अपडेट 
२०८१ कार्तिक २९, बिहीबार ०८:४३

यो क्याम्पस दुई दाता दाजुभाइ रामस्वरूप रामसागरका नाममा संचालित छ । यसको शुभारम्भ २०१३ सालमा भएको थियो । सबैभन्दा पहिले जनकपुरधाम स्थित सरस्वती हाई स्कुलमा नै संचालन भएको थियो । यसको पहिलो क्याम्पस प्रमुख त्यसै विद्यालयका प्रधानाध्यापक गंगाधर दत्तलाई बनाइयो ।

शुरुआती कालमा मानविकीका केही विषयहरू राखी ५५ जना विद्यार्थी र ७ जना शिक्षकहरूद्वारा कार्य प्रारम्भ भयो । विद्यालय कै कर्मचारीबाट काम लिन थालियो । यसको दोस्रो क्याम्पस प्रमुख दुर्गाबहादुर शर्मा तथा कर्मचारी कामेश्वर लाल थिए । शुरुमा इन्टर तहबाट नै शुरुआत भएकोमा यसको परीक्षा पटना विश्वविद्यालयले लिएको थियो । विस्तारै मानविकी, व्यवस्थापन र विज्ञानमा स्नातक तहको पढाइ शुरुभयो ।

अहिले विश्वविद्यालय तहमा इन्टरलाई फेजआउट गरी माध्यमिक तहमा लगिएको छ । क्याम्पस तहमा स्नातक, स्नातकोत्तर, दर्शनाचार्य, विद्यावारिधि र महाविद्यावारिधि मात्र अध्ययन— अध्यापन गराइन्छ । यहाँ मानविकी स्नातकमा नेपाली, मैथिली, हिन्दी, अंगे्रजी, संस्कृत, इतिहास, भूगोल, भाषाविज्ञान, राजनीतिशास्त्र, तथ्याङ्कशास्त्र, गृहविज्ञान, गणित, अर्थशास्त्र, मनोविज्ञान, जनसंख्या अध्ययन, समाजशास्त्र, तर्क तथा दर्शनशास्त्र, संस्कृति जम्मा १८ वटा विषयहरू अध्ययन—अध्यापन गराइँदै छन् । यस्तै मानविकीतिर स्नातकोत्तर तहमा अंग्रजी, नेपाली, अर्थशास्त्र, राजनितिशास्त्र, समाजशास्त्र, मैथिली, गणित र जनसंख्या अध्ययन रहेका छन् ।

यस्तै व्यवस्थापनको स्नातकतर्फ बीबीएस, बीबीए रहेका छन भने स्नातकोत्तर तहमा बीबीएसको पढाइ संचालित छ । विज्ञानतर्फ स्नातकमा भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, गणित, सूक्ष्म जीवविज्ञान, वातावरणविज्ञान, सीएसआईटी, बीआइटी, रहेका छन् । विज्ञानको स्नातकोत्तर तहमा मैथ मात्र संचालित छ ।

शिक्षातिर स्नातकतहमा चारवर्षे बीएड, एकवर्षे बीएड, अंग्रजी शिक्षा, जनसंख्या शिक्षा, स्वास्थ्य शिक्षा, गणित शिक्षा, नेपाली शिक्षा, बीआइसीटीजस्ता विषय रहेका छन । यसको स्नातकोत्तर तहमा ईपीएम, अंग्रजी शिक्षा, गणित शिक्षा रहेका छन । हाल यी विषयहरू पढाउने शिक्षकहरूको निकै अभाव देखिन्छ । यत्रा विषय पढाउने शिक्षकहरूमध्ये ७७ जना स्थायी, ६ कन्ट्राक्ट, १५ जना आन्तरिक करार र १५ जना आंशिक शिक्षक रहेका छन् । कर्मचारी संख्या ६० मात्र रहेका छन् ।

