अपडेट 
२०८१ मंसिर ११, मंगलवार ०६:५१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेश सरकारको विकल्प खोज्ने संकेत गरेका छन् ।

जनकपुरधाममा सोमबार पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकारको विकल्प खोज्ने संकेत दिएका छन् । तर कांग्रेस एक्लैले प्रदेश सरकारको विकल्प खोज्न चाहेर नहुने बताए । पटकपटक सतीशकुमार सिंह नेतृत्वको प्रदेश सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका सत्तारुढ दल नेपाली कांग्रेसले मधेश सरकारबारे पहिलोपटक सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै प्रदेश सरकारको विकल्प खोज्न तयार रहेको संकेत दिए ।

यसअघि कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि जनमत पार्टी नेतृत्वको सरकारको अपरादर्शी कार्यशैली र स्वेच्छाचारी ढंगले प्रदेश सरकार चलाएको आरोप लगाउँदै नेतृत्व परिवर्तनको लागि केन्द्रीय नेतृत्वतहमा समेत छलफल भइरहेको बताएका थिए ।

जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंगको संक्षिप्त कुराकानीमा सत्ता गठबन्धनमा कुनै खटपट नभएको बताउँदै सभापति देउवाले भने, ‘संघीय सरकारमा कुनै खटपट छैन । यो गठबन्धन रहिरहन्छ,’ मधेश प्रदेश सरकारको परिवर्तनको सवालमा सभापति देउवाले भने, ‘मधेश प्रदेश सरकारको हकमा भने कांग्रेसको निर्णयले पुग्दैन । अरु दलहरुले पनि निर्णय गर्नुपर्ने हुन्छ ।’ उनले सत्ता गठबन्धन दलबीच सहमति भएपछि मधेश प्रदेश सरकार फेरिने प्रस्ट्याए । सभापति देउवाले प्रदेशमा सरकार परिवर्तन हुँदा कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरे ।

त्यस्तै अर्कोतर्फ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ स्थित लोहनामा निर्माण भएका प्रजातान्त्रिक योद्धा स्व. अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्दै सभापति देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा शहीद हुनेहरूले देखाएको बाटोमा सबै हिँड्न जरुरी रहेको बताए ।

कांग्रेसका नेता एवं राष्ट्रिय सभाका पूर्व सदस्य स्व. ठाकुरको अर्धकदको प्रतिमा अनावरण गर्ने क्रममा लोकतान्त्रिक सरकारलाई अपदस्त गरेका राजा महेन्द्रमाथि कांग्रेसको सशस्त्र आन्दोलनको क्रममा बम प्रहार गर्नका लागि खटिएर पक्राउ परी १६ वर्षसम्म कठोर जेलजीवन बिताएका स्वर्गीय ठाकुर जस्ता नेताका कारण नै मुलुकमा संघीय लोकतान्त्रिक अभ्यासमा हामीहरू रहेको सभापति देउवाले स्मरण गरे ।

उनले मुलुकमा विभिन्न परिवर्तनको लागि शहीद भएका र जेलनेल सहितको यातना पाएकाहरूको कारणले धेरै परिवर्तनहरू भएको भन्दै उनले जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य भएको बताए ।

कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक शासन व्यवस्थाका लागि ठूलो योगदान दिएका स्वर्गीय नेता ठाकुरको सपना साकार पार्न संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन जरुरी रहेको बताए ।

पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले नेपाली कांग्रेसले नै मुलुकमा विकासका ठूला परियोजनाहरूको निर्माणका साथै जनतालाई अधिकारसम्पन्न बनाएको बताए । अहिले पनि देश तथा मधेशको हित चाहने पार्टी कांग्रेस नै भएको उनले दाबी गरे ।

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य आनन्द प्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य मिनाक्षी झा, स्वर्गीय ठाकुरका छोरी एवं संविधान सभाका सदस्य रश्मि ठाकुर, कांग्रेस प्रदेश सभापति कृष्ण प्रसाद यादव, प्रतिमा निर्माणमा बजेट दिएका पूर्व मन्त्री रामसरोज यादव, जनकपुरधामका मेयर मनोज कुमार साहले पनि स्व. ठाकुरको योगदारबारे चर्चा गरेका थिए ।

Comment


Related News

Latest News

Trending News