चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बाट नेपालले लाभ लिने बताउनुभएको छ ।
पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी जिनपिङको दुरदर्शी नेतृत्वमा शुरू भएको बीआरआई परियोजनाबाट दुई देशको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आउने सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भई पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताउनुभयो । प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताउनुभयो ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यलाई विश्वविद्यालयका अध्यक्ष प्रा. गोङ छिहुङले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले आजै उद्यमी– व्यवसायीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।