अपडेट 
२०८१ मंसिर १, शनिबार ०७:१९

जनकपुरधाममा हुने विवाहपञ्चमी महोत्सवमा प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट जन्ती आउने भएपछि सोको स्वागत तयारीमा पालिकाहरु जुटेका छन् ।

महोत्तरीको मटिहानी, जलेश्वर तथा पिपरा पालिकाहरु अयोध्याबाट आउने जन्तीको स्वागतका लागि तयारी गर्न सर्वपक्षीय छलफल गरेको छ । यही मङ्सिर २१ गते हुने विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्याबाट सयौँको जन्ती नेपालको मटिहानी, जलेश्वर, पिपरा हुँदै जनकपुर पुग्ने कार्यक्रम तय भएपछि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकाले तयारी थालेको छ ।

भारतको अयोध्याबाट आउने जन्तीहरु मङसिर १७ गते नेपाली भूमिको जिल्लाको मटिहानीमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । मटिहानी नगरपालिकाले स्वागतसहित रात्रि विश्रामको व्यवस्थापन गर्नेछ । त्यसदिनको विश्रामपछि १८ गते मटिहानी हुँदै जलेश्वर गएपछि त्यहाँ पनि जन्तीलाई स्वागतसहित चिया तथा नास्ता र पिपरा पालिकामा भोजनको व्यवस्थापन गरिने कार्यक्रम रहेको जनाइएको छ ।

मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले पालिकामा एउटा बैठक राखेर विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आउने जन्तीको स्वागतको तयारीबारे छलफल गरी विभिन्न निर्णयहरु गरेको जानकारी दिए । सयौँको संख्यामा विवाहपञ्चमीमा आउने जन्तीहरुलाई मटिहानी नगरपालिकाले स्वागत, जलेश्वर नगरपालिकाले नास्ता र रात्रिको भोजन पिपराले गर्ने भएको छ ।

प्रत्येक पाँच वर्षमा जनकपुरधाममा हुने विवाहपञ्चमी समारोहमा सहभागी हुनका लागि अयोध्याबाट जन्तीहरु आउने परम्परा अनुरुप यसवर्ष पनि जन्ती आउने छ । सोही अनुरुप स्वागत तथा सत्कारको लागि विभिन्न समिति बनाइएको मटिहानी नगरपालिकाका मेयर मण्डलले बताए । उनले जन्तीको स्वागतमा मटिहानीमा सरसफाईसहित दीपावली मनाउने कार्यक्रम समेत तय गरिएको बताउँदै प्रत्येक पाँच वर्षमा अयोध्याबाट आउने जन्तीहरुलाई स्वागत गर्न पाउँदा मटिहानीवासी हर्षित भएको बताए ।

मटिहानीमा आउने जन्तीहरुलाई लक्ष्मीनारायण मन्दिरमा पूजापाठसंगै लक्ष्मीनारायण पोखरीमा हुने आरतीमा सम्मिलित गराइने गरी कार्यक्रम तय गरिएको जानकारी जनाएको छ । नेपालको मुख्य प्रवेशमार्ग मटिहानी रहेकोले जन्तीहरुलाई नेपालको भूमिमा हुने आतिथ्यताको स्वागतका लागि भव्य तयारी थालेको बताए । जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले जन्तीको स्वागतको लागि सरसफाईसँगै जलेश्वरनाथ महादेव मन्दिरमा पुजापाठको व्यवस्थापन गरिने बताए ।

Comment


Related News