शहीदनगर यदुकूहाको सप्तशहीद क्याम्पसको अस्तित्व संकटापन्न भएको भन्दै खोजी कार्य शुरु गरिएको छ ।
धनुषाको शहीदनगरको वडा नम्बर – ३ स्थित सो क्याम्पस केही समयदेखि अस्तित्वविहीन भएको भन्दै स्थानीयवासीले खोजी कार्य शुरु गरेको जनाएका छन् । २०२९ साल र ०४६ सालमा शहादत प्राप्त गर्ने कामेश्वर यादव, कुशेश्वर मण्डल ( नयाँ शिक्षाको विकृति विरुद्धको आन्दोलन, आसोज १ गते ), रामनारायण यादव, उदयशंकर मण्डल, जानकी देवी, सोनावती देवी र मुनेश्वरी देवी ( लोकतान्त्रिक आन्दोलन, फागुन ९ गते) शहीद प्रति श्रद्धास्वरुप जनता इकाई उच्च माध्यमिक विद्यालयमा सञ्चालन गरिएकोमा केही वर्षदेखि अस्तित्व संकटापन्न भएको स्थानीयवासीको भनाइ छ ।
२०६७ सालमा सञ्चालन र ०७० सालमा त्रिभुवन विद्यालयबाट सम्बद्धन प्राप्त गरेको सो क्याम्पसमा शिक्षा विषयमा बी.एड.को कक्षा शुरु गरिएको थियो । केही वर्षदेखि जनता उच्च माध्यमिक विद्यालय कक्षा सञ्चालन नभइ क्याम्पस नै हराएझै भएको चर्चा परिचर्चा, चिन्तालाई ध्यानमा राखी खोजी कार्यलाई तीव्रता दिइने कुरामा स्थानीयवासी अग्रसर भएका छन् ।
क्याम्पस प्रमुख श्रीनारायण यादवको दायित्व विमुखता र खेलबाडमूलक गतिविधिका कारण क्याम्पसको अस्तित्व संकटापन्न भएको तथ्य बैठकले उजागर गरेको छ । स्थानीय शिक्षा प्रेमी, क्याम्पसका काउन्सिल सदस्य, नागरिक अगुवा, शहीदनगर नगरपालिकाका पदाधिकारी, वडाअध्यक्षको बैठकबाट अस्तित्व संकटापन्न भएको क्याम्पसको खोजी कार्यलाई तीव्रता दिने निर्णयअनुसार खोजी कार्य शुरु गरिएको जनाइएको छ ।
बैठकले खोजी कार्यमा स्थानीय सरकारको प्रमुख भूमिका निर्वाहका लागि आग्रहसँगै क्याम्पस सम्बन्धन दिने त्रिभुवन विश्वविद्यालयले खोजी कार्य र अनुगमन पक्ष सबल बनाउनु पर्नेमा जोड दिएको छ । बैठकमा सहभागीहरुका अनुसार क्याम्पस बारे छलफल गर्न क्याम्पस प्रमुखलाई पटक पटक ध्यानाकर्षण, आग्रह गर्दा छलफलबाट पन्छिन खोज्ने प्रवृत्ति व्याप्त छ ।
क्याम्पस प्रमुख यादवले क्याम्पसलाई आफ्नो घरमा सीमित राखी घरमै विद्यार्थी भर्ना जस्ता गतिविधि गरिरहेको आरोप नागरिक अगुवाहरुको आरोप छ । उममेयर सुनिता सिंह, वडा नम्बर ६ का वडाध्यक्ष उमेश निराला , जनता उच्च माध्यमिक विद्यालयका प्राचार्य प्रदीपकुमार साह , काउन्सिल सदस्य सत्यदेव साह , नागरिक अगुवाहरु महादेव हाथी , मुक्ति साह र सत्यनारायण साहको सहभागितामा भएको बैठकमा क्याम्पस प्रमुख यादव अनुपस्थित भइ क्याम्पसको अस्तित्वप्रतिको संकटलाई समाधान गर्ने सवालमा नकारात्मक मनोविज्ञान प्रदर्शन गरेको बेठकका सहभागीहरुले ठहर गरेका छन् ।
क्याम्पस प्रमुख यादवलाई बैठकले ठहरबारे ध्यानाकर्षण गर्दा यी आरोप आक्रोशपूर्ण आवाज मात्र हो , यसमा सत्यता नभएको र क्याम्पसको निजी स्रोत नभएका कारण जनता उच्च माध्यमिक विद्यालयमा क्याम्पस सञ्चालन गर्न नसकेको बताए । क्याम्पसको बोर्ड देखिन्छ तर अध्ययन अध्यापन छैन । लक्ष्मी दास क्याम्पस प्रमुख भएको बेलासम्म जनता उच्च माध्यमिक विद्यालयमै क्याम्पस सञ्चालन रहेकोमा दासपछिका क्याम्पस प्रमुखदेखि संकट मडारिदै हालको बेठेगानको अवस्थामा पुगेको क्याम्पस प्रमुख यादवको भनाइ छ ।
जनता उच्च माध्यमिक विद्यालयमा ६ देखि १२ कक्षासम्म पढाई हुँदासम्म क्याम्पस सञ्चालनमा कुनै समस्याा नभएको तर नर्सरी कक्षादेखि १२ सम्मको पढाई हुन थालेदेखि क्याम्पसको अध्ययन अध्यापनका लागि कोठाको अभाव, सम्बद्धनको कबुलियत पूरा नगरिएका कारण क्याम्पसको सञ्चालनमा जटिलता रहेको क्याम्पस प्रमुख यादवको बुझाइ छ । उनले भने– सम्बद्धनको कबुलियत अनुसार क्याम्पसको १ विघा जग्गा भएको परिसर हुनुपर्ने तर क्याम्पसले सो शर्त पूरा गरेको छैन, भौतिक पूर्वाधार छैन, आर्थिक विपन्नता छ, प्राध्यापक र कर्मचारीलाई तलव व्यवस्था हुन सेको छैन ,वी.एड विषयप्रति आकर्षण छैन, यद्यपि क्याम्पस बन्द छैन, मेयर दिनेश प्रसाद यादव र वडाध्यक्ष मनोजकुमार दासद्वारा सकारात्मक पहल भइरहेको छ, क्याम्पसमा ११ औँ ब्याचको संलग्नता छ ।
कक्षा सञ्चालन नभए पनि घरमै विद्यार्थी भर्ना, दर्ता जस्ता कार्य गर्नु बाध्यता भएको उनले बताए । सामाजिक अभियन्ता सत्यनारायण साहले क्याम्पस प्रमुख यादवलाई बेठकबारे आफूले नै जानकारी गराए पनि क्याम्पस प्रमुखद्वारा बैठकलाई महत्व नदिइ अन्यत्र जानु गैरजिम्मेवारीपन भएको बताए ।
जनता उच्च माध्यमिक विद्यालय व्यवस्थापन पक्ष अहिले पनि क्याम्पस सञ्चालनका लागि तयार रहेको अवस्थामा कक्षा कोठाको अभाव भन्दै क्याम्पसलाई घरमा सीमित गर्नु सबैको सरोकारको विषय भएको उनले स्पष्ट गरे । क्याम्पसको अस्तित्व संकटापन्न भएको बारे वृहत अभियान सञ्चालन गरी यसको अस्तित्वलाई जीवन्त तुल्याउने सवाललाई गम्भीरतापूर्वक लिइ खोजी कार्यमा सबैको संलग्नताको अपरिहार्यतालाई बैठकले जोड दिएको जनाइएको छ ।