चाडपर्व सकिए लगत्तै प्रभु साह नेतृत्वको आम जनता पार्टीले मधेशलगायत विभिन्न ठाउँमा आन्दोलनका साथै अभियान सञ्चालन गर्ने भएको छ ।
देश उपनिर्वाचनमा होमिएको बेला आजपाले आन्दोलन तथा जागरण अभियान थालेको छ । आम जनता पार्टी (आजपा)ले आगामी मंसिर १ गतेका दिन काठमाण्डु र मधेशमा एकैसाथ भ्रष्टाचारविरोधी विशेष जागरण अभियान थाल्ने भएको छ । एकैदिन काठमाण्डुमा र मधेशका ८ वटै जिल्लामा विरोध प्रदर्शनका साथै भ्रष्टाचारविरोधी विशेष जागरण अभियान सुरु गर्ने आजपा नेपालले जनाएको छ ।
मुलुकमा बढ्दै गएको भ्रष्टाचार, अनियमितता, कुशासन, सरकारको अनावश्यक कर एवं महँगीविरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । सोही विषयलाई लिएर आजपाले पुनः सडक तताउने भएको छ । जसअनुसार काठमाण्डुमा विरोध प्रदर्शन गर्नुका साथै मधेश प्रदेशमा विशेष जागरण अभियान नै सञ्चालन गर्ने भएको छ ।
आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले सरकार कुम्भकर्णजस्तै सुतिरहेको अवस्थामा आमजनताको समस्याबारे जानकारी गराउनका लागि आजपाले काठमाण्डुसहित मधेशमा एकैदिन विरोध प्रदर्शनका साथै विशेष अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । वरिष्ठ उपाध्यक्ष थापामगरले भने, ‘सरकारलाई आमजनताको समस्या, चाहना के हो भन्नेबारे कुनै चासो देखिएन । कुम्भकर्ण जस्तो सुतेको सरकारलाई आमजनताको समस्या र सरकारको मनपरी कार्यशैलीका विरोधमा अब जनता सडकमा आउन बाध्य भएका छन्, आजपा वरिष्ठ उपाध्यक्ष थापाले भने, ‘मुलुकमा भ्रष्टाचार बढ्दै गइरहेको छ, कुशासन, अनियमितता बढ्दै छ । सोझासाझा जनतामाथि अनावश्यक करमाथि कर थुपार्ने काम सरकारले गरेको छ । यस्तो अवस्थामा सरकारलाई सचेत गराउन सडक–संघर्षको विकल्प नै भएन ।’
काठमाण्डुमा आइबार आजपा केन्द्रीय कार्यालयमा बसेको पार्टीको काठमाण्डु उपत्यका विशेष कमिटीको बैठकले देशको अर्थतन्त्र बचाउन यही मंसिर १ मा ‘सरकारको अनावश्यक कर हटाउ, देशको व्यापार व्यवसाय बचाउ’ भन्ने मूल नाराका साथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
काठमाण्डुको शान्तिबाटिकामा बृहत् प्रदर्शन गर्ने निर्णय गरेको आजपाले सरकारपिच्छे सरकारको अनावश्यक करले देशको व्यापार व्यवसाय बर्बाद भइरहेको, देशको अर्थतन्त्र बचाउन युवाहरू उठ्न आवश्यक रहेको आजपा सचिव नारायण पाण्डेले बताए । उनले भने, ‘हामीले मंसिर १ गते काठमाडौंको शान्तिबाटिमा बृहत् विरोध प्रदर्शन गर्ने निर्णय गरेका छौँ।
सरकारको मनपरी करमाथिको कर हटाउनुपर्ने, युवालाई रोजगार दिनुपर्ने, भ्रष्टाचार, कुशासन, अनियमिततालगायतको विरोधमा हामीले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको हो ।’ त्यस्तै छठ पर्वअघि वीरगञ्जमा बसेको आजपा मधेश प्रदेश कमिटीको पदाधिकारी बैठकले भ्रष्टाचारको विरोधमा मधेशमा विशेष जागरण अभियान सञ्चालन गर्ने निर्णय यसअघि नै गरेको थियो ।
आजपा मधेश प्रदेशका प्रवक्ता एवं केन्द्रीय सदस्य डा. हेमप्रसाद साहले यो अभियान मधेश प्रदेशको आठवटै जिल्लामा हुने बताए । मधेश प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सञ्चालन हुने जागरण अभियान एक सातासम्म चल्ने उनले बताए । आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहसहित पार्टीका नेता–कार्यकर्ताको विशेष सहभागितामा अभियान सञ्चालन गरिने प्रवक्ता साहले बताए । सप्तरीबाट सुरु हुने सो अभियान पर्सामा आएर सम्पन्न हुने उनले बताए ।
मधेशका मुख्य सहरहरूमा सभा, प्रदर्शन, बैठक, भेलालगायतका गतिविधि हुने अभियान पार्टीले पहिलोपटक गर्न लागेको छ । यसअघि आजपाले काठमाण्डुसहित विभिन्न सहर एवं जिल्लाहरूमा विशेष प्रदर्शन गर्दै आएको थियो । भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महँगी, बेरोजगारी, वैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी करलगायतका विषयमा आजपाले आवाज उठाउँदै आएको छ । ‘आजपा मधेश प्रदेश कमिटीको विशेष संयोजनमा यही मंसिर १ गतेदेखि देशमा बढ्दो लुटआतंक, भ्रष्टाचार एवं विभेदविरुद्ध मधेश जागरण अभियान सञ्चालन गर्ने तथा देशमा तीन तहका सरकारहरूले सरकारपिच्छे मनपरी रूपमा करआतंक खडा गरी आमनेपाली जनतालाई दुःख दिइरहेको स्थितिलाई बदल्न एवं देशभर शून्य कर नीतिलाई प्रोत्साहन गर्ने–गराउने उद्देश्यका साथ मंसिर १ गते नै उपत्यका विशेष कमिटीको आयोजनामा काठमाण्डुमा विशेष प्रदर्शन गर्ने निर्णयसमेत गरिएको छ,’ आजपाका प्रवक्ता चन्द्रभूषण साहले बताए ।