मङ्सिर १५ गतेबाट हुन लागेको एनपीएल अन्तर्गत फ्रेन्चाइज टिमको रुपमा सहभागी हुन लागेको जनकपुर बोल्टस्को जर्सी जनकपुरधाममा सार्वजनिक गरिएको छ ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवाल तथा जनकपुर बोल्टस् कप्तान आशिफ शेखले विशेष कार्यक्रमका बीचमा जर्सी सार्वजनिक गरेका छन् । कार्यक्रममा टिमका तर्फबाट फेस अफ दि बोल्टस् अन्डर १९ महिला टिमका कप्तान पूजा महतो घोषणा गर्नुका साथै अन्डर १९ महिला वल्ड कपमा क्वालिफायर गरेकोमा टिमका तर्फबाट महतोलाई नगद ५० हजार सहित सम्मानित गरिएको थियो ।
प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले मधेश प्रदेश सरकारले मधेशमा खेलकुदको विकास गर्नका लागि केही दिन अगाडि मात्र खेलकुदको विधेयक प्रदेश सभाबाट सर्वसम्मतिले पारित गरेर प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशनको क्रममा रहेकाले विधेयक खेलकुदको विकासका लागि कोशेढुङ्गा सावित हुने बताए ।
नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले मधेश प्रदेशमा खेलकुदको व्यापक सम्भावना भएको बताउँदै प्रदेश सरकारले खेलकुदको विकासमा अझ बढी सक्रियता देखाउन आवश्यक भएको धारणा राखे । जनकपुर बोल्ट्सका डाइरेक्टर अलि श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डल, भङ्गहा नगरपालिका प्रमुख सञ्जीव कुमार साह, नेपाल क्रिकेट संघका मधेश प्रदेश अध्यक्ष सुनिल महासेठ र अन्डर १९ महिला टिमका कप्तान पूजा महतोले नेपालका क्रिकेट खेलको व्यापक सम्भावना भएको बताए ।