अपडेट 
२०८१ कार्तिक ३०, शुक्रबार ०४:२१

मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकारले ४ महिना पूरा गरे पनि कामकाज सुस्त भएकाले सत्तारुढ दलका नेताहरु असन्तुष्ट बनेका छन् । मुख्यमन्त्री सतीशकुमार सिंह कै दल जनमत पार्टीका सभासदहरु बढी आक्रोशित देखिएका छन् ।

४ महिना बितिसक्दा पनि सरकारले गति लिन नसक्दा जनतामा चरम असन्तुष्टि देखिएको नेताहरुको ठहर छ । जनमत पार्टीको आह्वानमा सत्तारुढ गठबन्धन दलका नेताहरुको बिहीबार बसेको बैठकमा सरकारले कामकाज गर्न नसकेको भन्दै आलोचना गरिएको छ । जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवको अध्यक्षतामा बसेको सो बैठकमा सरकारले हालसम्म काम नै गर्न नसकेको नेताहरुले निष्कर्ष निकालेका छन् । उनीहरुले विकासको बजेट खर्च हालसम्म ५ प्रतिशत समेत हुन सकेको छैन ।

मुख्यमन्त्री भाषण बाहेक अन्य कुनै काममा चासो नदेखाएको दलका नेताहरुको आरोप छ । जनताले अनुभूति गर्ने र दीर्घकालीन असर हुने कार्यक्रमहरुलाई उपेक्षा गरिएको नेताहरुले स्वीकारेका छन् । ‘सरकारको कामकारबाही सुस्त हुनुको कारण पहिल्याउन मुख्यमन्त्री सिंहसहित सबै मन्त्रीहरुलाई राखेर छलफल गरिने सहमति भएको छ’ जनमत पार्टी दलका नेता यादवले भने, कुनै एकजनालाई दोष दिनुभन्दा सुस्त रहेको कारण पत्ता लगाइनेछ । नेता यादवले सरकार सुस्त भएको, बजेट खर्च गर्न नसकेको, काम प्रभावकारी नभएर जनतामा निराशै निराशा, गुनासै गुनासा रहेको विषय उठेको बताए । ‘काम गर्न नसकेकाले जनतामा सरकारप्रति निकै निराशा, गुनासा , विगतको सरकार भन्दा पनि खतम छन् भन्ने टिप्पणी हुन थालेको छ ’ उनले भने, नेतृत्वकर्ता दलको हैसियतले बदनामी हुन थालेपछि जनमत संसदीय दलको आह्वानमै गठबन्धनको बैठक बसेको हो ।’ संसदीय दलको बैठक जनमत पार्टी संसदीय दलको कार्यालयमा बसेको थियो ।

बैठकमा एमाले दलका नेता समेत रहेका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादव, नेपाली कांग्रेस दलका नेता एवं पूर्वमन्त्री कृष्णा यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दलका उपनेता उपेन्द्र महतोको सहभागिता रहेको थियो । सरकारले कामकाज अगाडि बढाउन नसकेको सबै नेताहरुको स्वीकारोक्ति रहेको लोसपा नेपालका उपनेता महतोले बताए । ‘सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीपनि सन्तुष्ट छैन’ उनले भने, बिहीबार दलका नेताहरुको बैठक जनमत पार्टीको अग्रसरतामा भएको थियो ।

बैठकमा मुख्यमन्त्री सहित सबै मन्त्रीलाई राखेर गठबन्धनका अन्य दलको कार्यालयमा बस्ने सहमति भएको उनले बताए । ‘आगामी बैठकहरुमा मुख्यमन्त्रीको अनिवार्य उपस्थिति गराइने छ’ महतोले भने, सत्तागठबन्धनको सबै विषय मुख्यमन्त्रीसित नै सम्बद्ध रहेकाले उनको अनिवार्य उपस्थिति गराइने सहमति भएको छ । मुख्यमन्त्री सिंह अचानक काठमाण्डु गएकाले बैठकमा ठोस निर्णय हुन सकेन ।

बैठक जनमत पार्टीले नै बोलाएकोले अन्य दलका नेताहरु समेत चकित थिए । उनीहरुले सरकारको गतिविधि प्रति अन्य दलहरुको तुलनामा जनमत पार्टीमा नै बढी आक्रोश देखिएको महसुस गरिएको बताए । मुख्यमन्त्री सिंहको पार्टी भित्र आलोचना व्यापक हुन थालेको बताइन्छ । मुख्यमन्त्रीको कामको पनि आन्तरिक रुपमा मूल्यांकन भइरहेको नेता यादवले बताए । ‘पार्टीमा सबैको मूल्यांकन हुने गर्छ ’ उनले भने, सरकारले गति नलिए पार्टीको पनि आलोचना हुन थालेको छ ।

बैठकमा सहभागी एकजना नेताका अनुसार जनमत पार्टी भित्रको कलहले सरकारमा असर परेको छ । मुख्यमन्त्री सिंह भाषणमुखी भएको र जनमुखी कार्यप्रति पूर्ण रुपमा उदासीन रहेकोले प्रदेशमा सरकार भएको अनुभूति जनताले गर्न नसकेको ती नेताले बताए । विगतमा पनि मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले स्पष्टीकरण सोधेको थियो । उनलाई भाषण केन्द्रित रहेको र विकासको बजेट सभासदहरुलाई बितरण गरेको आरोप पार्टीले सार्वजनिक रुपमा लगाएको थियो । तर मुख्यमन्त्री त्यो प्रकरणमा पार्टीका राष्ट्रिय अध्यक्ष डा.सी.के.राउतलाई ‘म्यानेज’ गरेको थियो । तर यस पटक अध्यक्ष राउतकै निर्देशनमा गठबन्धन दलका नेताहरुको बैठक बोलाइएको बताइएको छ ।

अनौपचारिक रुपमा जनमतका एकजना सभासदले यसको पुष्टि पनि गरेका छन् । पछिल्लो असन्तुष्टिलाई मिलाउन मुख्यमन्त्री बिहीबार नै काठमाण्डु गएका छन् । उनले अध्यक्ष राउतलाई विश्वासमा लिने हरसम्भव प्रयास गर्ने बताइएको छ । तर प्रदेशमा बजेट नचलेको कारण मुख्यमन्त्री सिंहले सरुवा बाहेकमा ‘कमाई’ गर्न नसकेको स्रोतले जनाएका छन् ।

स्रोतका अनुसार नेकपा एमाले र नेपाली कांग्रेसबाट मन्त्री भएकाहरुले मुख्यमन्त्री सिंहलाई टेर्दैनन् । सरुवामा सर्वाधिक रकमको चलखेल अर्थ र स्वास्थ्य मन्त्रालयमा भएको छ । अर्थमन्त्री सुनिल कुमार यादव र स्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिंह कोइरीले सरुवा र नियुक्तिमा खुलेआम रकम असुल्ने गरेको आरोप छ ।

Comment


Related News

Latest News

Trending News