यी शिक्षक/कर्मचारीलाई विद्यार्थीको अनुपातमा हेर्दा निकै कम देखिन्छ । स्मरण रहोस् ! हाल क्याम्पसमा १६,००० (सोह्र हजार) विधार्थी छन् । विश्वविद्यालयको शिक्षक घटाउने नियोजित कार्यक्रम रहेको छ । यसले गर्दा धेरै विषयमा स्थायी शिक्षक रहेकै छैन । कन्ट्राक्ट, करार, आंशिक शिक्षकबाट नै शैक्षिक अवधि पूरा गर्ने गरिन्छ । यसबाट विधार्थीमा निकै मार्का परेको देखिन्छ । यस्तो अवस्थालाई हेर्दा सरकार शिक्षाबाट पछि हट्न थालेको बुझ्न सकिन्छ । जुन देशमा शिक्षा, स्वास्थ्य, सहकारी जस्ता आधारभूत कुराहरूबाट पछि हट्नु भनेको देशलाई पछि लग्नु हो भने बुझ्नुपर्छ ।

हालको क्याम्पस प्रमुख प्रदीपकुमार प्रसाद हुनुहुन्छ । वहाँ अंग्रेजी विषयका स्काँलर हुनुहुन्छ । वहाँको क्याम्पस प्रमुखमा नियुक्ति २०७७/०४/११ मा भएको थियो । हाल वहाँको अवधि सकिए पनि अर्को व्यवस्था नहुन्जेलसम्मका लागि म्याद बढाइएको छ । वहाँ कै भनाइ अनुसार मभन्दा अगाडि ‘ग’ श्रेणीमा झरिसकेको क्याम्पसलाई उचालेर ‘क’ श्रेणीमा ल्याएको छु । वहाँले आफ्नै अवधिमा ३२ कोठे चार तल्ले प्रशासनिक भवन, गेष्ट हाउस माथि पहिलो तल्ला, बीबीएको १८ कोठे तीन तल्ले भवन, ७५ सिटेड मुँइतले होस्टेल, डिलक्स ट्वाएलेटको निर्माण (ब्याइज र गर्ल बेग्लाबेग्लै) गराउनु भएको छ ।

विद्यार्थी संख्यामा नेपाल भरी आंगिक क्याम्पसहरूमध्ये प्रथम स्थानमा रहेको छ । यस्तै दोस्रो गेट, सात सय मिटर कम्पाउण्ड वालसमेत यहाँ कै पालामा निर्माण भएको देखिन्छ । यस्तै विगत वर्षदेखि वाँकी रहेको स्वतन्त्र विधार्थी युनियनको निर्वाचन गराउन समेत सफल हुनुभएको छ । आजको मांग अनुसार दुईवटा कम्प्युटर लैब संचालन गरेर प्रत्येक ल्याबमा ५० वटा कम्प्युटर व्यवस्थित भएका छन् । जम्मा विद्यार्थी संख्या १६,००० लाई संकाय आधारमा हेर्दा कमर्समा १० हजार, शिक्षामा ३ हजार, विज्ञानमा २ हजार र वाँकी १ हजार मानविकीमा अध्ययनरत रहेका छन् ।

विगतमा मानविकीतिर विद्यार्थी संख्यामा प्रथम रहेकोमा हाल मानविकीका अधिकांश विषयमा विद्यार्थि संख्या निकै न्यून रहेका छन् । कतिपय विषयमा विद्यार्थी÷ शिक्षक संख्या शून्य रहेका छन् । मानविकी शून्यतिर जानु पक्कै पनि राम्रो होइन । विषय कुनै नराम्रो हुँदैन, वरु त्यसमा व्यवस्थापन गर्न नसक्नुलाई प्रमुख कारणको रूपमा लिन सकिन्छ । मानविकीका सहायक क्याम्पस प्रमुख रामहृदय मण्डल पनि यस्तै धारणा राख्नु हुन्छ । शिक्षा, विज्ञान तथा व्यवस्थापन संकायका सहायक क्याम्पस प्रमुखहरू क्रमसः सूर्यकान्त साह, सुरेन्द्र राय र डा. विनोदलाल कर्णसंग कुरा हुन सकेन ।

