वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रका नीजि र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका १२ हजार ९ सय ७४ जना छात्राहरुलाई एकै साथ आत्मारक्षाका लागि प्रशिक्षण कार्यक्रम गरेको छ । वीरगञ्जको आदर्शनगरस्थित रंगशालामा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डा.चिता यजनेश शेट्टीले छात्राहरुलाई प्रशिक्षण दिएका छन् ।
वीरगञ्ज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न तालिमको आज एक कार्यक्रमका बिच खानेपानी मन्त्रि प्रदीप यादवले उद्घाटन गर्दै सरकारले महिला सशक्तिकरणका लागि दिर्घकालिन रुपमा ठोस कार्यक्रम सञ्चालन गर्ने बताए । मन्त्री यादवले वीरगञ्ज महानगरपालिकाले एकसाथ नगरक्षेत्रका १२ हजार ९ सय ७४ छात्राहरुलाई तालिम दिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न लागेकोमा खुशी व्यक्त गर्दै तालिमले छात्राहरुलाई आत्माविश्वास बढाउने बताए ।
नेपालमा भारतका ख्यातिप्राप्त प्रशिक्षक आएर निशुल्क रुपमा तालिम दिदा दुई देश बीचको सम्बन्ध थप मजबुत बन्ने दाबी गर्दै सरकारले महिलालाई सशक्तिकरण गरी सक्षम बनाउने नीति लिएको उनको भनाइ छ । खानेपानी मन्त्री यादवले मधेसमा महिला हिंसाका घटना बढिरहेको बेला तालिमले अब महिला हिंसा सहन नसक्ने र सोको प्रतिकार गर्न सक्षम छन् भन्ने सन्देश समेत दिएको दाबी गरे । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले छात्राहरुलाई दिएको तालिम शुरुवात मात्रै भएको बताउँदै अब सामुदायिक तथा नीजि विद्यालयमा प्रत्येक हप्ताको शुक्रबार आत्मरक्षाको लागि मार्शल आर्टस् सम्बन्धमा तालिम दिइने बताए ।
मेयर सिंहले आजको मितिसम्म वीरगञ्ज महानगरपालिकामा तालिम लिनका लागि १५ हजार १ सय छात्राहरुले नाम दर्ता गराएकोमा १२ हजार ९ सय ७४ जनाको फारम गिनीज बुक अफ वल्र्ड रेकर्डमा पुगिसकेको जानकारी दिए । यसअघि भारतको आग्रा स्थित एक स्थानिय तहले एकसाथ ७ हजार ४ सय १ जना छात्राहरुलाई आत्मारक्षाको तालिम दिएर वल्र्ड रेकर्ड बनाएको थियो ।
सो अवसरमा मेयर सिंहले आफूले निर्वाचनको बेला वीरगञ्जका महिलाहरुलाई मध्यरातमा पनि निर्धक्कसंग हिड्नसक्ने वातावरण बनाउने प्रतिबद्धता अनुसार महिला र किशोरीहरुको मनोबल बढाउनका लागि आत्मरक्षाको तालिम शुरुवात गरेको बताए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले महिला दिदीबहिनीहरुले आत्मरक्षाका लागि सहभागी हुने हिम्मत जुटाएको धन्यवाद दिँदै तालिममा धेरै कुरा सिक्ने र आफ्नो सुरक्षा आफैले गर्न सक्ने क्षमता प्राप्त गर्ने उपायको बारेमा जान्ने बताए । तालिमका मुख्य प्रशिक्षक डा. यजनेश चित्ता सेट्टी अर्थात मास्टर चित्ताले महिला तथा किशोरीहरुलाई दिईने यो प्रशिक्षण भगवानलाई पूजा गरेको भन्दा धेरै आशिर्वाद पाए जस्तो हुने बताए ।
महानगरपालिकाका मेयर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु हजरा, बिना जयसवाल, प्रदेश सांसद बिणा शर्मा, पूर्वप्रदेश सांसद जन्नत अन्सारी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, भारतीय महाबाणिज्य दुत देबी सहाय विणा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले स्वागत गरे ।