छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मङ्सिर ५ गते पाँच दिवसीय नेपाल भ्रमणमा आउँदै छन् ।
राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले उनलाई मङ्सिर ६ गते नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नेछन् ।
नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारतको निरीक्षण गर्नेछन् । उनले कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीसँग अन्तरक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यसूची छ ।
प्रधानसेनापति सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ ।