अपडेट 
२०८१ मंसिर ५, बुधबार १४:२२

भारतका गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीहरूलाई धम्की आएको खुलेको छ।

विश्नोईको नाममा धम्की आएको भन्दै व्यवसायीहरूले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उजुरी गरेका छन्।

सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार चार जना व्यवसायीले उजुरी गरेका छन्।

‘केही समयअगाडि नै हाम्रोमा उजुरी आएको थियो। तीन/चार वटा उजुरी आएका छन्,’ उनले भने, ‘हामीले अनुसन्धान गरिरहेका छौं।’

लरेन्स विश्नोई भारतमा पछिल्लो समय चर्चामा रहेका गुण्डा नाइके हुन्। उनी हाल भारतको जेलमा छन्।

तर जेलभित्रैबाट उनले आफ्नो समूह परिचालन गर्दै आएका छन्। उनको समूहमा ७ सयभन्दा धेरै जना मानिस रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ। क्यानडा, इटाली, अस्ट्रेलियासम्म उनको पहुँच रहेको समाचारमा उल्लेख छ।

लरेन्स विश्नोईले सन् २०१८ मा सलमान खानको हत्या गर्ने योजना बनाएका थिए। उनले पटक/पटक मार्ने धम्की दिँदै आएका छन्।

यस्तै, ६६ वर्षीय पूर्वमन्त्री बाबा सिद्दिकीको हत्यामा उनकै ग्याङको संलग्नता छ। त्यस्तै, भारतका चर्चित गायक सिद्धु मुसेवालाको सन् २०२२ मा हत्या भएको थियो। यसमा पनि सोही ग्याङको संलग्नता रहेको छ।

Comment


Related News