अपडेट 
२०८१ मंसिर ६, बिहीबार ०७:२५

मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्रीले मधेशको कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्ने जोड दिएका छन् ।

राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित दुईदिने प्रदेशस्तरीय प्रविधि हस्तान्तरण कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । मन्त्री क्षेत्रीले मधेशको कृषि क्षेत्रलाई उकासेर सकारात्मक परिणाम ल्याउन अनुसन्धान खाँचो रहेको बताए । उनले प्रविधिको युगमा कृषिलाई पनि प्रविधिमैत्री बनाउन सके यस क्षेत्रमा फड्को मार्न सकिने र यहाँका किसानलाई कृषि कार्यमा सहज हुने बताए ।

कृषिमन्त्री सिंहले कृषि क्षेत्रलाई बलियो बनाउन अनुसन्धान आवश्यक भएकाले अनुसन्धान गर्ने विषय स्पष्ट हुन जरुरी रहेको प्रसंग उल्लेख गरे । उनले अनुसन्धान नभएका कारण केही प्रदेशका कृषि योजना असफल भएको उदाहरण दिदै मधेशको कृषि क्षेत्रलाई उकास्न आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाए ।

पशुपन्छी विकास तथा मत्स्य विकास निर्देशनालय मधेशका निर्देशक जागेश्वर यादवले अनुसन्धान बिना कृषि क्षेत्रको विकास असम्भव रहेको दाबी गरे । मधेशमा प्रविधिमैत्री र किसानमैत्री कुनै कार्यक्रम नरहेको बताउदै उनले तीनै तहको सरकार र कृषि क्षेत्रमा काम गर्ने संस्थाले एकअर्काको संवाहकका रूपमा काम गर्न आवश्यक रहेको बताए ।

प्रदेश दुग्ध विकास बोर्ड मधेशका उपाध्यक्ष शम्भुनारायण शाहले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा भएका अनुसन्धान प्रदेश र प्रदेशले स्थानीय तहसम्म पु– याउने व्यवस्था मिलाउन आग्रह समेत गरे । कार्यव्रmमका सभापति तथा राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. नीना अमात्य गोर्खालीले मधेशलाई प्राथमिकतामा राखेर गत वर्ष स्थानीय तह र यस वर्ष प्रदेशस्तरीय कार्यक्रमको आयोजना गरेको उल्लेख गरे ।

उनले कृषि अनुसन्धानमा राखेको बजेट पर्याप्त नभएको बताउदै सरकारले कृषि क्षेत्रको विकास उकास्न कृषि अनुसन्धानका लागि पर्याप्त बजेट विनियोजन गर्न आवश्यक रहेको विचार व्यक्त गरे । मधेश प्रदेशका आठवटै जिल्लाका पशु विज्ञान र मत्स्य विकासका विज्ञको सहभागितामा नार्कले विकास गरेका पशु तथा मत्स्यसम्बन्धी आधुनिक नवीनतम प्रविधिमा अन्तरक्रिया गरिएको थियो ।

सहभागीले कृषि प्रविधिसँग आफूहरूलाई जोड्न आग्रह समेत गरेका थिए । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. विनयकुमार कर्ण, कृषि अनुसन्धान निर्देशनालय मधेशका निर्देशक विश्वेश्वरप्रसाद यादव, राष्ट्रिय धानबाली अनुसन्धानका निमित्त संयोजक पल्लवी सिंहसहितको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News