अपडेट 
२०८१ मंसिर १, शनिबार ०७:२५

दाजुभाई तथा दिदीबहिनीप्रतिको प्रेम, स्नेह र समर्पणस्वरुप रहेको सामाचकेवा पर्व सम्पन्न भएको छ । कार्तिक शुक्ल पञ्चमी दिनदेखि सुरु भएको सामाचकेवा पर्व कार्तिक पूर्णिमामा समापन गरिने परम्परा छ । यही परम्पराअनुसार मिथिलानी समाचकेवा पर्व समापन भएको छ ।

दिदीबहिनीहरुले सामा खेलमा प्रयोग गर्ने सतभैया, हात्ती, वृन्दावन, चुगला, सामा र चकेवाका माटाका आकृति दाजुभाइबाट फुटाउन लगाइ जोतिएको खेत वा निर्जन वन तथा खेतमा गाड्ने परम्परा रहेको छ । सो पर्व समापनको अवसरमा दिदीबहिनीले दाजुभाईको दीर्घायुको कामना गर्दै मीठा परिकार खाने कुराहरु दिन्छन् ।

दाजुभाईले गच्छेअनुसार दिदीबहिनीलाई उपहार पनि दिने चलन छ । छठ पर्वदेखि सुरुदेखि कार्तिक पूर्णिमाको दिनसम्म सामाचकेवा खेल्दै दाजुभाईको दीर्घायुको कामना गरी दिदीबहिनीहरुले मनाउने गर्छन् । मिथिला क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाईको सौर्यको वर्णन गर्दै गीत गाएर मनाइने यो पर्व दाजुभाई दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिन्छ ।

बोलीचालीमा ‘सामा खेल’ पनि भनिने यो पर्व दिदीबहिनी र दाजुभाइका लागि आपसी सद् भाव व्यक्त गर्ने उपयुक्त अवसर मानिन्छ । दिदीबहिनीहरुले मध्यरातसम्म चौबाटोमा समूहमा एकत्र भएर आफ्ना दाजुभाईको पराक्रमको वर्णन गर्दै दुष्ट चरित्रलाई सत्तोसराप गरेर आफूहरुबीच पवित्र र आत्मीय स्नेह रहेको दर्शाउनु पर्वको मुख्यपक्ष रहेको मिथिलानी बताउँछन् ।

गीतमार्फत आफूहरुप्रति दिदीबहिनीले दर्शाएका प्रेम र समर्पण भावले आफूहरूको मनोवल सधैँ उच्च रहने मैथिल युवा भङ्गाहा–४ रामनगरका ३० वर्षीय रामईश्वर ठाकुर बताउँछन् । दाजुभाई दिदीबहिनीप्रतिको स्नेह प्रेम दर्शाउने सामाचकेवा पर्व करिब साढे पाँचहजार वर्ष पहिले द्वापर युगबाट सुरु भएको मानिन्छ ।

द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधरसँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटेले कृष्णलाई सुनाउँदा छोरी स्वच्छन्द प्रवृत्तिकी भएको झोँकमा दुवैलाई सामा र चकेवा हुने श्राप दिएको पौराणिक कथा छ । श्रीकृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्वयोनीमा आएर विवाह गर्न पाएका वर्णन पनि पुराणमा पाइन्छ ।

दाजु साम्बको त्यही गुनलाई सम्झदै सामाले गाएकी गीतको यादमा दाजुभाईप्रति कृतज्ञता जनाउन सामाचखेवा पर्वको परम्परा बसेको मिथिला परम्परा रहेको छ ।

Comment


Related News

Latest News

Trending News