अपडेट 
२०८१ मंसिर ६, बिहीबार ०७:०८

भारतबाट नेपालमा सुन तस्करी भइरहेको बेला नेपालबाट लहसुनको तस्करी बढेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए अनुसार भारत तर्फ जान लागेको ट्रकको जाँच गर्ने क्रममा साढे नौ क्विन्टल लहसुन बरामद भएको हो । प्रहरीले सोमवार नै लहसुन सहितको ट्रक नियन्त्रणमा लिए पनि बुधवार मात्र सार्वजनिक गरेको हो ।बरामद गरिएको लहसुन र ट्रकको मुल्यांकनगरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ ।

लहसुन लोड भएको ट्रकलाई सीमावर्ती क्षेत्र ब्रम्हपुरीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका वडा नम्वर ५ को सखुअवा टोल स्थित नेपाल भारत सीमाक्षेत्रबाट प्रदेश ०२–०४–००१ ख ००६९ नम्वरको ट्रकलाई चेकजाँच गर्ने क्रममा नक्कली बिलबिजक भएको र साढे नौ टन लहसुन लोड भएको फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका लहसुनको बजार मूल्य १९ लाख र ट्रकको २१ लाख गरी ४० लाख मूल्य कायम गरेर आवश्यक कारबाहीका लागि मलंगवा भन्सार कार्यालयमा दाखिला गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जनाएका छन् ।

यसैगरि पर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ झौवाँ गाँउबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भारी परिमाणमा लहसुन बरामद गरेको छ । भारतमा तस्करी गर्नका लागि सीमा नाकामा पर्ने झौवाँ गाँउस्थित योगेन्द्र यादवको कुखुरा फर्ममा भण्डारण गरेर राखिएको अवस्थामा १ सय २ बोरा लहसुन बरामद गरिएको हो । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरीको संयुक्त टोलीले १७ क्वीन्टल ८० किलो लहसुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक भारतीले जनाए । उनका अनुसार, बरामद लहसुनको बजार मूल्य ४ लाख ८० हजार ६ रुपैयाँ रहेको छ ।

Comment


Related News

Latest News

Trending News