केही समय अघिसम्म जानकी मन्दिर परिसरमा जीउभरि भस्म लगाइ हातमा थाली बोक्ने एक मगन्तेले जनकपुरवासी अन्धो र पागल छन् सन्दर्भका करुण भाव सुनाउने गर्थे । उनको भनाइलाई प्रमाणीकरण गर्ने क्रियाकलाप , परिवेशले सघाइ रहेका अध्याय थपिने क्रम रोकिएको छैन । जनकपुरधामको सेरोफेरोका क्रियााकलाप , मनोभाव ,शासकीय छक्का पञ्जा ,राजनीतिक दल , नेतृत्वकर्ता ,सरकारको तात्पर्य पनि उनकै भनाइलाई पाल पोष गरिरहेको छ । न चिन्तन छ , न प्रयत्न छ , दृश्य , अदृश्य प्रभुत्वको शेष मात्र छ । भाषणमा इतिहास , आध्यात्म , माता जानकी , राजर्षि जनकको दृष्टान्त प्रस्तुत गर्नुका अतिरिक्त यसको भविष्य , धरोहरको रक्षा , सभ्यता , संस्कृतिको संरक्षणमा नाटकीयता ,घूर्तपनले उदेकलाग्दो अवस्था छ ।
जनकपुरधामको विकल्पको रुपमा भारत सरकारले पुनौराधाम परियोजना कार्यान्वयन गरी पर्यटकलाई पुनौराधाममै केन्द्रित गर्ने कार्य गरिरहँदा समेत जनकपुरधामका जानकारदेखि साधु सन्त , सरकार , उद्योगी , व्यवसायी , प्राज्ञिक वर्गको मौनता जानकी मन्दिरकै मगन्तेको भावमा सहमति जनाइ रहेको बोध हुन्छ ।
जनकपुरधाम आउने पर्यटकमध्ये ७० प्रतिशत भारतीय पर्यटक रहेको आध्यात्मिक परिवेशमा यसको विकल्पका रुपमा भारत सरकारले पुनौराधाम विकास परियोजना कार्यान्वयन गरी पुनौराधामलाई विश्व पर्यटन गन्तव्य स्थल प्रमाणीकरण र भारतीय पर्यटकलाई पुनौराधाममै केन्द्रित गर्ने ध्येय देखिन्छ । पुनौराधाम माता जानकीको प्राकट्य स्थल रहेको मिथक छ । यसलाई प्रमाणीकरण गर्ने खोज एवं पुरातात्विक आधार नभएको अवस्थामा भारतीय सरकारको यो परियोजनाले भविष्यमा जनकपुरधाम आउने भारतीय पर्यटकको मनोभावलाई परिवर्तन गर्ने र यसको प्रतिकूल प्रभाव जनकपुरधामलाई नै पर्ने सम्भावनालाई नकार्न सकिदैन ।
जनकपुरधाम बिना भारतको धाम र भगवान राम पनि अधुरो रहने यथार्थताको पृष्ठभूमिमा समृद्ध सांस्कृतिक विविधता अन्तर्गत जनकपुरधाम र भारतबीच सामाजिक , सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार , तीर्थाटनको प्रवद्र्धन गर्ने रामायण सर्किटको चर्चा परिचर्चा भइरेको बेला पुनौराधाम विकास परियोजना तीर्थाटन सूत्रको विपरीत परिलक्षित हुन्छ । सन् २०१४मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा अयोध्या र जनकपुधामको धार्मिक तथा सांस्कृतिक विकासका लागि गरिएको सम्झौता विपरीत पुनौराधाम विकास परियोजना संस्कृतिको जीवन मार्गलाई कमजोर बनाउने संकेत गरिरहेको छ ।
भारतीय सरकार पुनौराधामलाई तिरुपति मन्दिर जस्तो बनाउने लक्ष्यसहित ५० एकड जग्गा अधिग्रहण , अयोध्या–सीतामढी रेल विस्तार योजना कार्यान्वयनतर्फ अग्रसर छ जसको उद्देश्य मिथिलाको संस्कृति तथा धरोहरलाई संरक्षण , प्रवद्र्धन गर्ने उल्लेख गरिएको छ । सार्वजनिक उद्देश्य मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धन भनिए पनि रामायणण्कालीन सभ्यता र संस्कृतिको जीवन धारलाई परिवर्तन गर्ने र पुनौराधाममा तीर्थयात्रीको ओइरो लाग्ने सम्भावना जनकपुरधामका लागि चुनौतीको चक्रव्यूह हो ।
