अपडेट 
२०८१ कार्तिक २७, मंगलवार ०६:३९

भगवान सीताराम विवाह महोत्सवका लागि जनकपुरधामबाट अयोध्या लगिने तिलक विवादमा परेको छ । तिलक कार्यक्रमको अगुवाइ गर्ने विषयमा उत्पन्न आन्तरिक विवादको कारण जानकी मन्दिरबाट तिलक नलगिने बताइएको छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकी मन्दिर परम्परागत रुपमा नै विवाह महोत्सवको कार्यक्रम गर्ने बताएका छन् । ‘जानकी मन्दिरले परम्परागत रुपमा गरिने कार्यक्रमहरुलाई निरन्तरता दिनेछ’ उनले भने, थप कार्यक्रमहरु प्रदेश सरकार लगायतका निकायहरुले गर्ने छ । ‘जानकी मन्दिरबाट तिलकोत्सव कार्यक्रम राम मन्दिरमा नै हुनेछ’ उनले भने, सप्ताहव्यापी कार्यक्रममा एकदिन तिलकोत्सवको कार्यक्रम रहेको छ ।

विश्व हिन्दू परिषद् अयोध्या र विश्व हिन्दू परिषद् नेपाल धनुषाको संयुक्त प्रयासमा जनकपुरधामबाट तिलक अयोध्या जाने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको नेतृत्वमा तिलक अयोध्या जाने तयारी गरिएको थियो । तर अयोध्यामा मर्यादाक्रम मिलाउन सहज नहुने भएकाले मुख्यमन्त्री सिंहको कार्यक्रम अनिश्चित भएको छ ।

जानकी मन्दिरले पनि तिलकको अगुवाइ नगर्ने बताइएको छ । उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले गर्ने भनिएको थियो । अब विश्व हिन्दू परिषद्का धनुषा जिल्ला अध्यक्ष सन्तोष साहको अगुवाइमा अयोध्या तिलक पठाउन लागिएको छ । विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय उपाध्यक्ष रघुनाथ प्रसाद साहले जनाए अनुसार तिलक लिएर जाने परिषद् का कार्यकर्ताहरुले नै जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवको पत्र पनि लग्ने छन् । ‘परम्परागत रुपमा ठाकुर (हजाम) मार्फत पठाइने जन्ती आमन्त्रण पत्र पनि तिलकसँगै जानेछ’ साहले भने, जनकपुरधाम र अयोध्याबीचको सम्बन्धलाई तिलकले थप सुदृढ गर्नेछ ।

जनकपुरधाममा हुने तिलकोत्सव कार्यक्रममा कुनै परिवर्तन नहुने बताउँदै साहले भने, जनकपुरधाम र अयोध्याबीचको वैवाहिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास हो । विश्व हिन्दू परिषद् अयोध्याका महासचिव राजेन्द्र सिंह पंकजको पहलमा जनकपुरधाम र अयोध्याबीच तिलकको एउटा कार्यक्रम थप गर्न लागिएको साहले बताए । पंकजको आग्रहमा जानकी मन्दिरबाट नै तिलक लगिने र नेतृत्व मुख्यमन्त्री सिंहले गर्ने तयारी थियो । साहले जनाए अनुसार परराष्ट्र मन्त्रालयबाट मुख्यमन्त्री सिंह अयोध्या जाने अनुमति पाइसकेका छैनन् ।

हरेक पाँच वर्षमा अयोध्याबाट भव्य रुपमा जन्ती आउने जस्तै तिलकको कार्यक्रम पनि थप अध्याय हुने र यसले जनकपुरधामको प्रचारमा मद्दत पुग्ने साहको कथन छ । तर गौ संरक्षण मञ्च जनकपुरधामका अध्यक्ष जगदीश महासेठले जनकपुरधामबाट अयोध्या तिलक लग्नु गलत परम्पराको सुरुवात हुने बताएका छन् । ‘विवाहका लागि बेहुला भगवान राम अयोध्याबाट जनकपुरधाम आएका थिएनन्’ उनले भने, भगवान राम र लक्ष्मण वनबाट जनकपुरधाममा नै आएर धनुष भंग गरेका थिए ।

धनुष भंगपछि राजा जनकले जन्ती लिएर आउन राजा दशरथलाई ठाकुरमार्फत निम्तो पठाएको उनले बताए । ‘अयोध्याबाट जन्ती ल्याउन हजाम मार्फत राजा जनकले अयोध्या नरेश दशरथलाई निम्तो पठाएका थिए’ महासेठले भने, प्राचीन चलनलाई विथोल्दै तिलक अयोध्या पठाउने काम हुन लागेको छ । बेहुला जनकपुरधाममै रहेकाले जानकी मन्दिरबाट राम मन्दिरमा तिलक लगेर तिलकोत्सव कार्यक्रमको आयोजना गरिँदै आएको उनले बताए ।

तिलक नलग्न जानकी मन्दिर, विश्व हिन्दू परिषद् र मुख्यमन्त्री सिंहलाई समेत आग्रह गरिएको उनले बताए । तिलकको विषयमा जनकपुरधाममा विवाद भए लगतै विश्व हिन्दू परिषद् अयोध्याका महासचिव राजेन्द्र सिंह पंकजले सीतामढी पुनौराधामबाट नै तिलक मगाइने धम्की दिएका छन् । ‘जनकपुरधाम तिलकमा पछाडि हटे जन्ती पनि पुनौराधामसम्म मात्र सीमित हुनेछ’ सिंहको भनाइ उद्घृत गर्दै एकजना समर्थकले भने, सीतामढी सीताको प्राकट्यस्थल रहेकोले वैवाहिक कार्यक्रम पनि त्यहाँ नै भएको हुनुपर्छ ।

भारत सरकारले सीतामढीस्थित पुनौराधामको विकासमा ५ सय करोड रुपैयाँ बजेटको घोषणा गरिसकेको छ । रेल, विमान सेवा पनि विस्तारको कार्यक्रम रहेको बताइन्छ । अयोध्यामा भगवान राम मन्दिरको प्राण प्रतिष्ठा भएदेखि जनकपुरधाम आउने हिन्दू पर्यटकको संख्यामा भारी वृद्धि भएको छ ।

अयोध्यामा भगवान रामललाको दर्शन गर्न आउने पर्यटकहरु जनकपुरधाम पनि आउने गरेका छन् । मंसिर २१ गते सीताराम विवाह महोत्सव जनकपुरधाममा मनाइने तयारी भइरहेको छ । जानकी मन्दिरले जन्तीको आवास, भोजनलगायतको व्यवस्थापन गर्ने भएको छ । अयोध्याबाट ५ सय बढीको संख्यामा जन्ती आउन लागेको छ । त्यसमा तिरुपति तिरुमलाबाट ५१ जना मठाधीशको पनि सहभागिता रहने छ । उनीहरुले जानकी मन्दिरमा २२ गते ५१ स्थानको पवित्र जलले जलाभिषेक गर्ने कार्यक्रम रहेको छ ।

सीताराम विवाह महोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजना हुने मटकोर कार्यक्रमको क्रममा गंगासागरमा भारी भीड हुने गरेकाले संक्षिप्त कार्यक्रम त्यहाँ र विशेष कार्यक्रम मन्दिर पसिरमा नै गरिने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News