सप्तरीको डाक्नेश्वरी नगरपालिका– १ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह पदभार ग्रहण गर्ने क्रममै प्रहरीले पक्राउ गरेको छ । उनीमाथि बलात्कारसहित तीनवटा कसुरमा अनुसन्धान गर्नका लागि पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
मंसिर १६ गतेको उपनिर्वाचनबाट वडाध्यक्षमा नवनिर्वाचित साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले मधुवनी टोलबाट पक्राउ गरेर उनीमाथि अनुसन्धान सुरु भएको सप्तरी प्रहरीका प्रहरी निरीक्षक मनीष श्रेष्ठले जानकारी दिए । नवनिर्वाचित वडाध्यक्ष साहसहितका व्यक्तिले डाक्नेश्वरी नगरपालिका– १ स्थित माधोपुरमा २०७८ चैत २२ गते एक महिलालाई सामूहिक बलात्कारपछि हत्या गरेको आरोप छ ।
सुरुमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि पीडितले हुलाकमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए । साहसहितका ओरोपीविरुद्ध जबर जस्तीकरणी र कर्तव्य ज्यान शीर्षकमा २०७९ साउन १७ गते हुलाकबाट उजुरी प्राप्त भएपछि अनुसन्धान गरिरहेको सप्तरी प्रहरीको दाबी छ । यस्तै २०८० जेठ १० गते जिल्ला सरकारी वकील कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा व्यक्ति बेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीरबन्धक र कर्तव्य ज्यान मुद्दामा पनि जाहेरी दरखास्त पठाइएको थियो ।
उच्च अदालत जनकपुर–राजविराज इजलासबाट २०८० चैत ४ गते अनुसन्धानका लागि परमादेश जारी भएको थियो । उच्च सरकारी वकिल कार्यालय राजविराज मार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा २०८१ साउन ६ गते परमादेश प्राप्त भएको प्रहरीले जानकारी दिएको छ । २०८१ साउन १४ गते इलाका प्रहरी कार्यालयमा यो उजुरी पनि दर्ता गरेर साउन १५ गते पक्राउ अनुमति समेत लिइसकेको थियो । ३८ वर्षीय साह वडाध्यक्षमा निर्वाचित भएपछि कार्यभार सम्हाल्न नपाउँदै हिरासत पुगेका छन् ।