अपडेट 
२०८१ मंसिर १५, शनिबार १४:३८

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले उद्घाटन खेलमा कमोजर ब्याटिङ गरेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको जनकपुर बोल्ट्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रनमा अलआउट भयो।

विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरे। न्युजिल्यान्डका गप्टिलले ५५ रन जोड्ने क्रममा ७ चौका र १ छक्का प्रहार गरे। १४औं ओभरको अन्तिम बलमा उनी हर्ष थाकरको बलमा जनकपुरका कप्तान अनिलकुमार साहबाट क्याच भए।

विराटनगरको अर्का ओपनर लोकेश बम ५ रन बनाएर खेलिरहदा दोस्रो ओभरमा ललित राजवंशीबाट बोल्ड भएका थिए।

नवौं ओभरमा विराटनगरले दोस्रो विकेट गुमायो। ओमानी ब्याटर अकिब इल्यासलाई १५ रनमा मोहमद मोहसिनले एलबिडब्लूको धरापमा पारे।

तेस्रो विकेटको रूपमा निकोलास किर्टोन आउट भए। उनलाई १२औं ओभरको अन्तिम बलमा हर्ष थाकरले आउट गरे। आउट भएका किर्टोन र विकेट लिने थाकर दुवै क्यानडाका हुन्।

राजेश पुलामी मगर १६औं ओभरमा १ रनमा रनआउट भए। १७ औं पहिलो बलमा प्रतिश जिसीलाई ललित राजवंशीले २ रनमा बोल्ड गर्दा विराटनगर दबाबमा आयो। दुई बलपछि बसिर अहमदलाई ललितले ७ रनमा आउट गर्दा विराटनगरले ७ विकेटको क्षतिमा १०४ रन मात्र जोडेको थियो।

कप्तान सन्दीप लामिछाने १८औं ओभरमा आठौं विकेटको रुपमा ७ रनमा  क्याच आउट भए। लगत्तै अर्को बलमा जितेन्द्र मुखिया बोल्ड भयो। दुवैलाई किशोर महतोले सिकार बनाए।

क्रिस सोल अन्तिम विकेटको रुपमा १९औं ओभरको अन्तिम बलमा बेन माइकको बलमा मोहसिनबाट क्याच भए।

बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए। उनले ४ ओभरमा २८ रन खर्चिए। किशोर महतो र हर्ष थाकरले २-२ विकेट लिए भने बेन माइक र मोहमद मोहसिनले १-१ विकेट लिन सफल भए।

Comment


Related News

Latest News

Trending News