जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनतालाई अझै हक अधिकार प्राप्ति नभएको बताएका छन् । मधेशमा जनसंख्याको आधारमा विकास बजेट, राज्यको सबै निकायमा सम्मानजनक भागिदारी, प्रतिनिधित्व, अवसर, आफ्नो शासन, प्रशासन, नीति, कानुन बनाउने अधिकार नपाएसम्म आफूहरुको संघर्ष जारी नै रहेको अध्यक्ष यादवले बताए ।
गढीमाई नगरपालिकामा सोमबार जसपा नेपाल रौतहटले आयोजना गरेको जनसभामा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले अधिकारका लागि मधेशी जनताको संघर्ष जारी नै रहेको बताए । राज्यले सधै मधेश र मधेशी जनतालाई अपेक्षा गर्दै आएको कारण मधेशमा सोचे जस्तो विकास हुन् नसकेको तथा मधेशी जनता अझै अधिकारसम्पन्न हुन् नसकेको उनले बताए ।
देशको आधीभन्दा बढि जनसंख्या मधेश प्रदेशमा भए पनि सरकारले जनसंख्याको आधारमा विकास बजेट नदिदा विकासमा मधेश पछाडि परेको उनले बताए । मधेशमा लगभग ५४ प्रतिशत जनसंख्या भए पनि शासक वर्गले १२ प्रतिशत मात्र रकम विकासका लागि छुट्याउने गरेका कारण मधेशमा सोचे जस्तो विकास हुन् नसकेको उनको भनाइ थियो ।
मधेश र मधेशी जनता सधैं शासक वर्गको गुलाम बनिरहोस्, मधेशमा विकास नहोस भन्ने उद्देश्यले नै राज्यले मधेशमा लगानी गर्न नचाहेको उनले टिप्पणी गरे । मधेशी जनताले मधेशबाट कांग्रेस र कम्युनिष्टलाई परास्त नगरेसम्म मधेशीले पूर्ण अधिकार पाउन नसक्ने उनले धारणा राखे । शासक वर्गले मधेशी, जनजाति, आदिवासी, थारु, अल्पसंख्यक, मुस्लिम लगायत समुदायलाई अधिकार दिन नचाहेको र पटक पटक भेदभावसमेत गर्दै आएकोले आउँदो निर्वाचनमा मधेशलाई अधिकार दिन नचाहनेलाई आफ्ना अमूल्य मत नदिन उनले सबैमा आग्रह गरे ।
मधेशीको भोटबाट जितेर सत्तामा पुगेपछि शासक वर्गले मधेशीको माग र मुद्दा विर्सिने गरेका कारण ती शासक वर्गलाई चुनावमा साथ नदिन उनले आग्रह गरे । लोकतन्त्र स्थापना भएको ३५ वर्षदेखि सरकारको नेतृत्व गर्दै आएपनि कांग्रेस र कम्युनिष्टले देश बनाउन नसकेको उनले बताए ।
कांग्रेस र कम्युनिष्टले देशमा विकास गर्नुको सट्टा लुटतन्त्रमा लागेका कारण देश आज चरम गरिबीको भुमरीमा फसेको उनले टिप्पणी गरे । देशमा संघीयता आए पनि संघीयता पूर्ण रूपमा लागू हुन् नसक्दा मधेशी जनता अझै धेरै अधिकार पाउनबाट वञ्चित रहेको उनले बताए ।
जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष श्यामविहारी यादवको अध्यतामा भएको कार्यक्रममा जसपा नेपालका महासचिव एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, केन्द्रीय सदस्य एवं मधेश प्रदेशका पूर्वकृषि राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेशका पूर्वराज्यमन्त्री शेख फूलबाबु, पूर्वप्रदेश सांसद रामकिशोर राय यादव, प्रदेश सांसद शोभा देवी, किरण ठाकुर, युवा नेता राजकुमार दास लगायतका वक्ताहरुले आ–आफ्ना मन्तव्य राखेका थिए ।