लामो सयमदेखि ठप्प रहेको धनुषाको नगराईन नगरपालिका सञ्चालनमा आउने भएको छ । धनुषाको नगराईन नगरपालिकामा लामो समयदेखि मेयर र उपमेयरका कारण उत्पन्न समस्याको समाधानका लागि मंगलबार भएको सर्वपक्षीय बैठकबाट दुई बुँदे सहमति भएपछि बुधबारदेखि पालिकाको कामकारबाही हुने भएको छ ।
नगराईन अगुवा युवा समूहको अगुवाईमा नगराईन नगरपालिकाका मेयर, उपमेयर, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजको उपस्थितिमा भएको सर्वपक्षीय बैठकबाट स्थानीय तह सरकार सञ्चालन सम्बन्धी ऐन २०७४ अनुसार नगरपालिका सञ्चालन गर्ने र आगामी मंसिर ५ गते बुधबारको दिन नगरसभा अनिवार्य रुपमा गर्ने सहमति भएको छ ।
सर्वपक्षीय बैठकमा मेयर विनयकुमार यादवले स्थानीय सरकार सञ्चालन ऐन २०७६ खारेज गरी स्थानीय तह सरकार सञ्चालन सम्बन्धी ऐन २०७४ लागू गर्ने प्रतिवद्धता जनाएसंगै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले गर्दै आएको आन्दोलन मत्थर भएको छ । सो ऐन खारेज गरी संघीय सरकारको स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ लागू गर्ने र यसै सातामा नगरसभा गर्ने सहमति आफूहरुले गर्दै भएसंगै सम्पूर्ण आन्दोलन स्थगित गरिएको उपमेयर राधादेवी यादवले जनाइन् ।
गतवर्ष मेयर विनय कुमार यादवसंग स्थानीय तहको बजेट सञ्चालनमा आफूलाई पनि अधिकार दिइएपछि लिखित रुपमा बजेट सम्बन्धी अधिकारबारे कार्यविधि संशोधन गर्न नमानेपछि आफूहरु केही महिनादेखि आन्दोलित रहेको बताउँदै उपमेयर राधादेवी यादवले मेयरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागू गर्ने सर्वपक्षीय बैठकमा प्रतिवद्धतासंगै लिखित सम्झौता गरेपछि आफूहरुले आन्दोलनबाट पछि हटेको बताइन् । उनले पालिकाको सम्पूर्ण कामकाज सञ्चालनमा ल्याउनका लागि नगरसभा अघि शिक्षक, स्वास्थ्यकर्मी र कर्मचार ीसमेत आन्दोलनमा रहेकाले उनीहरुसंग समेत बुधबार बैठक बसेर कार्यालयको सम्पूर्ण कामकाज सञ्चालनमा ल्याइने बताइन् ।
आगामी मंसिर ५ गते आर्थिक वर्ष २०८०/०८२ को नगरसभा अनिवार्य गर्ने सहमति भएको नगराईन अगुवा युवा समूहका संयोजक आदर्श मण्डलले बताए । पाँच महिनादेखि नगराईन नगरपालिकामा बजेट सञ्चालनका लागि अधिकार पाउनुपर्ने भन्दै उपमेयर राधादेवी यादवले आन्दोलन गर्दै पालिकाको सम्पूर्ण कामकाज ठप्प पारेको थियो ।
पालिकाको सम्पूर्ण कामकाज ठप्प हुँदा शिक्षा, स्वास्थ्य र ज्येष्ठ नागरिकलाई सेवासुविधामा समेत प्रत्यक्ष असर परेको थियो । सो समस्याहरुलाई मध्यनजर गर्दै स्थानीय युवाहरुको एक समूहले पालिकाको समस्या समाधानका लागि सबै पक्षलाई दबाब सृजना गर्दै विद्यालयमा पठनपाठन सुचारु,स्वास्थ्य सेवा सुचारु र सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउनुपर्ने भन्दै मेयर र उपमेयरलगायत जनप्रतिनिधिहरुलाई दबाब दिँदै आएको थियो । सोको निश्कर्ष स्वरुप बसेको सर्वपक्षीय बैठकबाट समस्या समाधान गर्ने निर्णय भएको समूहका संयोजक मण्डलले बताए ।