धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–१ मा वडाअध्यक्षको लागि हुने स्थानीय तहको उपचुनावमा मुख्य दलबीच प्रतिस्पर्धा देखिएको छ । चुनाव नजिकिंदै जाँदा मतदाता फकाउन उम्मेदवारहरु घरलैलोमा व्यस्त छन् ।
धनुषाधाम– १ मा निरन्तररुपमा नेपाली कांग्रेसले जित्दै आएको छ । त्यसैले कांग्रेसले आफ्नो क्षेत्रलाई निरन्तरता दिनका लागि सक्रिय देखिएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु उनलाई पछ्याइरहेका छन् ।
नेकपा एमालेबाट प्रमोद यादव, कांग्रेसबाट अशोककुमार मण्डल, नेकपा माओवादी केन्द्रबाट सुनिल कापर केवट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रामनरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रामदेवसिंह दनुवार, जसपा नेपालबाट अजयकुमार यादव, जनमत पार्टीबाट कुशेश्वर मण्डल, बहुजन एकता पार्टीबाट प्रमिला कुमारी सदा उम्मेदवार छन् । भने स्वतन्त्र उम्मेदवारहरु पनि तामझामसहित सक्रिय छन् ।
कांग्रेसका उम्मेदवार मण्डलले विगतमा पनि कांग्रेसका वडाअध्यक्षले गरेका राम्रा कामको जस जनतामा पाउने गरेको र बाँकी कामको अभिभारा जनताले पूरा गर्ने पक्षमा जनता देखिएको बताए । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका विश्वनाथ यादव ठूलो मतान्तरले निर्वाचित भएका थिए । उनले ६१८ मत ल्याएर वडाध्यक्ष जित्दा निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार प्रमोद यादवले ३७७ मा मत पाएका थिए भने ३६९ मतसहित तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका सुनिल कापर केवट उपनिर्वाचनमा पनि उम्मेदवार बनेका छन् ।
एमालेका उम्मेदवार प्रमोद यादव जस्तै माओवादी केन्द्रका उम्मेदवार सुनिल कापरले घरदैलो सकाइसकेका छन् । उनले आफ्नो पक्षमा माहोल बनाउन भेटघाटलाई तीव्रता दिएको बताए ।
माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा एकीकृत समाजवादीले समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।
नेकपा एसबाट मनोनयन दर्ता गराएका गोपाली साहले माओवादी उम्मेदवार कापरलाई समर्थन गरी उम्मेदवारी फिर्ता लिएका थिए ।
बिरासत जोगाउन कांग्रेस चुनावी तयारीमा जुटेको छ । कांग्रेसका उम्मेदवार अशोक विगतमा पनि कांग्रेसका वडाअध्यक्षले गरेका राम्रा कामको जस जनतामा पाउने गरेको र बाँकी कामको अभिभारा जनताले पूरा गर्ने पक्षमा जनता देखिएको मण्डलको भनाइ छ ।
राजनीतिक दलका नेताहरुले आ– आफ्नो पार्टीका उम्मेदवारलाई जिताउनका लागि दौडधुपलाई बढाएका छन् ।