जनकपुरधाम उच्च सभ्यता , ज्ञान विज्ञान , धन्यधान्यको केन्द्र , शास्त्र लेखन , कला , यज्ञ , तप , तत्व चिन्तन र दर्शनमाथि कर्मकाण्ड , विद्वान , विदुषीको सभा , गोष्ठी , शास्त्र चर्चा , प्रश्नोत्तर र शास्त्रका केन्द्रका नामले परिचित छ ।वैदिक बाङ्मय पुराण तथा धार्मिक साहित्यहरुमा जनकपुरधामको अस्तित्व अनादिकालदेखि नै रहेको उल्लेख छ । त्रेता युगमा उत्कर्षमा रहेको मिथिला वा जनकपुरधाम द्वापर युगमा महाभारत युद्धपछि लोप भएर पृष्ठभूमिमा पुगेको र कलियुगमा सोह्रौं शताब्दी पछि जनकपुरधाम पुनः प्रकट भएको मान्यता छ ।
साधुसन्तको खोजी भइ प्राप्त जनकपुरधामको श्रेय चतुर्भुज गिरी र सुरकिशोर दासलाई दिइन्छ । यिनीहरु आएको समयलाई सत्रौं शताब्दीको अन्ततिरको समय मानिएको छ । अतीतको गौरवगाथा बोकेको मिथिला , जनकपुरधाम अति प्राचीन रहेको छ । यसको प्राचीनता उजागर गर्ने स्रोतहरुमा वेद , उपनिषद् लगायतका ग्रन्थहरु भएको अवस्थामा जनकपुरधामको गौरवगाथा, , दुई महान संस्कृतिको मिलन स्थलको अस्तित्वलाई औचित्यहीन गर्ने ध्येय समृद्ध सांस्कृतिक विविधतामाथि नै शंकाको मार्ग प्रशस्त गरिरहेको छ ।
भारत सरकारले पुनौराधामलाई भगवान राम र सीताको जीवनसँग परिभाषित गरी पर्यटकको ध्यान केन्द्रित गर्ने प्रयास गरिरहेको बेलामा पनि जनकपुरधामका जानकी मन्दिर महन्त ,साधुसन्त एवं कतिपय स्रष्टा , कलाकारले पुनौराधामलाई नै जानकी जन्म स्थल भनि अभिव्यक्ति , भक्तिभाव प्रदर्शनले आगामी दिन जनकपुरधाममा भारतीय पर्यटकको ओइरोमा दुरर्भाग्यपूर्ण शब्दाबली प्रयोगको रुपरेखा तयारको संकेत मान्न सकिन्छ । जनक सत्य हो भने यो जनकपुरधाम पनि हो , जनकपुरधाम शब्दले राजर्षि जनकको निवास स्थललाई नै बोध गराउँछ तर वर्तमानको जनकपुर राजर्षि जनकको निवास स्थल हो कि अन्य स्थानमा रहेको खोजको विषय हो ।
यद्यपि । रामचरितमानसमा जनकपुरको प्रसंगसँग सम्बन्धित प्रत्यक्ष, अप्रत्यक्ष रुपमा १३३ वटा दोहा पनि रहेका छन् । खोज , अनुसन्धान को अभाव सरकारको उदासीनताका कारण पनि भारतीय सरकारले नेपालका कतिपय धार्मिक तीर्थस्थललाई भारतमा भएको प्रमाणित गर्ने इतिहास पनि साक्षी छ । तिलोराकोट , लुम्बिनीलाई भारतमै भएको प्रमाणित गर्न कृत्रिम संरचना निर्माण गरेको रहस्य , षडयन्त्र सम्भवत कसैबाट लुकेको छैन ।
यति मात्र होइन बोधगयालाई बौद्धको जीवन क्रमसँग सम्बन्धित भनि विश्वका पर्यटकलाई तान्न सफल भएको प्रसंग पनि मनन योग्य छ । जनकपुरधामको पौराणिक महत्व र आस्थाकै कारण टिकमगढकी महारानी वृषभानुले जानकी मन्दिर निर्माण गराएकोप्रति भारतीय पक्षबाट यसलाई छायामा पार्ने योजना जनकवासी, प्रदेश समग्रमा नेपालकै लागि चुनौतीको विषय हनुपर्ने हो तर विनाशको चिन्ता भन्दा पनि भक्तिभाव प्रदर्शनले भविष्यमा पर्ने बाधाव्यवधानलाई टार्न सकिदैन ।
यसको आलोचना , समालोचना पनि विनाश गर्नेहरुबाटै हुनुपर्छ । विनाश गर्नेहरुले पनि यसको दूरगामी प्रभावबारे सोच्नै पर्छ । विनाश गर्ने अनि सीता बिना राम अधुरो , बेटीरोटीको सम्बन्ध जस्ता भावनात्मक शब्दलाई प्रवचन शैली बनाउने प्रवृत्ति जनकपुरधामका लागि कदापि श्रेयस्कर होइन । वृषभानु कुँवरी , माणिक सेन,अमर सिंह , हेमकर्ण सेन जस्ता दानवीरहरुको नाम पनि धूमिल हुने अवस्थाप्रति किन विश्लेषण गर्देनौं ? मकवानपुरका राजा माणिक सेनले जानकी मठका महन्त राम दासलाई ई. १७२६मा , सुजागत सेन कुआ ( रामपुर )का महन्त शीतल गिरीलाई १७४० तथा हेमकर्ण सेनले पनि गिरीलाई ई. १७५३मा जग्गा दान दिएको अभिलेख छ । यस्तै राजा रणबहादुर शाले जग्गा प्रदान गरी हनुमान नगर मठको स्थापना गरेका थिए ।
