मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।
प्रसाईं क्यान्सरको बिरामी रहेको हुँदा उपचारको प्रबन्ध मिलाउन पनि इजलासले आदेश दिएको अदालतका सूचना अधिकारी मेलिश बाँस्कोटाले जानकारी दिए।
‘क्यान्सरको बिरामी रहेको हुँदा आवश्यक उपचारको प्रबन्ध मिलाउनू,’ आदेशमा भनिएको कुरा उदृत गर्दै बाँस्कोटाले भने।
उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ। यसअघि आइतबार नै सर्वोच्च अदालतले उनलाई उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको हो।
इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ।
उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए।
सिआइबीले दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनीमाथि प्रहरीले अन्य कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरिरहेको छ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी गरेको भन्दै भाषण गरेका थिए। उनले आफ्नो सामाजिक सञ्जालमा भिडिओमार्फत अपुष्ट ‘स्क्रिनसट’समेत देखाएका थिए।