अपडेट 
२०८१ मंसिर ७, शुक्रबार ०६:५१

चार दिनदेखि ठप्प रहेको संस्थागत विद्यालय अझैसम्म पनि खुल्ने छाँटकाँट देखिएको छैन । छात्रवृत्तिको विषयलाई लिएर संस्थागत विद्यालयका संचालकहरुको संगठनले गरेको आह्वानमा ठप्प रहेको विद्यालय सञ्चालनका लागि भएको वार्ता निष्कर्षविहीन टुंगिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका र संस्थागत विद्यालय संगठनहरुको बिहीबार बसेको बैठक दुई घण्टाभन्दा लामो समयसम्म चले पनि विद्यालय सञ्चालकहरुबीच कुरा नमिल्दा वार्ता निष्कर्षविहीन टुंगिएको छ ।

संस्थागत विद्यालयहरुले भर्नालगायतका चर्को शुल्क लिने गरेको भन्दै नेपाल विद्यार्थी संघले जनकपुरधाम उपमहानगरपालिकासंग सम्झौता गरेको थियो । सो सम्झौताको विरोध गर्दै संस्थागत विद्यालयहरु चार दिनदेखि विद्यालयको अध्ययन अध्यापन ठप्प पार्दै आन्दोलनमा उत्रेका छन् ।

संस्थागत विद्यालयले थालेको आन्दोलनको विरुद्धमा नेविसंघले सडकमै आन्दोलन गर्न थालेपछि जनकपुरधाम उपमहानगरपालिकाले वार्ताका लागि आह्वान गरेको थियो । सो बैठकमा सहभागी रहेका प्याबसन धनुषाका अध्यक्ष रविन्द्रकुमार चौधरीले दिएको जानकारी अनुसार छात्रवृत्तिमा देखिएको समस्याहरु र संस्थागत विद्यालयका संगठनहरुको एजेण्डामाथि सकारात्मक छलफल भएको छ । उनीहरुको समस्या समाधानका लागि दुवै पक्ष सकारात्मक देखिए पनि विद्यार्थीसंग जनकपुरधाम उपमहानगरपालिकाले तीनवटै पक्षलाई संयुक्त रुपमा बैठकका लागि बोलाइने छलफल भएको जनाइएको छ ।

बैठकमा जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साह, उपमेयर किशोरी साह, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, जिल्ला प्रहरी कार्यालयको प्रतिनिधि, शिक्षा समन्वय इकाइका प्रमुख, हिसान, प्याबसन, एनप्याबसन, मधेश प्याबसनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

संस्थागत विद्यालयहरुसंग समन्वय नगरी कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरुको छात्रवृत्ति सम्बन्धी सम्झौता गरेपछि संगठनहरु संयुक्त रुपमा आन्दोलित छन् । यता नेवि संघले जनकपुरधाम उपमहानगरपालिकासंग भएको सो सम्झौता कार्यान्वयनको माग गर्दै सडकमा उत्रेका छन् । संगठनहरुको आन्दोलनको कारण संस्थागत विद्यालयमा पठनपाठन बन्द छ ।

संस्थागत विद्यालयका संगठनहरुले नेविसंघसंग जनकपुरधाम उपमहानगरले गरेको छात्रवृत्ति सम्बन्धी सम्झौता फिर्ता लिनुपर्ने, उपमहानगरले आफ्नै छात्रवृत्तिका लागि कार्यविधि बनाउनु पर्ने र सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयसंग जनकपुरधाम उपमहानगरपालिकाले समान व्यवहार गर्नुपर्नेलगायतको एजेण्डा रहेको हिसान धनुषाका अध्यक्ष संजीव ठाकुरले जनाए । आफूहरुले ६ बुँदे माग राखेको र माग पूरा नभएसम्म विद्यालय नखुल्ने एनप्याबसन जनकपुरधामका अध्यक्ष दीपक ठाकुरले बताए ।

उनले शुक्रबार पनि बैठकमा छलफल हुने बताए ।

Comment


Related News

Latest News

Trending News