सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताएका छन्।
विद्युत बन्द गरेका उद्योगहरूको लाइन जोड्ने मन्त्रिपरिषदको निर्णयलाई नेपाल विद्युत प्राधिकरणका कर्मचारीले नमान्ने भनेका छन् नि भन्ने प्रश्नमा सोमबार जबाफ दिँदै मन्त्री गुरूङले भने, ‘सरकारको यो निर्णय ऊर्जा, जलस्रोत सिँचाइ मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने तदारूकता देखाउनुपर्छ। नेपाल सरकारले गरेका निर्णयबारे कर्मचारीले आफ्नो धारणा राख्न त पाउँछ, तर सरकारको निर्णय कार्यान्वयन गर्दिनँ भनेर कसैले भन्छ भने त्यो क्षम्य हुँदैन।’
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले उद्योगमा विद्युत बन्द गर्दा औद्योगिक क्षेत्रलाई असर गरेको, रोजगारी, राजश्वमा प्रभाव परेको भन्दै सरकारले सो निर्णय लिएको उनले बताए।
सरकारले डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत महसुल पनि बिलअनुसार १५ दिनभित्र बुझाउन निर्देशन दिएको उनको भनाइ छ।
नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूले उद्योगहरूले बक्यौता तिरेपछि मात्रै लाइन जोड्ने व्यवस्था मिलाउन सरकारलाई ध्यानाकर्षण गराएका थिए।
सरकारले २४ घण्टाभित्र सबै उद्योगमा लाइन जोड्ने निर्देशन प्राधिकरणलाई दिएसँगै सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद र राष्ट्रिय कर्मचारी युनियनले ध्यानाकर्षण गराएका हुन्।