२०८१ मंसिर १९, बुधबार ०७:२९

मठमन्दिर, पाटीपौवा, स्कुल–अस्पताल आदिलाई युगांँसम्म चलाउने हो भने जग्गा सबैभन्दा भरपर्दो सम्पत्ति नै हो । जग्गाले संस्कृति संवद्र्धन मात्र गर्दैनन्, समाजलाई जोड्ने काम पनि गर्छन् । अस्पताल र स्कुललाई वा सार्वजनिक जग्गाको उद्देश्य पनि तिनलाई निरन्तर चलाउन सकियोस् भन्ने नै हो । तर केही वर्षयता सार्वजनिक सम्पत्ति कब्जा गरेर रातारात धनी सपना देखेका मिर्चैया नगरपालिकाका केही भू–माफियाको सपनामाथि तुषारापात गरिदिएपछि मिर्चैयाका मेयर श्रवण कुमार यादवविरुद्ध भु–माफिया सक्रिय भएर लागेका छन् । सार्वजनिक सम्पति संरक्षण गर्ने जिम्मा पाएको स्थानीय सरकारले मिर्चैयामा भू–माफियाको जालो तोडेर सिरहाको मिर्चैया नगरपालिकाले सार्वजनिक सम्पति कब्जा गरेर वर्षौदेखि रजगज गरिरहेको निजी घरटहरा भत्काउँदा राजनीतिकरण गर्दै अदालतसम्म धाउनु परेको छ ।

मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवको पहलमा बजार जाने मुख्य बाटो घर टहराहरु भत्काएपछि भू–माफियाहरु संगठित रुपमा उनी विरुद्ध लागेको हो । मिर्चैंया नगरपालिकाले वर्षौदेखि नगरपालिका जाने मुख्य बाटोमा अतिक्रमण गरी व्यक्तिगत प्रयोजनका लागि बनाइएको घर टहराहरु भत्काएपछि मेयर यादवविरुद्ध लागेका हुन् । सार्वजनिक क्षेत्रलाई मिचेर घर टहरा बनाएका कारण बजार क्षेत्र नै कुरुप देखिएको तथा बाटो साघुँरो भएकाले बाटो फराकिलो बनाउन घर टहरा भत्काइएकोमा त्यसको विरोध गर्नुको कुनै तुक नभएको मेयर श्रवण यादवले जानकारी दिए । उनले भने, ‘मिर्चैया नगरपालिका ५ मा रहेको कि.न.२५६ को क्षेत्रफल ३–१२–१७ र २ (ख) कि.न. ६० को ज.बि.०–२–५–० पटक–पटक लिखित र मौखिक रुपमा बाटोमा बनाइएको घर टहरा खाली गराउन सूचना जारी भएको थियो । नक्सामा ६० फिट रहेको बाटो २० फिटमा सिमित भएपछि अतिक्रमित जग्गा खाली गराउनु नगरपालिकाको दायित्व अन्तर्गत खाली गराईएको हो ।’

बाटो खाली गराउन सर्वदलीय निर्णय

मिर्चैया नगरपालिकाको मुख्य थाना चोक देखि नगरपालिकाहुँदै बतहा खोलासम्म जाने वाटो ६० फिट कायम गर्ने विषयमा क्रमश २०७३ असार १०, २०७४/असार ७ र मिति २०७४ असार ९ गते नगरपालिका, राजनितिक दलको प्रतिनिधि, प्रहरी प्रशासन, व्यापारीलगायत सरोकारवालाको उपस्थितिमा सडक नाला कायम गरी निर्माण गर्ने निर्णय भएको छ ।

मिर्चैया नगर कार्यपालिकाको पटक– पटकको निर्णयवाट मिर्चैया नगरपालिका ५ साविक रामनगर २ (क) कि.न.२५६ ज.वि.३–१२–१७ र २(ख) को कि.नं.६० को क्षेत्रफल ०–२–५ को सार्वजनिक जग्गामा अतिक्रमण गरि निर्माण गरिएको संरचना हटाउने निर्णय र सोही आधारमा घर टहरा हटाउन विभिन्न माध्यमवाट सूचना प्रकाशन र प्रसारण भएको छ ।

२०७९ फाल्गुन २ गते नगर प्रमुख श्रवण कुमार यादव र घर टहरा बनाएको व्यक्तिहरु बीच भएको वैठकवाट मिर्चैया नगरपालिका ५ को गुदरी वजार भन्दा दक्षिणमा रहेको सार्वजनिक जग्गामा निर्माण गरिएको सम्पूर्ण संरचना फाल्गुन २५ गतेभित्र खाली गर्ने गराउने निर्णय भएको । साथै खाली गरिसकेकोहरुको हकमा ७ दिनभित्र व्यवस्थापन गर्ने र सुकुमवासीहरुलाई नियमानुसार व्यवस्थापन गर्ने निर्णय भएको छ ।

घर टहरा व्यवस्थापन गरिदिन भनि घर टहरा वनाएको व्यक्तिहरुको निवेदन नगरपालिकाको सूचना वमोजिम घर टहरा व्यस्थापन गर्न नगरपालिकावाटै व्यवस्थापन गराईदिनु हुन भनि केही व्यक्तिहरुको निवेदन दिएको पाईएको छ । साथै केही व्यक्तिहरुले उक्त जग्गामा वनाईएको घरटहराको बहाल कर बुझाउन तयारी रहेको भनि निवेदन दिएको भेटिएको छ ।

अदालत र मालपोत सरकारी जग्गा कायम गरेको

उच्च अदालत जनकपुर, राजबिराज इजलासले कि.नं. २५६ ज.बि.३–१२–१७ जग्गा श्री ५ को सरकारको नाममा रहेको र सिरहा जिल्ला मिर्चेया नगरपालिका– ५ मा वैजनाथ साह लगायत ७ जनाले जग्गा आफ्नो रहेको भनि माग गरिएकोमा सम्बन्धमा आदेश जारी नभएको अर्थात उक्त जग्गा नेपाल सरकारको नाममा रहेको भनि आदेश जारी भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाको पत्रबाट रामनगर २(क) कि.नं. २५६ क्षेत्रफल ३–१२–१७ जग्गा श्री ५ को सरकारको नाममा रहेको भनि लेखि आएको छ ।

अदालतलाई प्रभावमा पार्न रकम संकलन

सरकारी सम्पतिमा बनाइएको अवैध घर टहरा मिर्चैया नगरपालिकाले भत्काएपछि उच्च अदालत जनकपुर–राजविराज ईजलासमा मुद्दा हालेको भू–माफिहरुको समूहले अदालतमा प्रभाव जमाउन मोटो रकम संकलन गरेको पाइएको छ । वर्षौ देखि भू–माफियाहरु सार्वजनिक सम्पतिमा रजगज गर्दै आएकोमा नगरपालिकाविरुद्ध मुद्दा हालेर अदालतलाई प्रभाव पार्न माटो रकम उठाएको पाइएको छ । भू–माफियाहरु अदालतलाई प्रभावमा पार्न तथा अन्य कामको लागि रकम लिएको एक लिष्ट नै फेला परेको छ । जसमा करिब ४० जनासंग मोटो रकम उठाएको पाइएको हो । स्रोतका अनुसार अदालतलाई प्रभावमा पार्न उनीहरुले मोटो रकम संकलन गरेको जनाएको छ ।

Comment


Related News