अपडेट 
२०८१ कार्तिक २३, शुक्रबार १५:५०

कारागारबाट भागेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोक कारागारबाट भागेका विनायककुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई बिहीबार राति सुनसरीको कोशी गाउँपालिका-८ पथरचट्टानबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।

छठ मनाउन विहार हुँदै नेपाल आउँदै गरेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

एसपी सुमनकुमार तिम्सिनाका अनुसार उनी भागेपछि प्रहरीले एक राउण्ड गोली चलाएको थियो। यादवलाई भने गोली लागेको छैन।

विनायककुमार यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट अपराधी ठहर भएका थिए।

अदालतको फैसला बमोजिम २० वर्ष ८ महिना १४ दिनको सजाय कैद भुक्तानीका क्रममा झुम्का कारागारमा रहँदा उनी २०६९ कात्तिक २३ गते सुरूङ खनेर भागेका थिए।

उनीसँगै बंगलादेशी नागरिक सुव्रत बेन र भारतीय अपराधी धिरेन्द्र यादवसहित १२ जना कारागारबाट एकसाथ भागेका थिए।

झुम्का कारागारबाट भागेका विनायकलाई केही समय पछि सप्तरी प्रहरीले गोबरगाढाबाट पक्राउ गरेको थियो। कैद भुक्तानका लागि सिन्धुपाल्चोक कारागारमा राखिएका उनी त्यहाँबाट समेत भूकम्प गएको मौका छोपी २०७२ वैशाख १२ गते भागेका थिए।

प्रहरीका अनुसार झुम्का कारागारबाट सुरूङ खनेर भागेका १२ जनामध्ये हालसम्म नेपाल र भारतमा गरी ७ जना मात्रै पक्राउ परेका छन्।

Comment


Related News

Latest News

Trending News