धनुषाको नगराईन नगरपालिकामा मेयर र उपमेयरका कारण उत्पन्न समस्याको समाधानका लागि मंगलबार सर्वपक्षीय बैठक हुने भएको छ ।
नगराईनमा आइतबार भएको जनप्रतिनिधि र नगराईन अगुवा युवा समूहबीच भएको सहमति अनुसार कार्तिक २७ गते यही मंगलबार मेयर, उपमेयर, कर्मचारी, शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय युवाहरुको सहभागितामा सर्वपक्षीय बैठक हुने समूहका संयोजक आदर्श मण्डलले जानकारी दिए ।
नगराई मेयर विनयकुमार यादव र उपमेयर राधादेवी यादवका कारण उत्पन्न विवादले सम्पूर्ण कामकाज ठप्प हुँदा शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष असर परेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत नगराईन अगुवा युवा समूहले केही दिन अघि प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्रसमेत पठाएका थिए । तर स्थानीयस्तरमा युवाहरुले नगराईन नगरपालिकाको समस्या समाधानका लागि सबै पक्षलाई दबाब सृजना गरी तत्काल अत्यावश्यक रुपमा रहेको विद्यालयमा पठनपाठन सुचारु, वडामा ठप्प रहेको स्वास्थ्य सेवा सुचारु र सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउनुपर्ने भन्दै आइतबार उपस्थित जनप्रतिनिधिहरुसंग गम्भीर रुपमा छलफल गरेका थिए ।
सोको निश्कर्ष स्वरुप यही मंगलबार बैठक बसेर समस्या समाधान गर्ने निर्णय भएको समूहका संयोजक मण्डलले बताए । सो छलफलमा सहभागी भएका नगराईन नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष रामप्रमोद राउतले नगराईन नगरपालिका सञ्चालनका लागि मेयर गम्भीर नहुँदा आजको स्थिति सृजना भएको भन्दै उनले उत्पन्न समस्या समाधानका लागि आफूहरु गम्भीर भएको बताए ।
मंगलबार बस्ने सर्वपक्षीय बैठकबाट जनताको अत्यावश्यक कामकारबाही सञ्चालन हुनुपर्ने आफूहरु स्पष्ट रहेकाले तत्काल नगरपालिकाको कार्यालयको कामकाजका लागि मेयर समेत गम्भीर हुनुपर्ने उनले बताए । नगराईन नगरपालिकामा मेयर विनयकुमार यादव र उपमेयर राधादेवी यादवबीचको विवाद कारण सो पालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक तथा शिक्षिका, स्वास्थ्यकर्मी, कर्मचारीहरुसमेत आन्दोलनमा उत्रिदा करिब १ महिनादेखि विद्यालय र स्वास्थ्य चौकी पूर्णरूपमा ठप्प हुँदा सेवाग्राहीलाई सास्ती भोग्न बाध्य छन् ।
मेयर–उपमेयरबीचको लडाईका कारण विद्यार्थीहरूको शिक्षामा ठूलो असर परेको छ भने स्थानीय नागरिकहरूले स्वास्थ्य सेवा लिनबाट समेत वञ्चित हुनु चिन्ताजनक रहेको भन्दै तत्काल नगराईन नगरपालिकाको समस्या समाधानका आफूहरुले पहलकदमी लिएको समूहका संयोजक मण्डलले बताए ।
सो बैठकमा जनप्रतिनिधिहरुको तर्फबाट नगराईन नगरपालिका– ३ का वडाअध्यक्ष रामप्रमोद राउत, वडा नम्बर ६ का वडाअध्यक्ष सुर्यनारायण साह, वडाअध्यक्ष संजयकुमार राउत, लोसपा नेपाल नगराईन नगरका सचिव लक्ष्मेश्वर महतो रहेका थिए भने सो बैठकमा नगराईन अगुवा युवा समूहका संयोजक मण्डल, सहसंयोजक विश्वनाथ साह, अमित कुमार पण्डित, मो.सुमानी साह, भविष्ण कुमार साह, धनवीर साह ‘क’, धनवीर साह‘ ख’लगायतकाहरुको उपस्थिति रहेको थियो ।
सो बैठकमा मेयर र उपमेयर आउने पक्कापक्की रहे पनि अन्तिम समयमा दुबै मध्ये कोही पनि उपस्थित नहुँदा वडाअध्यक्षहरुसंग नै सो बैठक भएको थियो । त्यस्तै अर्कोतर्फ तलब नपाएको भन्दै शिक्षक, शिक्षिका तथा कर्मचारीहरुसमेत आन्दोलनमै रहेका बेला आन्दोलनको स्वरुप परिवर्तनबारे बैठक बसेका छन् । बृहत बैठकबाट निस्किने निष्कर्ष अनुसार आफूहरु आन्दोलनको स्वरुप परिवर्तन गर्ने संयुक्त आन्दोलन परिचालन समितिका संयोजक विशेश्वर प्रसाद साहले जानकारी दिए ।
एक महिनादेखि आन्दोलन गर्दासमेत मेयर र उपमेयरले वास्ता नगरी उनीहरु आफ् नो स्वार्थसिद्ध गर्नका लागि विद्यार्थी बालबालिकाको भविष्यको लागि र हामीहरुको तलब भत्ता सेवा सुविधाका लागि गम्भीर नरहेकाले आफूहरु आन्दोलनको स्वरुप परिवर्तन गर्नका लागि बैठक बसिरहेको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक साहले बताए ।