अपडेट 
२०८१ कार्तिक २६, सोमबार १८:५८

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सरकारको तहमा राजनीतिक परिवर्तनका कारण नीतिगत व्यवस्था र प्राथमिकतामा बदलाव आउन नहुने बताएका छन् । उनले अल्पमत र बहुमतका आधारमा कार्यपालिका परिवर्तन हुने शासकीय प्रणाली रहेकाले सरकारको दृष्टि, उद्देश्य र लक्ष्य प्राप्तिका लागि स्थायी सरकार अर्थात् कर्मचारीतन्त्र क्रियाशील हुनुपर्ने उल्लेख गरे ।

सुशासन कार्यान्वयन र सङ्घीयता कार्यान्वयनमा मधेश प्रदेशको अवस्थाबारे हाम्रो भिजन मिडियाले गरेको अध्ययनको सारसंक्षेप प्रस्तुतीकरण कार्यक्रममा सोमबार जनकपुरधाममा बोल्दै मुख्यमन्त्री सिँहले स्वास्थ्यमा पहुँच र सेवाप्रवाह, शिक्षाको सुनिश्तितता, विस्तार र गुणस्तर कायम, सिँचाइ तथा खानेपानी व्यवस्थापन, कृषिकार्यका लागि चाहिने सामग्रीको उपलब्धता र प्राप्ति आदि कार्य सरकारको प्राथमिक विषय भएकाले यसका लागि बाटो निर्धारण गर्ने दायित्व कर्मचारीहरूको भएको बताए ।

उनले भने, ‘एउटा सार्थक र परिमाणयुक्त गन्तव्यमा सरकारलाई पुगिरहनुपर्छ । त्यसक्रममा मैले केके गरेँ र ती काम गरिरहँदा आत्मसन्तुष्टि भयो कि भएन भन्ने कुराको समीक्षा राजनीतिक नेतृत्वसँगै कर्मचारी नेतृत्वले पनि गर्नुपर्छ ।’  मुख्यमन्त्री सिँहले रिक्तता र बेथिति छन् भन्दैमा सरकार यथास्थितिमा नरहने औँल्याउँदै चुनौतीहरूलाई उछिन्न कर्मचारीमा उत्प्रेरणा र क्रियाशीलता आवश्यक भएको चर्चा गरे ।
केही समयअघि आफैँले मन्त्रालयलगायत विभिन्न स्वास्थ्य एकाइहरूमा छड्के गरेको भन्दै मुख्यमन्त्री सिँहले कर्मचारीको उपस्थिति र सेवाप्रवाहको प्रभावकारिताबारे मन्त्रालयका सचिवहरूले नियमित ख्याल गर्नुपर्ने बताए ।

उनले अध्ययनक्रममा देखिएका कमीकमजोरीबारे समीक्षा गरी तिनलाई सच्चयाउन विभिन्न मन्त्रालयका नेतृत्वलाई निर्देशन दिए ।  मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने भन्दै भूगोललाई नभई जनसँख्यालाई सेवा पुर्याउनुपर्ने बताए । उनले भने, ‘मान्छे नभएको ठाउँमा जङ्गल उम्रिन्छ, मान्छे भएको ठाउँमा घर बन्छ र सेवा घरलाई चाहिन्छ ।’ उनले भ्रष्ट्राचारको विरोध, पारदर्शिता र इगभर्नेन्सजस्ता विषयबाट सुशासन प्रवद्र्धन हुने भन्दै जनशक्ति तथा संयन्त्रको क्षमता अभिवृद्धि, कार्यमा प्रभावकारिता तथा विस्तारबाट समेत असल शासनमा मद्दत पुग्ने उल्लेख गरे ।

सभामुख मण्डलले सरकारको राजनीतिक नेतृत्व परिवर्तन हुन्छ र आफू रहिरहने भन्ने कर्मचारीको मनोविज्ञान परिवर्तन हुनुपर्नेमा जोड दिँदै मधेशीलाई भ्रष्ट भन्नेहरू महापापी भएको आरोप लगाए । उनले भ्रष्टाचारको परम्परा र सञ्जाल तोड्ने चुनौती मधेश सरकारसमक्ष रहेको पनि बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनसिँह कोइरी, विभिन्न मन्त्रालयका सचिवलगायतले आआफ्ना धारणा राखेका थिए ।
अध्ययन प्रतिवेदनमा प्रदेशको समृद्धिका लागि राजनीतिक एकता, नीतिगत स्थिरता, सामूहिक प्रतिबद्धता, कर्मचारीहरूमा उच्च उत्प्रेरणा र इच्छाशक्ति, आवश्यकताका आधारमा कार्यक्रम निर्माण आदि सुझाइएको छ ।
हाम्रो भिजन नेपालको समूहले अवैतनिक तवरमा सो अध्ययन कार्य गरेको छ ।

Comment


Related News