ईं १८०७ मा काजी अमर सिंह थापाले राजा गीर्वाणयुद्ध विक्रम शाहको तर्फबाट हनुमान मठ र राम मठका महन्तलाई जग्गा उपलब्ध गराएको प्रमाण छ । माता जानकीको प्राकट्य स्थल पुनौराधाम नै भएको प्रमाणको अभाव छ । मिथक बमोजिम परिकल्पना गरी पुनौरा गाँवलाई जानकीको प्राकट्य स्थल साबित गर्ने अभियान सञ्चालनमा छ । जनकपुरको विकल्पमा पुनौरालाई उभ्याउन खोजे पनि जनकपुरधाम बारे रामायणमा उल्लेख भएका स्थान विद्यमान रहेकाले जनकपुरको विकल्पबारेको परिकल्पना भ्रम मात्र हो ।
रामायणमा उल्लेख भएका स्थलहरु जनकपुरधामकै सेरोफेरोमा बिसौल , गिरिजा स्थान (पूmलहर) लगायतका स्थल छन् तर पनि आधुनिकताको नाममा जनकपुरधाममाथि ज्यादतिको दुर्दान्त अवस्था सोचनीय छ । विवाह पञ्चमीमा अयोध्या र जनकपुरको चर्चा शीर्षमा हुन्छ तर अयोध्यामा रामको मूर्ति निर्माणका लागि पठाइएको शीलालाई औचित्यहीन बनाइएको छ । मठमन्दिरका सम्पति छिन्नभिन्न छन् । कुनै लेखाजोखा छैन । राजदेवी मन्दिरमा दशैका बेला हुने गरेको गतिविधिले हाम्रा अगाडिका पुस्तालाई विसंगतिमुलक बाटोतर्फ अग्रसरका लागि तछाडमछाड गरिरहेका छौं ।
बलिका लागि ल्याइएका बोका व्यवस्थापकहरुले चोर्ने गर्छन , बलि प्रदान पछि रक्तरञ्जित लुगामा हतियारसहित झिझिया नृत्य गर्छन , बलि बापतको रकम लिइ छिन्नमस्ता , मनोकामना लगायतका स्थलमा हिसाब मिलान गर्छन , महिलाहरुको गहना चोर्ने गर्छन , व्यवस्थापक नै निशा पूजा गर्न खोज्छन् , राजदेवी मन्दिरको साँघुरोपनको बेवास्ता गर्दे जनकपुरधामको सभ्यता , संस्कृति विपरीतका सांस्कृतिक गतिविधि गर्छन । तापनि हामी सचेत छैनौं ।
यतिसम्म कि त्यहाँ हुने गरेको संस्कृत विषयको पढाइलाई विस्थापित गराइएको छ । सचेतनाको अभावमा कपिलवस्तुमा तिलोराकोट लेखिएको बोर्डमा स्थानीयले गोबरले पोते झैं जानकी मन्दिरमा महन्तको सहयोगीको विवाद अदालतसम्म पुग्छन् ,विद्युतिकरण एवं सौन्दर्यकरणका नाममा जानकी मन्दिरमा प्वाल गरी संरचना कमजोरका साथै मार्बलले आँखा दुख्ने र खुट्टा पोल्ने , जग्गाहरु बिक्री , प्रतिकूल प्रभाव पार्ने संरचना निर्माण , आध्यात्मिक वातावरणको अभाव , मठाधीशहरुमा अध्ययनशीलताको कमी , अधिकांश मन्दिर गृहस्थ आश्रममा परिणत , मठाधीशहरुद्वारा नै नैतिकहीन क्रियाकलाप ,विकल्पमा पुनौराधामको प्रसंगमा चर्चाले यसको अस्तित्वमाथि प्रश्न चिन्ह खडा भएको छ ।
सम्भवतः यी अवस्थाले नै गर्दा मगन्तेले जनकपुरधामवासीलाई अन्धो र पागल भनेका होलान । मगन्तको अनुभूति एवं भनाइमा व्यक्तिगत पीडा पनि सन्निहित हुनसक्छ तर हाम्रो भनाइ , गराइ पनि मगन्तेभन्दा पृथक छैन । संसारमा सबैभन्दा खतरनाक मान्छे जानेर पनि अज्ञानता व्यक्त गर्ने हुन्छ केलेन केलरको भनाइ अनुरुप हामी चरित्र प्रदर्शन गरिरहेका छौं , ज्ञान पछि पनि अज्ञान बन्नु घातक र दरिद्र मानसिकता हो ,कोपभाजनमा पर्ने सम्भाव्यता हो , सस्कृति , सभ्यता , भाषा , पहिरन , सस्कारलाई मनोगत व्याख्या गर्ने उपेक्षाको मनोविज्ञान हो ।
अतः अन्धो र पागल भनाइको समस्याबाट टाढिने बानीलाई त्याग गरी छायामुक्त , सचेत भएमा समस्याको अन्त्यको प्रारम्भ सिद्ध हुनसक्छ , मगन्तेको भनाइ अनर्गल , अर्थहीन साबित हुनसक्छ ।