प्रत्येक वर्ष झैँ यसवर्ष पनि मङ्सिर महिनाको शुक्लपक्ष तिथिमा मनाइँदै आएको सीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत विवाहमण्डपमा फूलबारी लीला सम्पन्न भएको छ ।
त्रेतायूगमा मिथिलाका राजा जनकको प्रतिज्ञा अनुसार मिथिलाको राजधानी जनकपुरधाममा आयोजना गरिएको धनुष यज्ञमा सहभागी हुन अयोध्या नरेश दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीराम, लक्ष्मणसहित गुरु विश्वामित्र जनकपुरधाम आएको बेला माता सीतासँग फूल टिपिरहेको बेलामा फूलबारीमा जम्काभेट भएको स्मरणमा प्रत्येक वर्ष फूलबारी लीलाको आयोजना गरिएको छ ।
विवाह मण्डपमा सोमबार साँझ फूलबारी लीलाको आयोजना गरिएको थियो । साताव्यापी कार्यक्रम अन्तर्गत नगर दर्शनबाट शुरु भएको छ । सो क्रममा सोमबार फूलबारी लीला र मंगलबार धनुष यज्ञ हुने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जनाएका छन् ।
सीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत बुधबार तिलकोत्सव, बिहीबार मटकोर, शुक्रबार स्वयम्बर र शुभविवाह तथा शनिबार रामकलेवासंगै महोत्सवको समापन हुनेछ ।
यसैबीच भारतको अयोध्याबाट बाजागाजा तथा झाँकी सहित हिँडेकाहरु जन्ती सोमबार महोत्तरीको मटिहानीमा आइपुग्दा भव्य स्वागत तथा सत्कार गरिएको छ ।