अपडेट 
२०८१ मंसिर १७, सोमबार १३:२४

मधेश प्रदेशको सात वडामा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस कमजोर साबित भएको छ ।

०७९ को निर्वाचनमा चार वडा जितेको कांग्रेस अहिले दुई वडामा खुम्चिएको हो । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एसले एक÷एक वडाको नेतृत्व कब्जा गर्न सफल भएका छन् ।

रौतहटको गढीमाई नगरपालिका ८ गुमाएका जसपा नेपालले सप्तरीमा काँग्रेसका दुई वडाको नेतृत्व खोसेको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ कांग्रेसबाट जसपाले खोसेको हो । वडा १ मा जसपा नेपालका धिरेन्द्र कुमार साह ६५२ मत ल्याएर विजयी भए भने वडा ४ मा जसपा नेपालकै देवेन्द्र प्रसाद यादव ३७२ मत ल्याएर बाजी मारे ।

०७९ को निर्वाचनमा जसपा नेपालले जितेको रौतहटको गढीमाई नगरपालिका ८ गुमेको छ । यहाँ बजरंगी प्रसाद यादवले ६५५ मत ल्याएर नेकपा एसको झण्डा फहराए ।

२०७९ मा जसपा नेपालका रामाज्ञा राय यादव वडाध्यक्ष जितेका थिए । उनकी पत्नी जिउती एमाले प्रवेश गरेर चुनाव लडेकी थिइन् । तर पराजित भएकी छन् ।

रौतहटकै ईशनाथ नगरपालिका ७ नेकपा एमालेबाट कांग्रेसले खोस्यो । उपनिर्वाचनमा कांग्रेसका शेख अब्दुल खालिक ६२७ मत ल्याएर विजयी भए । ५७५ मत ल्याएर एमालेका शेख अनवर पराजित व्यहोरे । यहाँ नेकपा एसका सदरे आलम सम्मानजनक ४५२ मत पाएका छन् ।

कांग्रेसले रौतहटको राजपुर नगरपालिका ६ जोगाउन सफल भएको छ । यहाँ कांग्रेसका समसे आलम ७४४ मत ल्याएर विजयी भएका हुन् । माओवादीका जिकरुलाह ४६३ र एमालेका मोहम्मद नसिम अख्तर ४३१ मतमा सीमित बने ।

०७९ मा कांग्रेसले जितेको धनुषाको धनुषाधाम नगरपालिका १ मा नेकपा माओवादी केन्द्रले झण्डा फहराउन सफल भएको छ । यस वडामा माओवादीका सुनिल कापर ६८४ मत ल्याएर विजयी भए । काँग्रेसका अशोक मण्डल ६०२ मत पाए ।

महोत्तरीको रामगोपालपुर नगरपालिका २ माओवादीबाट एमालेले खोसेको छ । यहाँ एमालेका सकिवुल खाँ ६३१ मत ल्याएर बाजी मारे । माओवादीकी आरती कुमारी ५३४ मत पाइन् ।

पराजित व्यहोरेकी आरती पूर्व वडाध्यक्ष स्व. मुकेश यादवको श्रीमती हुन् । मोटरसाइकल दुर्घटनामा उनको निधन भएपछि भएको उपनिर्वाचनमा माओवादीले उनकै श्रीमतीलाई उम्मेदवार बनाए पनि नेतृत्वमा आउन सकेन ।

Comment


Related News

Latest News

Trending News