जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेमाथि गम्भीर आरोप लगाउँदै राजनीमा माग गरेको छ ।
जनमत पार्टीका प्रवक्ता यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले सांसद गोमा लाभ सापकोटालाई पदमुक्त नगरेर ‘आपराधिक कार्य गरेको’ र संसद् संचालनका क्रममा नै नश्लवादी एवं रंगभेदी व्यवहार देखाएको आरोप लगाएका छन् । आफ्ना सांसद सापकोटालाई पदमुक्त गर्न सभामुखलाई जनमत पार्टी पत्र नै लेखेको थियो ।
सभामुख घिमिरेले सांसदलाई कारबाही गर्नका लागि जनमतले नक्कली कागजात तयार पारेको भन्दै पदमुक्त नहुने निर्णय गरेका थिए । सभामुख घिमिरेको सोही निर्णयविरुद्ध जनमतले विज्ञप्तिमार्फत गम्भीर आरोप लगाएको छ । सो विज्ञप्तिमा भनिएको छ, ‘दलले गरेको कारबाहीलाई बदर गर्दा संसद् सचिवालयले दलको सर्वोच्चतालाई मात्रै हनन गरेको छैन कि सभामुखले कुनै पार्टी विशेषको एउटा कार्यकर्ता बनी आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर गैरकानुनी, गैरसंवैधानिक, बहुदलीय संसदीय व्यवस्था तथा लोकतन्त्रमाथि नै आँच आउने गरी आपराधिक कार्य गरेको छ,’ जनमतको विज्ञप्तिमा उल्लेख छ, ’यदि सभामुखलाई आफ्नो अधिकार क्षेत्रबाहिर गएर स्वेच्छाचारिता गर्न दिइयो भने यो एउटा नजिर कायम हुन्छ र यो लोकतन्त्रकै लागि ठूलो खतरा साबित हुनेछ ।’
सांसद सापकोटा सभामुख घिमिरेको नातेदार रहेको भन्दै उनी एमालेमा प्रवेश गर्ने प्रतिवद्धता जनाएपछि कारबाही नगरिएको पनि जनमतको जिकिर छ । जारी गरिएको छ, ‘कोही प्रतिनिधिसभा सदस्य सभामुखको नातेदार र समुदायको मान्छे प¥यो भन्दैमा र सभामुखको (पूर्व) पार्टी नेकपा (एमाले)मा जाने बचनवद्धता ग¥यो भन्दैमा जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पु¥याई कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैरसंवैधानिक कदमद्वारा रक्षा गर्ने सभामुखले अविलम्ब राजीनामा दिनु पर्दछ,’ जनमतले माग गरेको छ ।
सभामुखले विगतमा पनि संसद् मा भाषा र भेषभूषाको प्रयोग सम्बन्धमा, जनमत पार्टीसहित मधेश केन्द्रित दलका सांसदहरूलाई दिने विशेष समय र आकस्मिक समय सम्बन्धमा, रंगभेदविरुद्ध सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने सम्बन्धमा र सो प्रस्ताव टेबल गर्ने सम्बन्धमा चरम नश्लवादी र रंगभेदी व्यवहार देखाउँदै आएको आरोप लगाएको छ ।
यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउतले सभामुख घिमिरेलाई भेटघाट गरी सांसद सापकोटालाई पदमुक्त गर्न दबाब दिएका थिए । उनले सो भेटमा पनि सभामुख घिमिरेले पक्षपात गरेको आरोप लगाए ।