उपनिर्वाचनमा शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएर मतपेटिका संकलन भइसकेको र रातिदेखि नै मतगणना शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
सरदर ६२ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । मधेश प्रदेशको ४ वटा जिल्लाको ७ वटा वडामा भएको मतदानमा सरदर ७० प्रतिशत मतदान भएको जनाइएको छ । निर्वाचन कार्यालयहरुबाट प्राप्त विवरण अनुसार सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकाको २ वटा वडामा ७०.०२ प्रतिशत मतदान भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका एउटा वडामा ६९.९९ प्रतिशत मतदान र महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको एउटा वडामा ७०.७१ प्रतिशत मतदान भएको छ ।
त्यसैगरि रौतहट जिल्लाको इशनाथ नगरपालिका, राजपुर नगरपालिका र गढीमाई नगरपालिकाको गरी ३ वटा वडामा ७० प्रतिशतभन्दा बढी मतदान भएको छ ।
रौतहटको तीन पालिकाको उपनिर्वाचनमा शान्तिपुर्ण मतदान सम्पन्न भएको छ । विहान ७ बजेदेखि सुरु भएको मतदान रौतहटको इशनाथ नगरपालिकाको वडा नम्वर ७ मा ६९.०८ प्रतिशत, राजपुर नगरपालिका वडा नम्वर ६ मा ६९.३६ प्रतिशत र गढीमाई नगरपालिका वडा नम्वर ८ मा ८१.३२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय रौतहटले जनाएकोछ ।
३ पालिकामा रिक्त रहेका पदका लागि आईतवार उपनिर्वाचनमा ७३.३८ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले मतगणना स्थलमा दायाँबाँया हुन नदिन सिसि टिभी क्यामरा जडान गरी परिक्षण समेत गरिएको बताउँदै रातीबाट नै गणना गरिने जनाए ।
मतगणना स्थल वरिपरी सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहने बताउँदै उक्त कार्यका लागि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी रेखदेखमा लागेका छन् । त्यस्तै धनुषाधाम नगरपालिकाको वडा नम्बर १ मा ६९.९९ प्रतिशत मतदान भएको मुख्य निर्वाचन कार्यालय धनुषाधामले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काका अनुसार ७ बजेदेखि ५ बजेसम्म चलेको मतदान प्रक्रियामा २ हजार २ सय ५८ जनाले मतदान गरेका छन् । धनुषाधाम नगरपालिका वडा नम्बर १ मा कुल ३ हजार २ सय २६ मतदाताको रहेको थियो । मतदानको लागि ३ वटा मतदान केन्द्र तोकिएको थियो । त्यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका– २ उपनिर्वाचनमा पनि मतदान शान्तिपूर्ण सम्पन्न भएको छ ।
१ हजार ५ सय १४ ले मतदान गरेको निर्वाचन कार्यालयले जनाएकोछ । रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा रिक्त रहेको वडाअध्यक्ष पदको लागि साँझ ५ बजेसम्म जम्मा १ हजार ५ सय १४ मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जनाए । सो वडामा एउटै मतदानस्थल रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुरमा दुई मतदान केन्द्र राखिएको थियो ।
वडामा कुल २ हजार १ सय ४१ मतदाता रहेकोमा ९ सय ४० महिला र १ हजार २ सय १ पुरुष मतदाता थिए । त्यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिकामा ७०.०२ प्रतिशत मतदान भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं.१ र ४ मा अध्यक्ष पदको लागि भएको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । डाक्नेश्वरी नगरपालिका १ मा १ हजार २ सय ५९ जनाले मतदान गरे ।
वडामा २ हजार ६ सय २३ जना मतदाता रहेका थिए । त्यस्तै डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ४ मा ९ सय ७८ मतदान भएको छ । सो वडामा १ हजार ३ सय १९ जना मतदाता रहेका थिए ।
मधेश प्रदेशको सबै वडामा राति नै मतगणना गरी सोमबार बिहानसम्ममा नतिजा सार्वजनिक हुने बताइएको छ । अधिकांश वडामा सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रबीच प्रतिष्पर्धा रहेको छ । तर केही वडामा जसपा नेपाल पनि प्रतिस्पर्धामा छ ।
रौतहट जिल्लाको गढीमाई नगरपालिकामा सर्वाधिक मतदान भएको छ । सो वडामा काँग्रेस मधेश प्रदेशका सभापति समेत रहेका पूर्व मन्त्री कृष्णा यादवको घर रहेको छ ।काँग्रेस, एमाले र जसपा नेपालबीच कडा प्रतिष्पर्धा हुने बताइएको छ ।
त्यसैगरि महोत्तरी जिल्लाको रामगोपालपुर नपाको वडा नम्बर २ मा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रबीच प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । माओवादीले जितेको सो वडामा नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवको घर रहेको छ । विगतमा माओवादी र एमालेबाट संयुक्त उम्मेदवार रहेको थियो ।