यस्तै नेपाल प्राध्यापक संघ राराब एकाइ समितिका सभापतिसंग पनि यसबारे बढी कुरा हुन सकेन । नेपाल कर्मचारी संघका सचिव गणेश यादवसंग सम्पर्क गर्दा वहाँ क्याम्पस बारे निकै सकारात्मक धारणा प्रकट गर्नुभयो । यहाँले भनुभयो वर्तमान क्याम्पस प्रमुखको अवधिमा क्याक्पस सुधारोन्मुख अवस्थामा रहेको छ । यहाँको विचारमा प्राविधिक विषयमा बृद्धि, नयाँ भवन निर्माण, शिक्षक÷कर्मचारीलाई अनुशासनको दायरामा ल्याउनु, समयमा हाजिरी, समयभित्रै कक्षामा जानु, कर्मचारी समयमा उपस्थित हुनु, आफ्नो जिम्मामा रहेका काज समयमै सम्पन्न गर्नु, समयमा तलब, ऋण, ब्याज पठाउनु, विद्यार्थीका लागि पढ्ने वातावरण सिर्जना गर्नु, बीबीएस र बीएडमा केटाकेटीका लागि अलग÷अलग कक्षा संचालन हुनु, ड्रेस अनिवार्य गर्नु, डे«सबिना विद्यार्थीलाई प्रवेश निषेध गर्नु, परीक्षा प्रणालीमा सुधार हुनु, ६० प्रतिशतभन्दा बढी रिजल्ट आउनु जस्ता सकारात्मक काम रहेका छन् ।

यसै क्याम्पसका पूर्व पीअन रामशीष साहको विचार अलि भिन्न रहेको छ । वहाँको विचारमा आजभन्दा केही वर्ष विगतमा क्याम्पसको वातावरण अलि बिग्रिएकोमा हाल सुधरोन्मुख देखिएको छ । जे जस्तो भए पनि मानविकी र विज्ञान संकाय दयनीय हुनुलाई राम्रो पक्षको रूपमा लिन सकिँदैन । वहाँले यस कुरालाई सरकारको कमि÷कमिजोरीका साथै क्याम्पस प्रमुखको ध्यान नजानुको रूपमा लिएका छन् । यस्तै कुराहरूलाई लिएर क्याम्पस विद्यार्थी यूनियनका सभापति मनिसकुमार यादवसंग विचार लिँदा, वहाँका विचारमा पनि क्याम्पस प्रमुख निकै सुधार गरेका छन् ।

क्याम्पसमा हाम्रो युनियनको तर्फबाट विशेष जोडदिई रिडिंग रूम, ल्याव, खानेपानीको फिल्टर÷पाइप जडान समेतको काम सम्पन्न भएका छन् । हाम्रै प्रयासमा क्याम्पसको बगंैचालाई सौन्दर्यीकरण गर्ने काम पनि सम्पन्न भएको छ । हामी युनियनका तर्फबाट होस्टल सुधार गर्न बराबर दबाब दिइरहेका छौं । विद्यार्थीको ड्रेसमा समेत यूनियन सकारात्मक छ । पंचुयालिटीमा हाम्रो कुनै सम्झौता हुँदैन । परीक्षा सुधार गर्नेतिर हामी प्रयासरत छौं । क्याम्पस प्रमुखको सबभन्दा ठूलो उपलब्धिको रूपमा विद्यार्थी संख्या बढोत्तरीलाई लिन सकिन्छ । वहाँ क्याम्पसमा ज्वाइन गर्दाका बखत ३,६०० (तीन हजार छ सय) विद्यार्थी रहेकोमा हाल १६,००० मा लग्नु पक्कै प्रशंसनीय काम हो तर विद्यार्थी बढोत्तरीले मात्र हुँदैन, विद्यार्थीको गुणस्तर कति छ ? परीक्षा मर्यादित हुन्छ कि हुँदैन? विद्यार्थी अनुशासित छन् कि छैनन् ? नियमित कक्षा हुन्छ कि हुँदैन ? त्यतातिर पनि ध्यान जानु पर्छ । आजको युग प्रतिस्पर्धाको युग हो । विद्यार्थी स्पर्धी हुन सकेन भने के काम ? बिगतमा यस क्याम्पसको मर्यादा कति उँचाइ पाएको थियो त्यता पनि सोच जानुपर्छ ।

