अपडेट 
२०८१ कार्तिक २५, आईतवार ०७:४६

बहुदरमाई नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच उत्पन्न विवादले दैनिक कार्य प्रभावित भएको छ ।

बहदुरमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफाले आफू अनुकूल काम गर्न नपाएपछि स्थानीय दलहरुबीचको राजनीतिक खिचातानीको फाइदा उठाउँदै मेयर सिंहासन साह तेलीविरुद्ध प्रचारबाजी गरेको मेयर पक्षको आरोप छ । नगर परिषद् भएलगत्तै खर्चको अख्तियारी मागेका मुस्तफाले अख्तियारी नपाएपछि कर्मचारी उचालेर मेयरविरुद्ध प्रचारबाजी गरेको मेयर पक्षले आरोप लगाएको छ ।

ढिलो गरी कार्तिक ८ गते नगर परिषद् भएपछि प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले अख्तियार मागेका थिए । तर वडा नम्बर ६ को बजेट नै आउन बाँकी रहेको र चाडपर्वको विदा भएकाले अख्तियारी पाउन नसकेका मुस्तफा मेयर तेलीमाथि खनिएको पाइएको छ । कर्मचारीले तलब नपाएको विषय उचाल्दै सामाजिक सुरक्षा भत्तासमेत वितरण नभएको विषयमा मेयरको नाम जोडेर प्रचार भएपछि मेयर तेलीले यसको खण्डन गरे ।

असार १० गतेभित्र नगर परिषद् गरिसक्नु पर्ने भए पनि ढिलो अर्थात् कार्तिक ८ गतेमात्रै नगर परिषद् भएपछि चाडपर्वका बेला कर्मचारीले तलब पाउन नसकेको उनको भनाइ छ । कार्तिक ८ गते नगर परिषद् भएपछि ढिलाइका कारण चाडपर्वमा कर्मचारीलाई तलब भत्ता पठाइएपछि वितरण हुन नसकेको मेयर तेलीले बताए । तेलीले ७ वटा वडामा भत्ता वितरण केही दिनमा हुने बताए ।

प्रशासकीय अधिकृत मुस्तफाले शिक्षक र कर्मचारीको तलब पठाउन ढिलाइ भएको बताए । मेयर तेलीले स्थानीय प्रशासकीय अधिकृत हुँदा पालिका सञ्चालन सहज होस् भन्ने अपेक्षामा कार्यकारी अधिकृतबाटै असहयोग महसुस गरेको मेयरले जनाएको छ । नगर परिषद् भए पनि वडा नम्बर ६ को योजना आउनै बाँकी छ ।

नगरसभाका निर्णय सफ्टवेयरमा प्रविष्टसँगै प्रमुख प्रशासकीय अधिकृतलाई खर्चको अधिकार दिइन्छ, तर वडाको बजेट आउनै सकेको छैन । यस्तो अवस्थामा प्रमुख प्रशासकीय अधिकृतले समन्वय नगरेको मेयर साह पक्षले आरोप लगाएको छ । वडाको बजेट आउन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले पनि स्वीकार गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले आफूले कसैलाई नउक्साएको दाबी गरे । उनलाई मेयरविरुद्ध प्रचारबाजी र कर्मचारी उक्साएको मेयर पक्षको आरोप छ ।

मेयर तेलीले नगर परिषद् सकिएलगत्तै प्रमुख प्रशासकीय अधिकृत मुस्तफालाई खर्चको अधिकार दिन खोजिएको, तर अझै विश्वासको वातावरण नबनेको बताए ।

Comment


Related News

Latest News

Trending News