सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्राथमिकताको आधारमा चाहिँदो मात्र विकासको योजनाहरू माग गर्न नागरिकस्तरमा अनुरोध गरेका छन् ।
आइतबार गोविन्दपुर हुँदै हस्वा जाने छोटो तर महत्वपूर्ण रणनीतिक सडक शिलान्यास गर्दै उनले महत्वपूर्ण र अति आवश्यक योजना मात्र माग गर्न आग्रह गरेका हुन् ।
एक हजार २३६ मिटर लामो सो सडक शिलान्यास गर्न पर्साको महत्वपूर्ण मुकामको रूपमा रहेको पोखरिया नगरपालिका पुगेका मन्त्री गुप्ताले भने, ‘धेरै भारी बोके बीचैमा छोड्नुपर्ने हुन्छ । त्यसैले विकासका आयोजना आवश्यकता र महत्व हेरेर माग गर्नुपर्ने हुन्छ ।’ महत्वपूर्ण र अति आवश्यक योजना मात्र माग गर्ने र त्यसलाई सम्पन्न गरिसकेपछि मात्रै अर्को योजनाको काम अघि बढाउनुपर्ने मन्त्री गुप्ताको भनाइ छ ।
धेरै मागेर योजना अपुरो छोड्नुभन्दा थोरै माग गरेर पूर्ण गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘विगतमा आयोजना शिलान्यास भएर सम्पन्न नभएका धेरै घटनाहरू हामीले देखिरहेका छौँ । सोही कारण तीनै तहका सरकारप्रति नागरिकको नैराश्यता समेत बढेको छ । नागरिकमा रहेको निराशा हटाउन र बजेटको सही सदुपयोग गरेर जनतालाई लाभान्वित तुल्याउन पनि प्राथमिकताको आधारमा अतिआवश्यक कामहरू पहिला र सुरू गरिएका योजना समयमै सम्पन्न गर्नेतर्फ हामी केन्द्रित हुन जरुरी छ ।’
मन्त्री गुप्ताले नागरिक आफ्नो कुल देवताको मूर्तिदेखि सामूदायिक भवनलगायत भौतिक संरचनाहरू पनि सरकारले नै बनाइदियोस् भन्ने आशामा बसेको भन्दै ती सबै कुरामा सरकारको मात्रै मुख ताक्न नहुने तर्क गरे । सबै काम सरकारले गर्छ हामीले केही गर्नु पर्दैन भन्ने मानसिकताबाट नेपाली समाज माथि उठ्नुपर्ने उनको भनाइ छ ।
संघीय सरकारको लगानीमा निर्माण हुने गोविन्दपुर हुँदै हस्वा जाने सो सडक निर्माणपछि पोखरिया आउन तिवाले पुल हुँदै बिन्दबासिनी पुग्न नपर्ने मन्त्री गुप्ताले बताए ।
‘त्यसकारण रणनीतिक रुपमा पनि यो सडक स्थानीयवासीका लागि महत्वपूर्ण छ’, मन्त्री गुप्ताले भने । ९३ लाख रुपैयाँमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको यो सडक मनिष कन्ट्रक्सनले सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गर्नुपर्ने छ ।
पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमण चौहानको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रवि ठाकुरलगायत वडा अध्यक्षहरूले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।