
मधेश प्रदेशमा सम्पन्न भएको ४ वटा जिल्लाको ४ वटा पालिकाको ७ वटा वडामा सम्पन्न भएको चुनावमा जनता समाजवादी पार्टी(नेपाल)ले विजय पतिशतमा अग्रता बनाएको छ ।
सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ मा जसपा नेपालका उम्मेदवारहरु विजयी भएका छन् । विगत चुनावमा नेपाली काँग्रेसले जितेको दुवै वडा जसपा नेपालले खोसेको छ । वडा नम्बर १ मा धीरेन्द्र साहले ६ सय ५२ मत ल्याएर विजयी भएका छन् । त्यसैगरि वडा नम्बर ४ मा देवेन्द्र प्रसाद यादवले ३ सय ७२ मत ल्याइ विजयी भएका छन् ।
जसपा नेपालले गत चुनावमा जितेको रौतहट जिल्लाको गढीमाई नगरपालिकाको वडा नम्बर ८ मा लज्जास्पद पराजय भोग्नु परेको छ । त्यहाँ जसपा अत्यन्त न्यून मतको साथ चौथो स्थानमा रह्यो । त्यहाँ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुले कडा परिश्रम गरेका थिए । तर तत्कालै पार्टी प्रवेश गराएर उम्मेदवार बनाउँदा कार्यकर्ताहरु समेत असन्तुष्ट थिए ।
मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीको स्थिति निकै कमजोर रह्यो । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रले बाजी मारेको छ । माओवादीका उम्मेदवार सुनिल कापर केवटले ६ सय ८४ मत ल्याएका हुन् । त्यहाँ पनि गत चुनावमा नेपाली कांग्रेसले जितेको थियो । जनमत पार्टीको अवस्था धनुषाधाममा पनि निकै कमजोर रह्यो । पार्टी अध्यक्ष सीके राउतले उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा पार्टी प्रवेश कार्यक्रम गरेका थिए ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले पनि ताकत लगाएका थिए । तर स्थिति निकै खराब रह्यो । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा नम्बर २ मा नेकपा एमालेले बाजी मारेको छ । मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवको घर समेत रहेको सो वडामा गत चुनावमा माओवादीले जितेको थियो । यस पटक एमालेका मो. सकिबुल खाँले ६ सय ३१ मत ल्याएर विजयी भएका छन् ।
माओवादीले रामगोपालपुर नपाको वडा नम्बर २ जोगाउन नसके पनि धनुषाधाम नगरपालिकामा जित हासिल गरी क्षतिपूर्ति गरेको छ । जनमत पार्टीले उम्मेदवार नै पाएको थिएनन् ।
रौतहट जिल्लाको ३ पालिकाको ३ वटा वडामा भएको चुनावमा काँग्रेसले २ वटा वडामा जित हासिल गरेको छ । तर नेपाली काँग्रेस मधेश प्रदेशका सभापति एवं पूर्वमन्त्री कृष्णाकुमार प्रसाद यादवको घर रहेको गढीमाई नगरपालिकाको वडा नम्बर ८ मा नेकपा एसले बाजी मारेको छ । गत चुनावमा जसपा नेपालले जितेको सो वडामा नेकपा एसले जित हात पारेको छ ।
जनमत पार्टीको स्थिति त्यहाँ पनि निकै कमजोर रह्यो । गढीमाई नपाको ८ मा नेकपा एसका बजरंगी प्रसाद यादवले ६ सय ५५ मत ल्याइ विजयी भएका छन् । नेकपा एमालेकी उम्मेदवार जिउती यादवले ६ सय ३१ मत प्राप्त गरिन् । मृतक वडा अध्यक्षकी पत्नी रहेकी यादवले एमालेबाट उम्मेदवारी दिएकी थिइन् ।
नेकाँका उम्मेदवार तेस्रो स्थानमा झरेको थियो । तर कांग्रेसले ईशनाथ नगरपालिकाको वडा नम्बर ७ मा जित प्राप्त गरेको छ । काँग्रेसका शेख सम्मेद आलम ७ सय ४४ मत प्राप्त गरे । नेकपा माओवादीका जिकरुल्लाहले ४ सय ६३ मतमा चित बुझाए । गत चुनावमा सो वडामा एमालेको वडाअध्यक्ष थिए ।इशनाथमा हारेको एमालेले महोत्तरीको रामगोपालपुरमा भर्पाइ गरेको छ ।
राजपुर नगरपालिकामा पनि नेकाँकै शेख अब्दुल खलिकले ६ सय २७ मत प्राप्त गरी विजयी भएका छन् । नेकपा एमालेका शेख अनवरले ५ सय ७५ मत प्राप्त गरे । गत चुनावमापनि त्यस वडामा नेकाँकै अध्यक्ष थिए । नेपाली काँग्रेसले धनुषा र सप्तरीमा ३ वटा सिट गुमाएको छ । नेकपा एसले १ बोनस पाएको छ ।
एमाले र माओवादीले पुराना जितेको वडामा हारे पनि अन्य जिल्लाको नयाँ वडामा सिट जितेर भर्पाइ गरेको छ । पालिकाको उपचुनावमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)नेपालले उम्मदेवारी नै दिएको थिएन । उम्मेदवारी दिएको जनमत पार्टीले लाज जोगाउन सकेन । मधेश प्रदेशमा सत्ता हाँकिरहेको जनमत पार्टीले अनुमान गरेको भन्दा उपचुनावमा खराब स्थिति देखियो ।
डाक्नेश्वरीको वडा नम्बर ४ जनमत पार्टी तेस्रो स्थानमा देखिए पनि अन्य वडाहरुमा लज्जास्पद अवस्था रहेको देखियो । उपचुनावको परिणामले जनमत पार्टीको स्थिति कमजोर भएको देखाएको छ । सप्तरी र रौतहट जिल्लामा जनमतले राम्रो गर्ने अपेक्षा गरिएको थियो । मधेश प्रदेशमा जनमत पार्टीका अध्यक्षसमेत रहेका निर्वाचित सांसद सीके राउतसहित ६ जना संघीय सांसद छन् ।
मधेशमा मात्रै १३ जना प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्री, २ जना मन्त्री र १ जना उपसभामुख जनमत पार्टीबाट नै रहेका छन् ।