मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सशस्त्र समूहबाट पटकपटक धम्की आइरहेको बताएका छन् । ‘ मधेश प्रदेश सरकारका अन्य मन्त्रीहरुलाई पनि धम्की आउने गरेको छ ’ उनले भने, मलाई धम्की आएको प्रहरीलाई जानकारी दिएको छैन ।
केहिदिन देखि नेपाल प्रहरीविरुद्ध खनिएका मन्त्री लेखीले शुक्रबार आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन गरी सशस्त्र समूहबाट चन्दा माग्ने धम्की आउने गरेको खुलासा गरेका छन् । लेखीले जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको नामबाट धम्की आइरहेको बताएका हुन् ।
‘केही महिनादेखि चन्दाका लागि ह्वाट्सएपमा गोइतको फोन आइरहेको थियो’ उनले भने, बुधबार राति गरेको फोनमा चन्दा नदिए कसरी लिने ? भन्ने धम्की दिएको हो ।
मन्त्री लेखी र जनतान्त्रिक मुक्ति मोर्चाका अध्यक्ष गोइत सप्तरी जिल्लावासी हुन् । गोइत लामो समयदेखि सशस्त्र विद्रोहमा लागेका छन् । लेखी विभिन्न दलहरु हुँदै नेकपा एमालेबाट हाल मधेश प्रदेशका गृहमन्त्री हुन् । ‘सुरक्षा निकायबाट मन्त्रीहरूलाई समेत आफू जस्तो धम्की आउने गरेको जानकारी पाएको छु’ उनले भने, धम्की आएको विषयमा मुख्यमन्त्री र मधेश प्रहरी प्रमुखलाई जानकारी गराइसकेको छु ।
रामजानकी विवाहमहोत्सवको सुरक्षा विषयमा बिहीबार बसेको सुरक्षा समितिको बैठकमा मन्त्री लेखीले धम्की आउने गरेको विषय उठाएका थिए । बैठकमा सहभागी सुरक्षा अधिकारीहरुले विषयलाई गम्भीरतापूर्वक पनि लिएका थिए । सुरक्षा अधिकारीलाई जानकारी गराएको २४ घण्टा नबित्दै मन्त्री लेखीले आफूसमेत अन्य मन्त्रीहरुलाई धम्की आउने गरेको सार्वजनिक गरेका छन् ।
मधेश प्रदेश सरकारको गृहमन्त्री समेत कयौँ मन्त्री ‘सुरक्षाथ्रेट’मा रहेका बेला प्रहरी र गृहमन्त्रीबीचको सम्बन्ध चिसिएको छ । मन्त्री लेखीले नेपाल प्रहरीको अवस्था लाजमर्दो रहेको बिहीबार नै आरोप लगाएका थिए । उनले पत्रकार सम्मेलनमा पनि त्यो विषय दोहो¥याए ।
प्रदेशका गृहमन्त्री आफै असुरक्षित भएको सार्वजनिक रुपमा बताएपछि मधेश प्रदेश सरकारमाथि शान्ति सुरक्षाको विषयमा प्रश्न उठेको छ । मन्त्रीको सवारी हुँदा सडकमा प्रहरीले ‘सैल्युट’ नगरेको आक्रोश लेखीले पोख्न थालेको सुरक्षा अधिकारीहरुको बुझाई छ । ‘मलाई प्रहरीले टेर्दैन, मसित कारबाही गर्ने अधिकार पनि छैन’ उनले भने, प्रहरी समायोजनको विषयमा के भइरहेको छ ? त्यस विषयमा मलाई कुनै जानकारी छैन ।
उनले भने, यी सबै विषय मुख्यमन्त्री स्वयम्ले हेरिरहेका छन् । ‘बिरामी छु, उपचार खर्चको लागि पैसा पठाउ भनेर फोन गरेर धम्की दिने गरेको कुरा केही मन्त्रीबाट पनि बैठकमा आएको थियो’ एकजना सुरक्षा अधिकारीले भने, गोइत लामो समयदेखि भूमिगत रहेकाले उनले दिएको धम्कीको पहिचान गरी आवश्यक कारबाहीको प्रक्रिया बढाइनेछ ।
मधेश प्रदेशका गृहमन्त्री लेखीले जिल्लाहरुमा रहेका प्रहरी चौकी, इलाका प्रहरी कार्यालय लगायतको नियमित निरीक्षण गर्दा प्रहरीले बर्दी नलगाएको, कार्यालय परिसरमै कुर्सीमा बसेर निदाउने गरेको आरोप लगाएका छन् । उनले आफूलाई प्रहरीले नटेरेको समेत खुलाए । मन्त्रीले पत्रकार सम्मेलनमार्फत सुरक्षा सम्बन्धी विषयलाई सार्वजनिक गरेकोमा सुरक्षा अधिकारीहरु चकित भएका छन् । एकजना अधिकारीले भने, सुरक्षा समितिको बैठकमा उठेको विषय पत्रकार सम्मेलनमार्फत गृह मन्त्रीले नै सार्वजनिक गर्नु उपयुक्त भएन ।