अपडेट 
२०८१ मंसिर ४, मंगलवार ०५:४५

उम्मेदवारी दर्ता संगै सप्तरीको डाक्नेश्वरी नगरपालिकाको २ वटा वडामा चुनावी गतिविधि बढेको छ । उक्त पालिकाको १ र ४ गरी दूई वडामा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको छ । निर्वाचन हुने ती दुबै पदमा यसअघि काँग्रेसका क्रमशः प्रितम लाल चौधरी र हरि प्रसाद राय चुनाव जितेका थिए । चौधरी र राय दुबैको निधन भएका कारण रिक्त हुन गएको पदका लागी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको छ ।

यसअघि ती दुबै पद काँग्रेसले जितेकाले यसलाई कायम राख्न र निरन्तरता दिन काँग्रेसमाथि चर्काे दबाव छ । काँग्रेसले वडा न १ बाट भुलिया देवी चौधरी र ४ बाट जोगेन्द्र रायलाई उम्मेदवार बनाएको छ । भुलिया देवी निधन पूर्व वडाअध्यक्ष प्रितमलाल चौधरीका श्रीमती हुन् । उनी एकमात्र महिला उम्मेदवार हुन् ।

जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीका अनुसार आईतवार तोकिएको समय भित्र भएको मनोनयन दर्ता गर्ने १७ मध्ये नेपाली काँग्रेसकी भुलिया देवी चौधरी उम्मेदवारी दर्ता गराउने एक मात्र महिला उम्मेदवार रहेकी छन् । जनमत पार्टीले यहाँबाट वडा नं. १ मा शैलेन्द्र कुमार साह र ४ नं वडामा उदय नारायण पण्डितलाई चुनावी मैदानमा उतारेको छ ।

नेकपा एमालेले वडा नं १ बाट भगवानी साह र ४ बाट संजय कुमार यादवलाई उम्मेदवार बनाउँदा नेकपा (माओवादी केन्द) ले वडा नं.१ बाट प्रमोद कुमार सन्त र ४ बाट भागवत रामलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं.१ बाट सतिष कुमार चौधरी थारु र ४ बाट राम कुमार यादवलाई उम्मेदवार बनाएको छ ।

नागरिक उन्मुक्ती पार्टीले वडा नं.१ बाट अनरुद्ध प्रसाद चौधरी र ४ बाट शिव कुमार रामलाई उम्मेदवार बनाएको छ । यहाँ जसपा नेपालबाट छुट्टिएर अशोक राई नेतृत्वमा बनेको जसपाले पनि उम्मेदवार खडा गरे पछि चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । जसपाले वडा नं.१ बाट कसैलाई उम्मेदवार न बनाएपनि ४ बाट भने रवीन्द्र यादवलाई चुनावी मैदानमा उतारेको छ । जस कारण जसपा नेपालको उम्मेदवारलाई चिन्ता बढाएको छ । यहाँ २ स्वतन्त्र सुशिला साह र सियाकान्त चौधरीले पनि उम्मेदवारी दिएका छन् ।

यसरी २ पदका लागी हुने निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । अहिले सबै उम्मेदवार र दलका नेताहरु घर–दैलो कार्यक्रम सहित चुनावी रणनीति बनाउन व्यस्त भएका छन् । आफ्ना प्रतिनिधि छान्ने ५ वर्षमा दोश्रो पटक अवसर पाउँदा मतदाता पनि उत्साहित छन् । उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ मा २ हजार ६ सय ३५ र वडा नं. ४ मा १ हजार दुई सय ८१ मतदाता छन् । मतदानका लागि तीन मतदान स्थल र पाँच मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News