अपडेट 
२०८१ मंसिर १४, शुक्रबार ०७:२९

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रहरीलाई होच्याउने अभिव्यक्ति दिएर सुरक्षा निकायको मनोबल खसाउने काम गरेको भन्दै आलोचना हुन थालेको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सम्बद्ध एक कार्यक्रममा बिहीबार मन्त्री लेखीले नेपाल प्रहरीको चर्को आलोचना मात्र गरेनन् बरु स्थिति पनि लाजमर्दो भएको बताए । ‘आम नागरिकले प्रहरी प्रशासन भएको अनुभूति अझै पनि गर्न सकेको छैन’ उनले भने, मधेश प्रदेशमा नेपाल प्रहरीको अवस्था लाजमर्दो छ । मन्त्री लेखीले देशमा प्रहरी प्रशासन भए पनि प्रहरी प्रशासनको उपस्थिति रहेको महसुस आम नागरिकले गर्न नसकेको बताए । लेखी नेकपा एमालेका सभासदको हैसियतमा गृह मन्त्री बनेका हुन् ।

प्रदेश सरकार मातहत नरहेको प्रहरी र प्रशासनलाई बजेट नदिने धारणा उनी राख्दै आएका थिए । ‘हाम्रो देशमा प्रहरी प्रशासन त छ ,तर त्यसको उपस्थिति समुदायले अनुभव गरिरहेको छैन’ उनले भने, बुधबार नौ बजे म एउटा प्रहरी चौकीमा पुगेँ, प्रहरीहरु निदाइरहेका, सुतिरहेका थिए ।’ सशस्त्र प्रहरीको कामबाट सन्तुष्ट भएको उल्लेख गर्दै मन्त्री लेखीले नेपाल प्रहरीको अवस्था लाजमर्दो भएकाले सुरक्षा निकायका लागि बजेट किन दिने ? भन्ने प्रश्न गरे ।

मधेश प्रदेशमा बाढी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत बजेट उपलब्ध नगराइ हालसम्म राहत वितरण उनको कारणले हुन सकेको छैन । विगतमा जिल्ला दैवी प्रकोप उद्धार समितिलाई प्रदेश सरकारले बजेट उपलब्ध गराएर प्रभावित परिवारलाई राहत उपलब्ध गराउथ्यो । तर मन्त्री लेखीले कार्यविधि संशोधन गरी सोझै राहत वितरण गर्ने भन्दै प्रभावितलाई थप पीडा दिएका छन् ।

मन्त्री लेखीले राति ढल्केवरहुँदै गृह जिल्ला सप्तरीसम्म पुग्ने क्रमा प्रहरीको अवस्था देखेर आफू आश्चर्यचकित भएको बताए । त्यसपछि डिआईजीलाई फोन गरेर तुरुन्तै बैठक बोलाउन निर्देशन दिएको उनले कार्यक्रममा खुलाए । मन्त्री राति सप्तरीसम्म जाँदा राजमार्गमा रहेको प्रहरी चौकी, इलाका, बिटलगायतका स्थानमा सलामी चाहेको बताइन्छ ।

मन्त्रीको सवारी हुँदा पूर्व जानकारी नहुने कारण प्रहरी सलाम गर्न नभ्याउने गरेको बताइन्छ । ‘हामी लैंगिक हिंसाको अन्त्यको कुरा गर्दैछौँ । हाम्रा सुरक्षाकर्मीहरु पनि त्यत्तिकै जिम्मेवार छन्, यो विषयमा । तर उनीहरुको अवस्था हिजो हेर्दा उदेक लाग्यो,’ उनले थपे । अहिलेकै जस्तो अवस्था रहीरहे सुरक्षाका लागि बजेट किन दिने भनेर समेत उनले प्रश्न गरे । तर मन्त्री लेखीले सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको भूमिकाबाट आफू अत्यन्त सन्तुष्ट रहेको बताए ।

सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको भूमिका नागरिक समाजसित प्रत्यक्ष छैन । सशस्त्र प्रहरीले सीमामा तस्करी नियन्त्रण, विशेष परिस्थितिमा दंगा नियन्त्रण, नेपाली सेनाले दैवी प्रकोप उद्धार, विशेष परिस्थिति बाहेक परिचालन हुँदैन । राष्ट्रिय अनुसन्धान परिषद् गोप्य सुचना संकलनको काम मात्र गर्छ ।

लैंगिक हिंसा र समाजमा रहेका विकृति, विसंगति अन्त्यका निम्ति सुरक्षा निकाय पनि जिम्मेवार बन्नुपर्ने उनले बताए । लेखी गृह मन्त्रालय सम्हालेदेखि हालसम्म गोष्ठीमा भत्ता र कमिसन बाहेकको काम गरेका छैनन् । विभिन्न समयमा दैवी प्रकोपमा परेकाहरुलाई राहत समेत उपलब्ध गराइएको छैन ।

मधेश प्रदेश सरकार मातहत नरहेको प्रहरी, जिल्ला प्रशासनलाई प्रदेश सरकारले बजेट उपलब्ध नगराउने भन्दै आएका छन् । तर उनले प्रहरी, प्रशासनलाई प्रदेश सरकार मातहत राख्न पहल पनि गरेका छैनन् । गृहमन्त्री लेखी सम्बद्ध एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संघीय सरकार छ । तर मन्त्री लेखीले प्रहरी समायोजनका लागि पाँच महिनामा कुनै पहल गरेका छैनन् ।

मन्त्री लेखीले दोषी देखाएका प्रहरीलाई प्रदेश सरकारकाले कारवाही गर्न सक्दैन । गृहमन्त्री लेखीले तत्काल कारबाहीका लागि संघीय गृहमन्त्रीलाई गुहारेर कारबाही गराउन सक्नु पर्छ ।

Comment


Related News

Latest News

Trending News