नेकपा एमाले जग्गा विवादमा सर्वोच्चमा पेसी तोकिएको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द पाण्डेयको इजलासमा पेसी रहेको थियो।
भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाइ रिट दायर भएको थियो । प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
उक्त आदेश निरन्तरता दिने कि नदिने विषयमा छलफलका लागि आज पेसी तोकिएको थियो । अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश र कारण देखाऊ आदेश जारी गरेको थियो ।
अधिवक्ता बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेश मार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।
दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश गरेका थिए । उक्त आदेशपछि दर्ता भएको रिटमा सर्वोच्चले भवन निर्माण तत्काल अघि नबढाउन भनेको थियो ।
अब नयाँ पेसी अर्को मितिमा तोकिने छ।