जनकपुरधाममा रामजानकी विवाह महोत्सवको रमनचमन चलिरहेको बेला आज मेरो मनमुटुभित्र गीतकार रविन्द्रको एउटा गीत गुञ्जिइ रहेको छ । स्वर मिठो भएको भए आफै गाएर सामाजिक सञ्जालमै भए पनि साझा गर्थे । नेपालीको एउटा उखान छ–‘मनको वह कसैलाई न कह ।’ तर म अलि उल्टो सोच्छु मैले आफ्नो मनको वह गायक तथा संगीतकार मित्र सुनिल मल्लिकलाई सुनाए । उनले आफ्नो सुमधुर स्वरमा मोवाइलमै गीत सुनाउनु भयो । म सुनिलजीले सुनाएको गीतकार रविन्द्रको यो गीत यहाँ साझा गरेर मन हलुँगो पार्न चाहन्छु–
‘चारि पाँति सुनु रामकेर नामसँ । पत्र लिखलनि
जे सीता धरा धामसँ ।।
भेल जिनगीक गेंठ फुलवारीके भेंट । नाम
तहिए जोडाएल अहाँक नामसँ ।।
प्रथमहि धरैत तीन माताकेर ध्यान । कहि
राजाकेर जय हो हे प्रितम प्रणाम ।
अहाँ कोनाक हमरा बिसरिए गेलौं । बाट
तकिते छी एखनहुँ अपन गामसँ ।।
यदि हमरे सिनेहवस लंका गेलौं । त पतालोमे
आऊ किए पाथर भेलौ ।।
संग चुरी आ सेनुर एतहु अछि हमर । अहाँ
बारल ने जायब कोनो सम्मानसँ ।।
असलमा पति रामकै सामु पाताल समाएकी सीता, रामलाई धराधाम अर्थात् पाताल लोकबाट लेखेको पत्रमा आफ्नो कथा व्यथा अभिव्यक्त गरेकी छन् । जो हृदयविदारक छ । हाम्रा प्रिय पाठकहरुलाई लाग्न सक्ला, विवाह महोत्सवमा सिंगै जनकपुरधामवासी रमाइरहेको बेला मलाई यस्तो दुखान्त गीत किन सुन्न मन लाग्यो ? सुधि पाठकहरुको जिज्ञासा ठिक हुन सक्छ, तर आधुनिकताको नाममा रामजानकी विवाह महोत्सवको क्रममा जुन आयातीत विधि–व्यवहार प्रदर्शन हुन लागेको छ, आउने दिनमा जो कोहीलाई पनि यस्तै दुखान्त गीत गाउनु पर्ने बाध्यता हुने पक्का छ । जनकपुरधामको पवित्र माटोबाट उत्पन्न भएकी भूमिजाको विवाह महोत्सव जनकपुरधामवासी बडो मनोयोगका साथ मनाउँछन् । महोत्सवमा धार्मिक र सांस्कृतिक आयोजनसंगै मिथिलाको वैवाहिक विधि– विधानको प्रदर्शन पनि हुन्छ । महोत्सवमा चेली—बेटीलाई विवाह गर्ने बेलाको उत्साह, जन्तीलाई स्वागत गर्ने बेलाको उमंग तथा छोरीलाई ससुरा विदा गर्ने बेलाको भावुकता एकसाथ हेर्न र अनुभव गर्न सकिन्छ । फेरि विवाह पश्चात् ससुरा(अयोध्या) गएकी सीता आजन्म दुःख भागिन् । सीतालाई छोरी– बहिनीको रुपमा स्नेह गर्ने जनकपुरधामवासी यसकारणले अझ भावुक बन्नु स्वाभाविक हो । सीताको एउटा नाम मैथिली पनि हो । रमाकान्त झाद्वारा लिखित एउटा खण्डकाव्य छ– व्यथा । जसमा महाकवि रमाकान्त जी लेख्नु हुन्छ–
मन होइछ हमरो मैथिलीमे मैथिलीकेर कथा
लिखि ।
श्रीरामकेर वन गमन कालक जानकीक व्यथा
लिखि ।।
यहाँ प्रयोग भएका पहिलो मैथिलीको अर्थ हो मैथिली भाषा र दोश्रोको अर्थ हो– सीता । मिथिला, जनक, सीता र मैथिली जनकपुरधामको पहिचान हो, तर यिनै सीताको विवाहमा जानकी मन्दिरका आधिकारिक व्यक्ति मैथिलीमा बोल्नु हुन्न । विवाहमा अन्य भाषाको गीत प्रयोग हुन्छ भन्ने यसलाई के भन्ने ? विभिन्न शोधहरुले के देखाएको छ भने रामायणकालको आधिकारिक वा भनौँ भने सरकारी भाषा संस्कृत थियो, तर वनवासी र ग्रामीणहरु आ–आफ्नै भाषा बोल्थे । मिथिलाका आम नागरिकले बोल्ने भाषा मैथिली थियो । जनक