री दिएको छ । हाम्रो रोग उन्मूलन गर्न विभिन्न किसिमका जडीबुटी दिएको छ । एकअर्कासंग सहयोग लिएर बस्न सिकाएको छ । यस्ता प्रकृतिको नियमलाई हामी मानेनौं भने स्वभाविक छ कि हामी विभिन्न प्राकृतिक समस्यामा पर्दैजाने छौं । यसबाट बच्न प्रकृतिलाई संतुलन बनाउन सिक्नु पर्छ । यो पृथ्वी सबै जीवजन्तु, वोटविरूवाका साझा घर हो ।

हामी सबैलाई नाश गरेर बस्न चाहन्छौं भने हाम्रो जीवन पनि अस्तित्वमा रहन सक्दैन । हाम्रा पूर्वजहरू प्रकृतिप्रेमी थिए । हामी पनि प्रकृतिप्रेमी बनौं । प्रकृतिसंग खेलवाड गरी कहिले पनि वातावरणलाई असन्तुलन नबनाऔं । प्रकृतिलाई दिगोविकाससंग जोडेर अगाडि बढौं । हाम्रा पर्वतिहारको पनि यही उपदेश हो । पर्वतिहारलाई जोगाउनु भनेको हाम्रो संस्कृतिलाई जोगाउनु हो । इतिश्री ।

Comment


Related News

Latest News

Trending News