अपडेट 
२०८१ मंसिर १३, बिहीबार ०७:४८

पर्साको वीरगञ्जबाट एक युवालाई सुनको चोरी पैठारी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको वीरगञ्ज–१५ भेडीयाहीका २८ वर्षीय जयप्रकाशकुमार सोनारलाई बुधबार वीरगञ्ज–८ को लिंक रोडस्थित सानिमा बैंक अगाडिबाट प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले १ सय ७ ग्राम ८९ मिलिग्राम सुन फेला परेको जनाएको छ ।

सुनको तस्करी भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मंगलबार दिउँसो ३ बजेर ४० मिनेटमा सोनारलाई पक्राउ गरेको छ । शंकास्पद रुपमा आउँदै गरेको ना ६२ प २७०५ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा सोनारले लगाएको कालो जिन्सको पाइन्टको खल्तीमा कागजमा बेरेर राखिएको सो परिमाणको सुन फेला परेको थियो ।

बरामद भएको सुन परीक्षणका लागि सुनचाँदी व्यवसायी संघ पर्सामा पठाइएकोमा संघको मंगलबार प्राप्त पत्रबाट सो बस्तु सुन रहेको र त्यसको बजार मूल्य १३ लाख ८८ हजार ४ सय ३६ रुपैयाँ रहेको भन्ने परीक्षण प्रतिवेदनबाट खुलेको छ ।

सुनको साथमा सुनको खरिद बिक्रीको कागजात नरहेकाले सो सुन बोक्न प्रयोग भएको मोटरसाइकलको मूल्य एक लाख कायम गरी सोनारलाई थप अनसुन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

Comment


Related News