दरवारमा पनि यसको प्रयोग हुन्थ्यो । वाल्मीकि रामायणको सुन्दर काण्डमा वर्णित एक प्रसंगले यसको पुष्टि गर्दछ । रावणले सीतालाई अपहरण गरी अशोक वाटिकामा राखेका थिए । सीताको खाजी गर्न गएका हनुमान र सीताबीच अशोक वाटिकामा सीताकै मातृभाषामा संभाषण भएको थियो । सीतालाई घेरा हाली बसेका रावणका सैनिक तथा गुप्तचरहरुले नबुझ्ने भाषामा हनुमान सीतासंग वार्तालाप गरेका थिए । वाल्मीकि रामायणमा यस भाषालाई ‘मानुसं’ को संज्ञा दिइएको छ–
यदि वाचं प्रदास्यामि, द्विजातिरिव
संस्कृताम्
रावणं मन्यमाना मां सीता भीता भविष्यति ।
अवश्यमेव वक्त्वयं मानुसं वाक्यमर्थवत्
मया सान्त्वयितं शक्या नान्यथेयम निन्दिता ।।’
अर्थात् संस्कृतमा संभाषण गर्दा रावणका गुप्तचरहरु सजिलै बुझ्ने छन् । अनि माता सीता अझै संकटमा पर्ने छिन् । अतः देवी सीताको मातृभाषा मानुसं (मैथिली) मा सम्भाषण गर्दा बेस होला । तर यिनै सीताले बोल्ने भाषा सीताको विवाहमा ओझेलमा परेको छ । आधुनिकताको नाममा मिथिलाको विधि–व्यवहार तथा वैवाहिक गीतहरु विस्थापित हुदैछन् । राम र सीताबीच पहिलो मिलन फूलवारीमा भएको थियो । रामलाई पहिलो पटक देखेपछि सीताको मनमा उठेका भावहरुलाई गोस्वामी तुलसी दास बडो सुन्दर शब्द दिएका छन्– लोचन मग रामहि उर आनि । दीन्हे पलक कपाट सयानी ।।
जब सिय सखिन्ह प्रेमवस जानी । कहि न
सकहि कछु मन सकुचानी ।।
अर्थात् सीताजी आँखाको मार्गबाट रामलाई
हृदयमा ल्याएर बसाईन र दुवै आँखा बन्द गरेर
रामलाई मनभित्रै कैद गरिन । मनमनै रामलाई
वरण गरिन् ।
महाकवि तुलसी दास मैथिलानीको मर्यादालाई उच्च स्थान दिनु भएको छ । तर विवाह महोत्सवको क्रममा आयोजन हुने फूलवारी लीलामा राम सीतालाई तथा सीता रामलाई फूलको गुच्छा अर्पण गर्छन् । जो न त मिथिलाको पारम्परिक वैवाहिक पद्धतिसंग मेल खान्छ न तुलसी दासकृत रामचरित्र मानससंग । त्रेता युगमा बाजा–गाजा, लावा– लस्करसहित जन्ती आएर, वैदिक तथा मिथिलाको मौलिक सांस्कृतिक विधि–व्यवहार अनुसार राम र सीताबीच विवाह भएको थियो । भनिन्छ, विष्णुका दश अवतारमध्ये रामावतारमा मात्र विधि–विधानसहित विवाह भएको थियो ।
मिथिलाञ्चलको वैवाहिक उपक्रममा प्रत्येक बेहुलालाई राम र बेहुलीलाई सीताको रुपमा वर्णन गरिन्छ । यो भूमि हिन्दुहरुका लागि उत्तम वैवाहिक गन्तव्य बन्न सक्छ । यद्यपि नेताजीहरुको आश्वासन वर्षौदेखि सुन्दै आएका हौँ, तर अहिलेसम्म यस क्षेत्रमा कुनै प्रयास भने भएको छैन । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान पनि चल्दै छ । हामीले के पनि हेक्का राख्नु पर्दछ भने विश्व सम्पदा सूचिमा जानकी मन्दिर जस्ता भौतिक संरचनामात्र सूचीकृत हुने होइन रामजानकी विवाह महोत्सवको क्रममा प्रदर्शन हुने मिथिलाको वैवाहिक पद्धति पनि सूचीकृत हुनसक्छ । हामीले सौन्दर्यकरणको नाममा जानकी मन्दिरमा नयाँ–नयाँ संरचना थप्दै ग¥यौँ र आधुनिकताको नाममा पारम्परिक वैवाहिक पद्धतिलाई विकृत पार्दै गयौँ भने जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने सपना कहिल्यै पूरा हुन सक्दैन ।