अपडेट 
२०८१ कार्तिक २५, आईतवार ०७:०७

सीताराम विवाह महोत्सवमा आउने जन्तीको आवास र भोजनको व्यवस्थापन जानकी मन्दिरले नै गर्ने भएको छ ।

मधेश प्रदेश सरकार विवाह पञ्चमी मेला व्यवस्थापनका लागि स्वागतद्वार र पण्डाल बनाउन चासो देखाएको छ । पण्डाल र स्वागतद्वारमा जति खर्च देखाए पनि हिसाब मिलान गर्न कठिनाइ नहुने भएकाले प्रदेश सरकार त्यसमा चासो देखाएको छ ।

विवाह महोत्सवमा सहयोग गर्न मन्त्रिस्तरीय समिति नै गठन गरेको सरकारले ठोस कार्यहरु गर्ने चाहना देखाएको छैन । प्रदेश सरकारले ‘मौकामा चौका’ हान्न मात्र खोजेको बैठकका सहभागीहरुले बताएका छन् । मारवडी सेवा समितिका अध्यक्ष निर्मल कुमार चौधरीले विगतमा २ सयको संख्यामा आउने जन्तीको आवास र भोजनको व्यवस्थापन गरे पनि यसपटक ५ सय बढीको संख्यामा आउने भएकाले गर्न नसक्ने जनाएका छन् । ‘सेवा समितिको क्षमता अनुसारको सहयोग हामी गर्ने छाँै’ अध्यक्ष चौधरीले भने, तर जन्ती धेरै रहने भएकाले त्यसको व्यवस्थापन समितिबाट कठिन छ ।

विवाह महोत्सवको दिन निःशुल्क भोजनको व्यवस्था गर्ने जातीय संघसंस्थाहरुले जन्तीलाई भोजनको व्यवस्था गर्न उनले आग्रह गरे । तर विवाह महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत रहेका जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले आवास र भोजनको व्यवस्था मन्दिरले नै गर्ने बताए । विवाह पञ्चमी मूल समारोह समितिको शनिबार अध्यक्ष महन्त वैष्णवको अध्यक्षतामा बसेको बैठकमा समिति उपसमितिलाई महोत्सव भव्यतापूर्वक सम्पन्न गर्ने कार्यलाई तीव्रता दिन आग्रह गरिएको छ ।

बैठकले महोत्सवको तयारीका क्रममा आइपर्ने समस्या समाधानका लागि मूल समितिसंग परामर्श र सहयोग लिई जिम्मावारीलाई वहन गर्ने निर्णय गरेको छ । महोत्सवमा प्रदेश सरकारको भूमिका निर्वाहका बारेमा सोधिएको प्रश्नको जवाफमा जानकी मन्दिरका महन्त एवम् महोत्सव मूल तयारीका अध्यक्ष वैष्णवले मूल समितिले प्रदेश सरकारलाई दिएको जिम्मेवारीबारे प्रदेश सरकारले आफैँ छुट्टै बैठक बसी थप जानकारी गराउने बताए ।

बैठकमा उपस्थित प्रदेश सरकारका प्रतिनिधि एवम् शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले प्रदेश सरकारले रेड बुकमै विवाह पञ्चमी महोत्सवका लागि बजेट छुट्टयाएको जानकारी गराउँदै प्रदेश सरकारले जानकी मन्दिरसंग समन्वय गरी भूमिका निर्वाह गर्ने बताइन् । जन्ती नेपाली भूमिमा प्रवेश गर्ने नाका मटिहानीदेखि जनकपुरधामसम्म बाटोभरि स्वागतद्वार बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।

बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले धनुषा जिल्लाभरिका सम्पूर्ण मातहतका सरकारी कार्यालयहरुका प्रमुखसंग बैठक बसी विवाह पञ्चमी महोत्सवमा गर्नु पर्ने सहयोग र जिम्मावरी निर्वाह गर्न आदेश दिने बताए । बैठकमा जनकपुरधाम उपहानगरपालिकाका मेयर मनोज कुमार साहले ठाउँ ठाउँमा खानेपानी र शौचालयको व्यवस्था गर्ने बताए । ‘मेला भर्न आउने श्रद्धालुहरुका लागि पिउने पानी र शौचालयको आवश्यक व्यवस्था जउमनपाले गर्नेछ’ उनले भने, तीर्थयात्रीहरुको आवासका लागि सरोवरहरुको डिलमा पण्डाल लगाइनेछ ।

जनकपुरधाम उपमहानगरपालिकाले बाह«बिघामा सजावट, शौचालय, पिउने पानी लगायतको सुविधा उपलब्ध गराउँदै आएको छ । बाह्रविघामा रहेको मञ्चको व्यवस्थापन र आवासको व्यवस्था मिलाउन बैठकमा सहभागीहरुले ध्यानाकर्षण गराएका थिए । उनीहरुले बाह्रविघाको मञ्चमा सीता स्वयम्बरको दृश्यलाई जानकी मन्दिर र राममन्दिरका महन्तले संयुक्त रुपमा कम्तीमा आधी घण्टा सर्वसधारणलाई दर्शन गराउन आग्रह गरे ।

हाल बाह्रविघामा स्वयम्बर भए पनि त्यहाँ औपचारिकता निर्वाह गरी नगरपरिक्रमाका लागि प्रस्थान गर्ने भएकाले सर्वसधारणले अलौकिक दृश्य दर्शनबाट वञ्चित रहने गरेका छन् । मधेश प्रदेशमा नियमित रुपमा मेला, ठूला पर्वत्यौहार, उत्सवहरु आयोजना भइरहने गरेकाले प्रदेश स्तरीय मेला व्यवस्थापन प्राधिकरण गठन गर्नुपर्ने बैठकमा माग उठेको छ ।

मधेश प्रदेशमा पर्यटन प्रवद्र्धन गर्न स्थायी रुपमा नै मेला व्यवस्थापनका लागि प्रदेश स्तरीय प्राधिकरण बनाउनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । मधेश प्रदेशमा मेला व्यवस्थापन, आयोजना, नयाँ पर्यटकीय स्थलहरुको पहिचान र विकास लगायतका कार्यहरु प्राधिकरणले गर्ने भएपछि मेला व्यवस्थापनमा समस्या नआउने सहभागीहरुले बताए ।

हरेक पाँच वर्षमा अयोध्याबाट ५ सय बढीको संख्यामा अति विशिष्ट सन्तमहन्तहरुको सहभागितामा जन्ती आउने गरेको छ । त्यसको व्यवस्थापन जानकी मन्दिरले नै गर्दै आएको छ । सीताराम विवाह महोत्सवमा बाह्रविघामा शौचालयको व्यवस्था गर्ने बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा यस वर्ष कर्मचारीहरुले ११ महिनादेखि तलब नै पाएका छैनन् ।

अध्यक्ष शीतल साहले व्यवस्थापन गर्ने भने पनि कार्यालयमा बजेट छैन । अतिविशिष्ट जन्तीका लागि बृहत्तरले यात्री निवास उपलब्ध गराए, त्यसका लागि भाडा तिर्नुपर्ने छ । विगतको भाडा नै बाँकी रहेकाले यस वर्ष माग गर्न पत्राचार नभएको कर्मचारीहरुले जनाएका छन् ।

Comment


Related News