अपडेट 
२०८१ कार्तिक २७, मंगलवार १७:४८

मानव तस्करी गरेको आरोपमा पक्राउ परेका नेकपा (एमाले) कोशीका सांसदसमेत रहेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई ७ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले ७ दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए।

जापानमा हुने इन्टरनेसनल कन्फेरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा सहभागी हुन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका लिलाबल्लभ अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए। उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो।

नेपालको अध्यागमन विभागले उनीहरूमाथि अनुसन्धान गर्न भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो। त्यसपछि थप तीन जना, महेश पाण्डे, जुगल रिजाल र वीरबहादुर सुनुवारलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो। त्यसपछि मन्त्री रहेका अधिकारीले पत्रकार सम्मेलन गरी पदबाट राजीनामा गरेका थिए।

परिसरले सुरूमा यसको अनुसन्धान कीर्ते कसुरमा अघि बढाएको थियो। तर पूर्वमन्त्री एवं कोशी प्रदेश सांसदसमेत रहेका अधिकारी पक्राउ परेसँगै मानव बेचबिखन तथा ओसारपसार कसुरमा पनि अनुसन्धान अघि बढाएको हो।

प्रहरीले सोमबार साँझमात्रै गुडी राई र नवीन राईलाई पक्राउ गरेको थियो। उनीहरूले नक्कली परिचय पत्र बनाउन सहयोग गरेको प्रहरीको भनाइ छ।

प्रहरीले यसको थप अनुसन्धान अघि बढाएको छ।

Comment


Related News