अपडेट 
२०८१ मंसिर १७, सोमबार १२:५३

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले ब्याटिङ रोजेको छ।

खेलमा भारतका शिवर धवन र न्युजिल्यान्डका जिमी निशमको खेल हेर्न पाइनेछ। दुवै खेलाडी एनपिएलमा आबद्ध चर्चित खेलाडी मध्येमा पर्छन्।

कर्णाली याक्समा आबद्ध धवन एनपिएल खेल्न शुक्रबार साँझ भारतबाट नेेपाल आइपुगेका थिए। नेपाल आइपुगेपछि उनले नेपालका स्थानीय खेलाडीसँग खेल्न आफू उत्साहित भएको बताएका थिए।

धवन भारतका चर्चित ओपनिङ ब्याटर हुन्। अघिल्लो वर्षसम्म आइपिएल खेलेका उनले गत वर्ष नै घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका थिए। संन्यास लिएका भारतीय खेलाडीले मात्र अर्को देशको क्रिकेट खेल्न पाइने भारतीय क्रिकेट कन्ट्रोल बोर्डको निर्णयअनुसार धवनले नेपालमा खेल्न लागेका हुन्।

३८ वर्षीय धवनले भारतका लागि टेस्ट, एकदिवसीय र टी-२० तीनै फर्म्याटका खेल खेलेका छन्। उनले टेस्टमा ७ शतक प्रहार गर्दा एकदिवसीय खेलमा १७ शतक प्रहार गरेका छन्।

न्युजिल्यान्डका अलराउन्डर जिमी निशम भने जनकपुर बोल्ट्समा आबद्ध छन्। उनी एनपिएलका लागि आइतबार दिउँसो नेपाल आइपुगेका थिए।

जनकपुरका लागि पहिलो खेल भने उनले गुमाएका थिए। जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको खेल आफूले हेरेको बताएका निशमले आफू टोलीमा सामेल भएर खेल्न उत्साहित भएको बताएका छन्।

३४ वर्षीय निशमले पनि न्युजिल्यान्डका लागि तीनै फर्म्याटका खेल खेलेका छन्। भारतको आइपिएलमा उनले सन् २०१४ देखि खेलेका थिए। उनले पछिल्लो पटक सन् २०२२ मा मुम्बई इन्डियन्सबाट खेलेका थिए।

उनी गत सातासम्म अबुधावी टी-१० लिग खेलिरहेका थिए। उनी अजमान बोल्ट्समा आबद्ध थिए।

सन् २०१९ को एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा उनले सुपर ओभरमा इंग्ल्यान्डलाई ५ बलमा १३ रन प्रहार गरेका थिए। तर अन्तिम बलमा उनका सहकर्मी मार्टिन गप्टिल २ रन लिने क्रममा रनआउट हुँदा न्युजिल्यान्ड पहिलो पटक विश्वकप जित्ने मौका गुमाएको थियो। गप्टिल पनि एनपिएलका लागि नेपाल आएका छन्। गप्टिल शनिबार जनकपुरविरूद्ध मैदान उत्रिएका थिए। उनले अर्धशतक प्रहार गरे पनि विराटनगर पराजित भएको थियो।

नेपाल आएका चर्चित तथा उत्कृष्ट खेलाडी धवन र निशमबीच सोमबार दिउँस १ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतिस्पर्धा हुँदा रोमाञ्चक खेलको अपेक्षा गरिएको छ।

कर्णालीमा धवनले नेपालका तीव्र गतिका बलर सोमपाल कामीको कप्तानीमा खेल्नेछन्। टोलीमा सोमपालसँगै गुल्सन झा, देव खनालसहितका नेपाली खेलाडी छन्।

जनकपुरको कप्तान अनिलकुमार साह छन्। उनीसँगै आसिफ शेख, ललित राजवंशी टोलीमा छन्। शनिबार विराटनगरलाई हराउँदा योगदान गरेका लाहिरू मिलान्था र हर्ष थाकरले पनि जनकपुरमा प्रभाव पार्नेछन्।

Comment


Related News

Latest News

Trending News