हुनत एकैचोटी स्तर तल झरिसकेपछि उठाउन पक्कै समय लाग्छ होला तर निरन्तरता दिएपछि कुनै व्यवधानले त्यसलाई रोक्न सक्दैन । अहिलेको सरकार पनि शिक्षाको जिम्मेवारी लिनबाट भाग्ने प्रयास गरिरहेको छ । सरकारी शिक्षकहरूलाई प्राइवेटतिरको कक्षामा पढाउन जानलाई अनुमति दिनु, सरकारबाट अनुगमन नहुनु, विश्वविद्यालयले क्याम्पसहरूलाई छाडा छोड्नु, परीक्षामा शिक्षक, निरीक्षक र पर्यवेक्षकमा बसेर आफ्नो दायित्व पूरा गर्दा विद्यार्थीबाट बल प्रयोग हुँदा सरकार यस्ता उदण्ड काम रोक्न सुरक्षाको व्यवस्था नमिलाउनु जस्ता कामहरूले क्याम्पसको वातावरणलाई नराम्ररी प्रभावित गरेका छन् । यसलाई सुधार गर्न सरकार अगाडि आउनु पर्छ, होइन भने दिनप्रतिदिन शिक्षाको अवस्था खस्किँदै जानेमा कुनै शंका छैन् ।

मानविकी विषयहरू विस्तारै हट्दै जानुमा पूर्णरुपेण विश्वविद्यालय र सरकार दोषी देखिन्छ । राराबमा मानविकी संकाय तर्फको अवस्थालाई हेर्दा निकै खस्किँदै गएको छ । मानविकी भवन खाली देखिन्छ । विगतमा रहेका मानविकी र विज्ञान हाल थलिएका छन् । मानविकी विषयहरूका अभावमा विस्तारै सामाजिकता खत्म हुँदै गएको छ भने भर्यादा, सम्मान, राष्ट्रप्रेम, अनुशासन, संस्कृति, परम्परा जस्ता कुरालाई निरन्तरता दिन मानविकीका विषयहरूलाई निरन्तरता दिनु पर्ने हो । यदि यस्ता विषयहरूलाई निरन्तरता दिन सकिएन भने भोलि हाम्रो समाज अझै उदण्डतातिर बढनेबाट कसैले रोक्न सक्दैन । हामी कहाँ छौं ? हाम्रो देश कहाँ छ ? विश्व के हो ? यस्ता प्रश्नहरूका जबाब मानविकी कै विषयबाट सिकाउन सकिन्छ ।

अन्तमा यस क्याम्पसको अवस्था विगत (२०७० भन्दा अघि) अति राम्रो थियो । यसको साख धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, उदयपुर, सिरहा र सप्तरीसम्म पुगेको थियो भने हाल धनुषामा सिमित भएको छ । यस्तै गुणस्तरमा यो क्याम्पस नेपालको आंगिक क्याम्पसहरूमध्ये अग्रीम पंक्तिमा थियो भने हालका क्याम्पस प्रमुख विद्यार्थी बढाउनु राम्रो काम गरेका भए पनि अब गुणस्तरतिर जानुपर्ने देखिन्छ । परीक्षाको अवस्था सुध्रिएन भने गुणस्तर बृद्धि हुन सकिँदैन । यसमा सरकारको सहयोग पनि उतिकै आवश्यक देखिन्छ । इतिश्री ।

Comment


Related News