अपडेट 
२०८१ मंसिर २०, बिहीबार ०६:०४

सीताराम विवाह पञ्चमी महोत्सवको चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ ।

तिलकोत्सवमा जानकी मन्दिरको तर्फबाट राम मन्दिरमा भार पठाइएको थियो । तिलकोत्सवको भार लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव राम मन्दिर पुग्दा भव्य स्वागत गरिएको थियो । श्रद्धालुहरुको उल्लेख्य सहभागितामा जानकी मन्दिरबाट भारसहित बेहुली पक्ष भगवान रामलाई तिलक चढाउन राम मन्दिर पुगेको थियो ।

राम मन्दिरको बाहिरी परिसरमा आयोजित तिलकोत्सव समारोहमा राम मन्दिरका महन्त राम गिरि राजा दशरथको भूमिकामा थिए । अयोध्याबाट आएको जन्ती पनि राम पक्षबाट सहभागिता जनाए । जानकी मन्दिरबाट राम मन्दिरमा तिलक पठाउने पुरानो परम्परा रहेको छ । हरेक वर्ष विवाह महोत्सवको तिलकोत्सव कार्यक्रम राम मन्दिरमा नै आयोजना गरिन्छ । तर यस पटक विश्व हिन्दू परिषद् अयोध्याको विशेष पहलमा विश्व हिन्दू परिषद् धनुषाले तिलक लिएर अयोध्या पुगेको थियो ।

आमन्त्रण नरहे पनि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह आधा दर्जन मन्त्री र सांसदसहित तिलकोत्सवमा पुगेका थिए । त्यो तिलकोत्सव विवादित बनेको छ । जानकी मन्दिरको प्रत्यक्ष सहभागिता नरहेकाले तिलकोत्सवले सन्त समाजमा महत्व पाएन । उत्तर प्रदेश सरकारले पनि त्यसलाई महत्व दिएन ।

अयोध्याबाट आएको जन्ती मंगलबार जनकपुरधाम पुगेको हो । रंगभूमि मैदानमा भएको धनुष यज्ञमा जन्ती पनि सहभागी भएको थियो । त्रेता युगमा भगवान रामले धनुष भंग गरेको संस्मरणमा रंगभूमि मैदानमा सो समारोहको आयोजना गरिएको थियो । भगवान रामको पिताको भूमिका राम मन्दिरका महन्त राम गिरि र माता सीताको पिताको भूमिका जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले निर्वाह गरे । तिलकोत्सव समारोहमा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहलगायत विभिन्न क्षेत्रका श्रद्धालुहरुको सहभागिता रहेको थियो ।

बिहीबार मटकोर कार्यक्रमको आयोजना गरिने छ । मटकोरका लागि दिउँसो जानकी मन्दिरबाट बेहुली सीता सहित उनका सखीको भूमिका निर्वाह गरिरहेका जनकपुरधामका नारीहरु बाजागाजा सहित गंगासागर जाने छिन् । मटकोर समारोहमा महिलाहरुको अत्यधिक भीड हुने गरेकाले गंगासागरमा संक्षिप्त कार्यक्रम गरी बृहत्त कार्यक्रम जानकी मन्दिर परिसरमा हुने महन्त रामतपेश्वर दास वैष्णवले जनाएका छन् ।

गंगासागरमा स्थानको अभाव रहेको र भीड अत्यधिक हुने भएकाले दर्शन पूजामा कठिनाइ हुन थालेको महन्त वैष्णवले बताए । विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ र चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ । विवाह महोत्सवमा सहभागिताका लागि नेपाल–भारतको विभिन्न स्थानबाट हजारौँको संख्यामा श्रद्धालुहरु आइपुगेका छन् । श्रद्धालुहरुको आवास, शौचालय, पिउने पानीको व्यवस्था गरिएको छ ।

अस्थायी छाना राखेर बनाइएको पण्डालहरुमा श्रद्धालुहरु सुत्न चाहिरहेका छैनन् । विवाह महोत्सव समारोह आयोजनको बैठकहरुमा प्रदेश सरकारले ठूला भाषण गरे पनि ग्राउण्ड जिरोमा भूमिका शून्य छ । हिसाब मिलान गर्न मिहिनेत गर्न नपर्ने कमजोर काममा अत्यधिक बजेट खर्च प्रदेश सरकारले देखाउने छ । तर समारोहमा प्रदेश सरकार भूमिकाविहीन देखिएको छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले तिरुपति तिरुमला ट्रष्टले बनाएको यात्री निवास खाली गराउने गफ दिए पनि त्यहाँ साधुसन्तका लागि आवासको व्यवस्था गरिएको छैन । विशिष्ट पाहुनाहरुका लागि चार दिनसम्म शुद्ध शाकाहारी भोजन र निःशुल्क आवास उपलब्ध गराइने बृहत्तरले महोत्सव आयोजन मूल समारोह समितिको बैठकमा प्रतिवद्धता जनाएको थियो ।

सीताराम विवाह महोत्सवमा सहभागी हुन आउने श्रद्धालुहरुको निःशुल्क भोजनको व्यवस्था विभिन्न संघसंस्थाहरुले गरेका छन् । तेली सेवा समितिद्वारा बाह«बिघाको मञ्चदेखि उत्तर तर्फ निःशुल्क भोजन गराउने व्यवस्था मिलाइएको छ । त्यस्तै रेल्वे स्टेशनमा युवा क्लव, स्थानीय समाजसेवीहरुले भोजन र आवासको व्यवस्था गरेका छन् । विभिन्न चोकहरुमा विभिन्न संघसंस्थाहरुले आवास र भोजनको प्रबन्ध गरेका छन् । विवाह महोत्सवमा सहभागिताका लागि आउने श्रद्धालुहरुका लागि पिउने पानी, शौचालय, बिजुली वत्तिको व्यवस्था सम्बन्धित कार्यालयहरुले गरेका छन् ।

Comment


Related News

Latest News

Trending News