अपडेट 
२०८१ मंसिर १४, शुक्रबार ०७:३२

उपनिर्वाचनका लागि प्रचारप्रसार बन्द भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहीबार मध्यरातिदेखि मौन अवधि शुरु भएको छ ।

मधेश प्रदेशको ४ जिल्लाको ६ पालिकामा ७ वडा अध्यक्षका लागि उपचुनाव भइरहेको छ । मंसिर १६ गते हुने मतदानका लागि राजनीतिक दलहरुले बिहीबार प्रचारप्रसारमा सम्पूर्ण ताकत लगाएका थिए ।

सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४, धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाको वडा नम्बर १, महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा नम्बर २ र रौतहट जिल्लाको राजपुर नगरपालिकाको वडा नम्बर ६, ईशनाथ नगरपालिकाको वडा नम्बर ७ र गढीमाई नगरपालिकाको वडा नम्बर ८ मा उपचुनाव हुँदैछ ।

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल बाहेक मधेश केन्द्रित दलहरु जनता समाजवादी पार्टी( जसपा)नेपाल, जनमत पार्टी, राष्ट्रिय जनता पार्टी(राजपा) सहित नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लगायतका दलहरुले उम्मेदवार उठाएका छन् ।

सत्ता साझेदार दलहरु पनि छ्ुट्टाछ्ुट्टै उम्मेदवार उठाएका छन् । विपक्षी दलहरुबीच पनि चुनावमा तालमेल भएको छैन । विगतमा वडा जितेका दलहरुलाई प्रतिष्ठा जोगाउन चुनौती छ । रौतहटको गढीमाई नगरपालिकामा जसपा नेपालले वडाअध्यक्ष सहित पुरै प्यानल जितेको थियो । तर मृतक वडा अध्यक्षकी पत्नी नेकपा एमालेबाट उम्मेदवारी दिएकी छन् ।

महोत्तरीको रामगोपालपुरमा माओवादीले मृतक वडा अध्यक्षकै पत्नीलाई उम्मेदवार बनाएको छ । गढीमाई नगरपालिकाको उपचुनाव भइरहेको वडामा नै काँग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादवको घर रहेको र रामगोपालपुर नगरपालिकाको वडा नम्बर २ मा नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवको घर रहेकाले चुनाव बढी महत्वपूर्ण बनेको छ ।

Comment


Related News