चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा पाँच जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुको परिचय खुल्न सकेको छैन । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ज्यान गुमाउने पाँच जना र घाइतेमध्ये गम्भीर रहेका एक जना माइक्रोबसका यात्रु रहेका प्रहरीले जनाएको छ । माइक्रोबसमा ६ जना थिए ।
बसका चालक र सहचालक घाइते भएकोमा अरु यात्रुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।
मुग्लिनबाट नारायणगढका लागि छुटेकाे बाग्मती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनका लागि छुटेकाे बाग्मती प्रदेश ३–००१ ख २८१२ नम्बरको बस आज बिहान तीन बजेतिर ठोक्किएर दुर्घटना भएको हो ।