जनकपुरधामका महिलाहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरिएको छ ।
बुधबार जनकपुरधाममा मिडिया हाउस नेशनल इन्स्टिच्युट फर करियर डेभलपमेन्टको आयोजना तथा नबिल बैंक लिमिटेडको सहकार्य तथा जनकपुर जेसिजको सहयोगमा आयोजित महिलाका लागि वित्तीय साक्षरतासम्बन्धी एक दिवसीय तालिममा मधेशका ४० भन्दा बढी महिलाले तालिम लिएकी छन् ।
तालिमबाट महिलाले वित्तीय योजना, बचत, लगानी र उद्यमशीलताको आधारभूत ज्ञान हासिल गरेका छन् ।वित्तीय साक्षरता तालिमले महिलाहरूको आत्मनिर्भरता बढ्ने, घरेलु व्यवसायको विकासमा प्रोत्साहन हुने, वित्तीय पहुँच नपाएका ग्रामीण महिलालाई बैंक र सहकारी संस्थासँग जोड्न सकिने तथा मधेशको समग्र आर्थिक विकास र महिला सशक्तीकरणलाई बलियो बनाउन सकिने तालिमको उद्देश्य छ ।
तालिमका आयोजक संस्था मिडिया हाउसका कार्यकारी निर्देशक सहनशीला शर्माले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन वित्तीय साक्षरता नै पहिलो कदम रहेको बताउदै यो तालिमले मधेशका महिलाहरूलाई परिवार र समुदायमा आर्थिक निर्णय लिने क्षमतामा सुधार गर्ने विश्वास व्यक्त गरिन् ।
मिडिया हाउसले गत शनिबारदेखि नै धनुषा तथा महोत्तरीका विभिन्न स्थानमा महिलालाई वित्तीय साक्षरतासम्बन्धी तालिम दिँदै आएको छ । जसमा अढाइ सयभन्दा बढी महिलाले वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण लिएकी छन् । बुधबार आयोजित तालिमका लागि जनकपुर जेसिजले र यसअघि आयोजित तालिमलाई एभरेष्ट बैंक लिमिटेडले सहकार्य गरेको थियो भने स्थानीय तहमा जनकपुरधाम उद्योग वाणिज्य सङ्घ, जलेश्वर उद्योग वाणिज्य सङ्घले सहयोग गरेको थियो ।
प्रशिक्षण कार्यक्रममा मिडिया हाउसका पदाधिकारी उज्वलराज गौतम, उषा श्रेष्ठ, जेसिजका अध्यक्ष यातोषकुमार साह तथा प्रशिक्षकका रुपमा विनोद अधिकारीको उपस्थिति थियो ।